पश्चिम बंगालमा दोस्रो चरणमा ९२ प्रतिशत मतदान

कुल २ सय ९४ विधानसभा सिटमध्ये दोस्रो चरणमा बुधबार दक्षिणतर्फका १ सय ४२ निर्वाचन क्षेत्रमा मतदान भयो ।

वैशाख १६, २०८३

एजेन्सी

92% voter turnout in second phase in West Bengal

कोलकाता — भारतको पश्चिम बंगाल राज्यमा बुधबार दोस्रो चरणको निर्वाचनमा ९२ प्रतिशत हाराहारीमा मत खसेको छ । यसअघि पहिलो चरणमा २३ अप्रिलमा उत्तरतर्फका १ सय ५२ क्षेत्रमा सम्पन्न निर्वाचनमा ९३.२ प्रतिशत हाराहारीमा मत खसेको थियो । पश्चिम बंगालको कुनै पनि निर्वाचनमा यति ठूलो मत खसेको यो पहिलो पटक हो ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार धेरैजसो एक्जिट पोलले यस पटक भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याउने वा पहिलो दल बन्ने देखाएका छन् । पी मार्कले गरेको सर्वेक्षणले १५०–१७५ सिटमा भाजपा विजयी हुने तथा ११८–१३८ सिटमा तृणमूल कंग्रेस (टीएमसी) विजयी हुने पूर्वानुमान गरेको छ । पोल्स डायरीले १४२–१७१ सिटमा भाजपा र ९९–१२७ सिटमा टीएमसी विजयी हुन सक्ने आकलन गरेको छ । जेभीसीले १३८–१५९ सिटमा भाजपा र १३१–१५२ सिटमा टीएमसी विजयी हुन सक्ने देखाएको छ ।

बंगालको २ सय ९४ विधानसभा सिटमध्ये दोस्रो चरणमा दक्षिणतर्फका १ सय ४२ निर्वाचन क्षेत्रमा मतदान भयो । राजधानी कोलकातासहित हाउरा, होग्ली, नाडियालगायत ठूला सहरी इलाकामा बुधबार मतदान भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले बंगालमा ६–७ दशकपछि बंगालमा पहिलो पटक भयरहित निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । उत्तर प्रदेशमा गंगा एक्सप्रेस वे उद्घाटन गर्न पुगेका मोदीले बुधबार बंगालको सत्तारूढ टीएमसीमाथि निसाना साँध्दै भने, ‘पहिलो चरणमा जसरी नै यस पटक पनि ठूलो संख्यामा मतदाता आए । लामो लाइन बसेका मानिसहरूको तस्बिरले सामाजिक सञ्जाल भरिएको छ । अघिल्ला ६–७ दशक नियाल्दा बंगालमा भयरहित वातावरणमा मत खस्ने कल्पना गर्न पनि गाह्रो थियो ।’

टीएमसी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मतदान केन्द्रमा खटिएका केन्द्रीय सुरक्षाकर्मीहरूले निष्पक्ष व्यवहार नदेखाएको आरोप लगाइन् । ‘केन्द्रीय फौजको तानाशाही अनपेक्षित छ । यहाँ निष्पक्ष र स्वतन्त्र काम भइरहेको छैन,’ भवानीपुर निर्वाचन क्षेत्रमा मित्र इन्स्टिच्युसन स्कुलमा मतदान गरेपछि उनले भनिन् । उनले २ सय ९४ मध्ये कम्तीमा २ सय सिट टीएमसीले जित्ने बताइन् । यसअघि सन् २०२१ मा टीएमसीले २ सय १५ सिट जितेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी दल भाजपाले ७७ सिट जितेको थियो । त्यहीकारण यस पटक पनि यी दुई दलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

सन् २०२१ को निर्वाचनमा शून्य सिटमै समेटिएका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवाद) र कंग्रेस आईले पनि केही ठाउँमा जित हासिल गर्दै विधानसभामा आफ्नो उपस्थिति फर्काउने लक्ष्यअनुसार चुनावी अभियान सञ्चालन गरेका थिए ।

पश्चिम बंगालमा यस पटक कुल ६ करोड ८२ लाख मतदाता सूचीकृत थिए । निर्वाचन आयोगले ल्याएको स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) ले झन्डै ९१ लाख मानिसहरूको नाम मतदाता सूचीबाट हट्यो । भाजपा नेतृत्वको केन्द्र सरकारले निर्वाचन आयोगलाई प्रभावित गरेर यस नीतिमार्फत विभिन्न राज्यहरूमा मुस्लिम तथा अल्पसंख्यक मतदातालाई मताधिकारबाट वञ्चित गर्ने प्रयास गरेको मुख्यमन्त्री बेनर्जीले आरोप लगाएकी छन् । उनले यस नीतिको विरोधस्वरूप विधानसभामा ऐतिहासिक मत खसेको बताएकी छन् ।

यसै महिना भारतमा असम, केरला र केन्द्र शासित पुडुचेरी प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ । यी सबै राज्य तथा प्रदेशको मतगणना ४ मेबाट सुरु हुनेछ । यसले केन्द्रमा सत्ता चलाइरहेको भाजपाको नीतिलाई हेर्ने जनमत तथा विपक्षी दल र क्षेत्रीय शक्तिहरूको लोकप्रियता पनि परीक्षण गर्नेछ ।

१७ अप्रिलमा भाजपा नेतृत्वको केन्द्र सरकारले संविधान संशोधनका लागि लोकसभामा पेस गरेर असफल भइसकेको डिलिमिटेसन विधेयकको मुद्दा पनि तामिलनाडु र पश्चिम बंगालको निर्वाचनमा बहसमा थियो । विपक्षीहरूले यसलाई हिन्दी भाषा, हिन्दु पहिचान र धार्मिक राजनीतिका आधारमा भारतमा विभाजन ल्याउन खोजेको षड्यन्त्रको आरोप लगाएका छन् । जबकि, भाजपाले महिलाको सम्मानका लागि एक तिहाइ आरक्षण व्यवस्था गर्न यो विधेयक ल्याइएको दाबी गरेको छ ।

यी विषयलाई हेर्ने जनताको दृष्टिकोण पनि विधानसभा परिणामले उजागर गर्नेछ । निर्वाचनमा महिला सुदृढीकरण, किसानलाई सहयोग, औद्योगिक केन्द्रहरूको निर्माण, पश्चिम बंगाललाई अन्तर्राष्ट्रिय व्यापार हबका रूपमा विकास गर्ने लक्ष्यलगायत एजेन्डा सबै पार्टीहरूले अघि सारेका छन् ।

एजेन्सी

Link copied successfully