इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी २१ वर्षीय युवकलाई फाँसी दिइयो

गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको थियो । उनलाई इस्फहानकै दस्तगर्द जेलमा फाँसी दिइएको हो ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

21-year-old man hanged in Iran for participating in anti-government protests

इस्फहान — इरान सरकारले इस्फहानका एक २१ वर्षीय युवकलाई फाँसी दिइएको छ । बीबीसी पर्शियनका अनुसार २१ वर्षीय युवक सासन आजादवर जोंगानीलाई फाँसी दिइएको हो । 

गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको थियो । उनलाई इस्फहानकै दस्तगर्द जेलमा फाँसी दिइएको हो । 

मानवअधिकार वेबसाइट एचआरएएनएलाई उनका परिवारले अन्तिम संस्कार बिहीबार दिउँसो एक सुरक्षित क्षेत्रमा गरिएको जानकारी दिएका छ्न् । अन्तिम संस्कारका क्रममा उनका १० जना मात्र आफन्तहरुलाई सहभागी हुन अनुमति दिइएको थियो । 

इरानको इस्लामिक गणराज्यको न्यायपालिकाले जनवरीमा सत्ता परिवर्तनको उद्देश्यसहित भएको प्रदर्शनमा सासन आजादवर जोंगानीले सुरक्षा अधिकारी लिएर गइरहेको एक मिनिबसमा ढुंगामुडा गरेको र लाठीले आक्रमण गर्नुका साथै सवारी साधनको सीसा फुटाएको बताएको छ । 

इरानी न्यायपालिकाका अनुसार र्‍यालीमा सहभागी हुनुअघि उनले आफ्ना आसपासका मानिसहरुलाई सत्ता परिवर्तनको उद्देश्यले सडकमा उत्रिने र प्रदर्शनका लागि आफ्ना साथीहरुलाई पनि आमन्त्रित गरेको स्वीकारी बयान दिएका थिए । 

यता मानवअधिकार कार्यकर्ताहरुले भने आजादवरको हिरासतको स्थिति, वकिलसम्म उनको पहुँच र कुन परिस्थितिमा स्वीकारी बयान लिइएको थियो भन्ने जानकारी नदिइएको बताएका छन् । 

कान्तिपुर

Link copied successfully