जापानमा महँगीको असर ‘भेन्डिङ मेसिन’ बजारमा

जापानमा भेन्डिङ मेसिनहरू हुलाक, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले महँगीका कारण उपभोक्ताको क्रय क्षमतामै प्रभाव परेकाले यो व्यवसाय दबाबमा परेको छ ।

वैशाख १४, २०८३

एजेन्सी

Impact of inflation in Japan on the vending machine market

What you should know

काठमाडौँ — टोकियो (एजेन्सी)– जापानमा ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ । जसले लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमै असर पारेको छ ।

जापानमा भेन्डिङ मेसिनहरू हुलाक, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले महँगीका कारण उपभोक्ताको क्रय क्षमतामै प्रभाव परेकाले यो व्यवसाय दबाबमा परेको छ ।

भेन्डिङ मेसिनमा सामान्यतया पेय पदार्थ, स्न्याक्स, चुरोट, खाना वा अन्य साना सामानहरू राखिएका हुन्छन् । 

पछिल्ला वर्षहरूमा जापानमा महँगी निकै बढेको छ, जसले पेय पदार्थ उद्योगमा समेत प्रत्यक्ष असर पारेको छ । इन्धन, ढुवानी, विद्युत् र मर्मत खर्च बढ्दा भेन्डिङ मेसिन सञ्चालन महँगो भएको छ । साथै, मेसिनहरूमा सामान भर्ने, मर्मत गर्ने र व्यवस्थापन गर्ने जनशक्तिको खर्च पनि बढेको छ । यी सबै कारणले कम्पनीहरूको नाफा पनि घट्दै गएको छ ।

नाफा घट्दै गएपछि ठूला कम्पनीहरूले भेन्डिङ मेसिनको प्रयोगलाई घटाउँदै लगेका छन् । केही कम्पनीहरूले हजारौं मेसिन हटाउने निर्णय गरिसकेका छन्, केहीले आफ्नो भेन्डिङ व्यवसाय नै बिक्री गर्ने तयारी गरेका छन् । 

पहिले सजिलो र तुरुन्त उपलब्ध हुने भएकाले जापानमा भेन्डिङ मेसिन निकै लोकप्रिय बनेको थियो । तर अहिले महँगीका कारण उपभोक्ताहरूले सुपरमार्केट, कन्भिनियन्स स्टोरलगायतमा पाइने सस्तो पेय पदार्थ रोज्न थालेका छन् । यस्ता स्टोरहरूमा भन्दा भेन्डिङ मेसिनबाट पेय पदार्थ किन्न तुलनात्मक रूपमा महँगो पर्छ ।

त्यसकारण पनि उपभोक्ताहरू अन्य विकल्पतर्फ सोझिन थालेका हुन् । अर्को कारण वातावरणीय चेतनामा भएको वृद्धि पनि हो । उपभोक्ताहरूले पुनः प्रयोग गर्न मिल्ने बोतल बोकेर हिँड्न थालेका छन्, 

त्यसले पनि भेन्डिङ मेसिनको प्रयोग घटाएको छ । विशेषज्ञहरू भेन्डिङ मेसिनको प्रयोग पूर्णरूपमा नहट्ने बताउँछन् । तर भविष्यमा कम्पनीहरूले नाफा जोगाउन रणनीतिक र उच्च माग भएका क्षेत्रमा मात्र मेसिन राख्ने अपेक्षा गरिएको छ ।

एजेन्सी

Link copied successfully