न्युयोर्क टाइम्सका अनुसार अनुसन्धानकर्ताहरुले अभियुक्तले लेखेको १ हजार शब्द लामो नोट फेला पारेका छन् ।
काठमाडौँ — वासिङटन हिल्टन होटलमा ह्वाइटहाउस संवाददाता संघले आयोजना गरेको डिनरमा गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशाना साँध्ने योजना बनाएको हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकाका कार्यवहाक महान्यायाधिवक्ता टोड ब्लान्चेले राष्ट्रपति डोनाल्ड ट्रम्प र मन्त्रिपरिषद्का सदस्यहरु निशानामा रहेको संकेत अनुसन्धानकर्ताहरुलाई मिलेको बताए ।
यी व्यक्ति क्यालिफोर्नियाबाट ट्रेन चढेर सिकागो हुँदै वासिङटन डिसी आएको देखिएको बताए । शनिबार डिनर चलिरहँदा गोली प्रहार भएको थियो ।
जसक्रममा एक सुरक्षाकर्मीलाई गोली लाग्यो । तर बुलेट भेस्ट लगाएकाले उनी बाँच्न सफल भए ।
घटनास्थलबाटै यस आक्रमणको अभियोगमा ३१ वर्षीय कोल टोमस एलन पक्राउ परेका छन् । न्युर्योक टाइम्सका अनुसार अनुसन्धानकर्ताहरुले एलनले लेखेको १ हजार शब्द लामो नोट पनि फेला पारेका छन् ।
यो नोट एलनले आफ्ना साथीभाई तथा आफन्तलाई पठाएका थिए । यस नोटमा ट्रम्पको नाम उल्लेख नभएपनि माथिल्लो ओहदाका मानिसहरु पहिले निशानामा पर्ने उल्लेख छ ।
‘राष्ट्रघातिले गरेको अपराधबाट मेरो हात रंग्याउने अनुमति दिन म सक्दिंन,’ उनले नोटमा लेखेका थिए ।
