सोल उच्च अदालतले मंगलबार पूर्वराष्ट्रपति यउलकी पत्नी किमको सजाय चार वर्ष पुर्याउने आदेश गरेको हो ।
What you should know
सोल — दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक यउलको संकट थप बढेको छ । सोल उच्च अदालतले उनकी पत्नी तथा पूर्वप्रथम महिला किम गन हीलाई भ्रष्टाचारका थप मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ । राष्ट्रपति पदको दुरुपयोग गर्दै ‘मार्सल ल’ लगाएको अभियोगमा यउल आजीवन कारावास सजाय भोगिरहेका छन् ।
सोल उच्च अदालतले मंगलबार यउलकी पत्नी किमको सजाय चार वर्ष पुर्याउने आदेश गरेको हो । यसअघि जनवरीमा जिल्ला अदालतले युनिफिकेसन चर्चसँग राजनीतिक समर्थनका लागि सम्बन्ध राख्दै महँगा उपहार लिएको अभियोगमा उनलाई २० महिनाको जेल सजाय सुनाएको थियो । प्रथम महिला बन्नुअघि स्टक मूल्य हेरफेरमा संलग्न रहेको आरोपबाट भने उनले सफाइ पाएकी थिइन् ।
तर उच्च अदालतले थप प्रमाणका आधारमा सजाय बढाएको हो । राष्ट्रपतिका निकटतम व्यक्तिका रूपमा किमले आफ्नो प्रभाव र पदको दुरुपयोग गर्दै व्यक्तिगत फाइदा उठाएको र त्यसले राष्ट्रपतिप्रतिको सार्वजनिक विश्वासमा गम्भीर असर पुगेको अदालतको निष्कर्ष छ ।
डिसेम्बर २०२४ मा तत्कालीन राष्ट्रपति युनले एक्कासि ‘मार्सल ल’ घोषणा गरेपछि सुरु भएको राजनीतिक संकट अन्ततः उनको महाभियोग र पदच्युतसम्म पुगेको थियो । त्यसयता युनमाथि विभिन्न आपराधिक मुद्दाहरू लागेका छन् । फेब्रुअरीमा सोल जिल्ला अदालतले संसद् कब्जा, राजनीतिक विरोधीलाई पक्राउ र निरंकुश सत्ता स्थापना गर्न नियतसहित ‘मार्सल ल’ लागू गरेको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावास सजाय सुनाएको थियो ।
तर, किम भने ‘मार्सल ल’ प्रकरणमा प्रत्यक्ष संलग्न नभएको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् । तर उनको नाम यसअघि नै विभिन्न घोटालासँग जोडिँदै आएको थियो । जसले युनको लोकप्रियतामा ठूलो गिरावट ल्याएको थियो । त्यसले विपक्षीहरूलाई थप आक्रामक बन्न मौका दिएको थियो ।
किम र उनका वकिललाई सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ ।
सोल उच्च अदालतले आफ्नो फैसलामा सार्वजनिक पदसँग जोडिएको जिम्मेवारी र नैतिकताको स्तर उच्च भए पनि त्यसअनुरूपको आचरण देखाउन नसकेको ठहर गरेको छ । अदालतले किमले आफ्नो हैसियतको फाइदा उठाउँदै उपहार ग्रहण गरेको र त्यसले शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाएको निष्कर्ष समेत निकालेको छ ।
