बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।
यांगुन — म्यान्मारको सैन्य नेतृत्वले सबै कैदीहरूको कुल सजायमध्ये १६ प्रतिशत (६ भागको एक भाग) ले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुचीको नजरबन्द अवधि पनि छोटिन सक्ने संकेत देखिएको छ । बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।
म्यान्मारका राष्ट्रपति मिन आङ ह्लाइङको कार्यालयले सार्वजनिक बिदाको अवसरमा कैदीहरूको बाँकी सजाय १६ प्रतिशतले घटाइने जनाएको हो । यद्यपि, उक्त निर्णयमा कुनै पनि कैदीको नाम सार्वजनिक गरिएको छैन । तर, नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) निकट स्रोतका अनुसार ८० वर्षीया सुचीले पनि यस कटौतीबाट लाभ पाउने बताइएको छ ।
सन् २०२१ को सैन्य ‘कू’ पछि नजरबन्दमा राखिएकी सुचीको वास्तविक बाँकी सजाय कति छ भन्ने अझै स्पष्ट छैन । एनएलडीका एक वरिष्ठ सदस्यले सुरक्षाका कारण नाम नखुलाउने सर्तमा सुचीको सजाय घटे पनि कति समय घट्यो भन्ने यकिन नभएको बताए ।
सैन्य नेतृत्वले पाँच वर्षअघि सुचीको निर्वाचित सरकार हटाउँदै सत्ता कब्जा गरेको थियो । त्यसपछि उनीमाथि विभिन्न आरोप लगाउँदै बन्द अदालतमार्फत मुद्दा चलाइएको थियो । भ्रष्टाचारदेखि कोभिड–१९ नियम उल्लंघनसम्मका अभियोगमा उनलाई ३ दशकभन्दा बढी कैद सजाय सुनाइएको थियो ।
पछि सन् २०२३ मा केही मुद्दामा आममाफी दिइएपछि उनको सजाय २७ वर्षमा झरेको थियो । पछिल्ला निर्णयहरूले भने उक्त सजाय क्रमशः घट्दै गएको संकेत दिएका छन् । यसअघि पनि मिन आङ ह्लाइङले यस्तै प्रकारको सामूहिक सजाय कटौतीको आदेश जारी गरेका थिए । जसले सुचीको सजाय थप घटाएको थियो ।
उक्त निर्णयसँगै सुचीका नजिकका सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि माफी दिइएको थियो । यसले सुचीको नजरबन्द अवस्था पनि क्रमशः खुकुलो हुन सक्ने अनुमानलाई बल दिएको छ ।
तर म्यान्मारको न्याय प्रणाली अपारदर्शी रहेकाले सुचीले हालसम्म कति सजाय भुक्तान गरिसकेकी छन् र अब कति समय घट्नेछ भन्ने अन्योलमै छ । राजनीतिक विश्लेषकहरूले यस अवस्थालाई सैन्य नेतृत्वको रणनीतिक कदमका रूपमा हेरिरहेका छन् । डेमोक्रेसीसम्बन्धी निगरानी संस्थाहरूले भने यस्ता कदमलाई वास्तविक सुधारभन्दा पनि सरकारको छवि सुधार्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् । उनीहरूका अनुसार सैन्य शासनले अन्तर्राष्ट्रिय दबाब कम गर्न यस्ता प्रतीकात्मक निर्णयहरू गरिरहेको छ ।
