ओमान र इस्लामावादपछि मस्को भ्रमणमा इरानका विदेशमन्त्री अब्बास अराग्ची
कायरो — अमेरिकाले आफ्नो देशका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी खोल्न र स्थायी वा दिगो युद्धविराम गर्न सहमति दिएमा हर्मुजको जलघाँटीमा गरिएको अवरोध खोल्न सकिने प्रस्ताव इरानले गरेको छ । अमेरिकाका दुई अधिकारीहरुले यस्तो प्रस्ताव आएको दाबी सोमबार गरेका हुन् ।
ती अधिकारीहरुका अनुसार नाकाबन्दी र हर्मुजको अवरोध दुबै खुलेपछि दोस्रो चरणमा आणविक कार्यक्रमबारे छलफल गर्न सकिने प्रस्ताव इरानको छ ।
तर, स्थायी युद्धविरामका लागि इरानको आणविक कार्यक्रम पूर्णतः समाप्त हुनुपर्ने माग राखिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो प्रस्तावमा सकारात्मक हुने संभावना कम छ ।
यसअघि शनिबार इस्लामावादमा पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिर्फ र सेनापति असिम मुनिरसँग इरानी विदेशमन्त्री अब्बास अराग्चीले भेट गरेका थिए । उनले त्यसबेला अमेरिकाले हर्मुज जलघाँटी तथा आसपासका बन्दरगाहहरुमा गरेको नाकाबन्दी खोलेपछि मात्रै सीधा वार्ता गर्न सकिने माग राखेका थिए ।
अमेरिकाले पश्चिम एसिया हेर्ने दूत स्टिफ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जरेद कुस्नरलाई शनिबारै वार्ताका लागि इस्लामावाद पठाउने तयारी गरेको थियो । तर, इरानले सीधा संवाद गर्न रुची देखाएन ।
बरु, इरानी विदेशमन्त्री अराग्ची पाकिस्तानी अधिकारीहरुसँगको भेटलगत्तै इरान फर्किए । त्यसपछि अमेरिकाले विटकफ र कुस्नरको भ्रमण रोक्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता टोलीलाई इस्लामावाद नजान आदेश दिएका थिए । उनले १८ घण्टाको उडान गरेर इस्लामावाद जानु व्यर्थ रहेको बताएका थिए ।
‘हामीसँग सबै कार्डस् छ । उनीहरुलाई छलफल गर्न मन भए हामीलाई सम्पर्क गर्नसक्छन्,’ ट्रम्पले भनेका थिए ।
विदेशमन्त्री अराग्ची सोमबार फेरि इस्लामावाद पुगे । त्यहाँबाट उनी सोमबारै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि मस्को पुगे । उनले यसबीच ओमानमा पनि भ्रमण गरे । त्यस्तै, आइतबार कतार र साउदी अरेबियाका विदेशमन्त्रीसँग फोनमा कुराकानी गरे ।
रुसमा युद्धका विषयमा कुराकानी गर्न पाउनु एउटा राम्रो अवसर रहेको उनले बताए ।
‘हाम्रा रुसी साथीहरुसँग युद्धसँग सम्बन्धित रहेर परामर्श गर्न पाउनु राम्रो अवसर हो ,’ अराग्चीले इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएसँगको भिडियो कुराकानीमा भने ।
११ र १२ अप्रिलमा अमेरिका–इरानबीच इस्लामावादमा झन्डै २१ घण्टा वार्ता चलेको थियो । तर, सहमतिमा पुग्न सकेन । त्यसको केही समयमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जलसेनालाई हर्मुजमा नाकाबन्दी गर्न आदेश दिए । नाकाबन्दीपछि इरानका बन्दरगाहहरुमा तेल लिन जाने ट्यांकरहरुलाई आक्रमण गरिने अमेरिकी जलसेनाले बताएको छ । जसकारण, इरानको तेल व्यापार ठप्पजस्तै छ ।
यसबीच, पाकिस्तानले वार्ता जारी राख्ने निरन्तर प्रयास गरिरहेको छ । तर, इरानले सीधा वार्ताभन्दा पनि पाकिस्तानमार्फत अप्रत्यक्ष वार्ता गर्न रुची देखाएको छ । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमै वार्ता गर्न सकिने बताउँदै आएका छन् ।
इरानी विदेशमन्त्री अराग्चीले अमेरिकाका कारण सहमतिमा पुग्न ढिला भइरहेको आरोप लगाएका छन् । ‘अघिल्लो वार्तामा धेरै प्रगति भएको थियो । तर अमेरिकाको अत्याधिक मागका कारण लक्ष्य हासिल हुन सकेन,’ उनले भने ।
ट्रम्पले इरानको सत्तामा रहेका फरक–फरक मानिसहरुले फरक कुरा गर्ने भएकाले सहमतिमा पुग्न नसकिएको आरोप लगाएका छन् । उनले भनेका थिए, ‘अहिलेको क्षण इरानमा कसले सत्ता चलाइरहेको छ भन्ने स्पष्ट छैन । त्यहीकारण सहमतिमा पुग्न कठिन भइरहेको छ ।’
ओमानमा हर्मजुबारे छलफल
विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास निस्कने जलमार्ग हर्मुजमा भएको दोहोरो नाकाबन्दीले समग्र विश्वलाई असर गरेको छ ।
युद्ध सुरु हुनअघि ७२ डलर प्रतिब्यारेल हाराहारीमा बिक्री भइरहेको ब्रेन्ट क्रुड सोमबार १ सय ७ डलर प्रतिब्यारेल आसपास कारोबार भयो । अवरोधका कारण पर्सियन खाडीमा तेल बोकेका जहाजहरु अलपत्र परेका छन् ।
युद्ध सुरु भएको दुई महिना नबित्दै वैश्विक अर्थतन्त्रमा गहिरो असर देखिएको छ । एलएनजी ग्यास, मल र अन्य विभिन्न सामाग्रीको आपुर्ति पश्चिम एसियाबाट हुन पाएको छैन ।
इरानले हर्मुज हुँदै बाहिरिने जहाजसँग जलमार्ग प्रयोग गरेबापत कर उठाउने नीति बनाएको छ ।
त्यसका लागि विशेष संयन्त्र बनाउन इरानले प्रयास गरिरहेको छ । यस संयन्त्र निर्माणमा उसले ओमानको समर्थन खोजेको एक क्षेत्रीय अधिकारीले नाम नछाप्ने शर्तमा एपीसँग बताएका छन् ।
किनकी, हर्मुज जलघाँटीको एकातर्फ इरान र अर्कोतर्फ ओमान पर्छ । ओमानले यस भेटका विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन ।
वार्ताको मध्यस्थता गरिरहेका एक अधिकारीले पाकिस्तानमा नयाँ वार्ता सुरु हुनअघि अमेरिकी नाकाबन्दी अन्त्य हुनुपर्ने विषय ओमान भ्रमणका क्रममा इरानी विदेशमन्त्री अराग्चीले प्राथमिकताका साथ उठाएको बताएका छन् ।
यसअघि ७ अप्रिलमा दुई देशबीच दुई साता लामो युद्धविराम भएको थियो । उक्त युद्धविराम समाप्तिपछि गत साता ट्रम्पले फेरि अनिश्चित समयका लागि युद्धविराम लम्ब्याइएको बताएका थिए ।
अहिलेसम्मका सबै वार्तामा इरानले आणविक हतियारको महत्वाकांक्षा त्याग्नुपर्ने माग अमेरिकाले राख्दै आएको छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गरिरहेको छ ।
त्यस्तै, युरेनियम सम्वद्र्धनलाई कम गर्न पनि तयार रहेको बताएको छ । तर, अमेरिकाले तेहरानको सम्पूर्ण युरेनियम भण्डार रित्याउनुपर्ने माग राखेको छ । उक्त भण्डार आणविक बम बनाउनका लागि प्रयोग हुनसक्ने अमेरिकाको आशंका छ ।
युद्ध सुरु भएयता इरानमा कम्तिमा ३ हजार ३ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै लेबनानमा कम्तिमा २ हजार ५ सय ९ जनाको मृत्यु भइसकेको छ । लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबीच १ मार्चदेखि चलेको लडाँइ पनि अहिले रोकिएको छ ।
युद्धविराम तीन साताका लागि लम्ब्याइएको छ । युद्धले इजरायलमा कम्तिमा २३ जना मारिएका छन् । खाडी राष्ट्रमा १२ जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
१३ जना अमेरिकी सैनिक र ६ जना संयुक्त राष्ट्रसंघ शान्ति मिशनमा खटिएका सैनिकहरुले ज्यान गुमाइसकेका छन् ।
