ट्रम्प सहभागी डिनरमा गोली चलाउने अभियुक्त शिक्षक रहेको खुलासा

एलनले पछिल्ला ६ वर्ष सी टु एजुकेशन नामक कम्पनीमा काम गरिरहेको उनको अनलाइन बायोडाटामा उल्लेख छ ।

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

Teacher accused of shooting at Trump dinner revealed

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको डिनरमा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्ति  शिक्षक रहेको खुलेको छ । प्रहरीले ती व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । 

अभियोग लागेका व्यक्ति कोल टोमस एलन शिक्षक र भिडियो गेम डेभलपर समेत रहेको खुलेको छ । सामाजिक सञ्जाल लिंकडइनमा उनले अपलोड गरेको तस्विरमा टोपी र गाउन लगाएको देखिन्छ ।

उनले क्यार्लिफोनिया स्टेट युनिभर्सिटी–डोमिनग्वेज हिल्सबाट कम्प्युटर साइन्समा मास्टर्स डिग्री गरेपछि यो फोटो खिचाएका थिए । ३१ वर्षीय एलेनले यसअघि २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए । 

क्यार्लिफोनिया स्टेट युनिभर्सिटीका कम्प्युटर साइन्स प्रोफेसर बिन ताङले एलन निकै राम्रो विद्यार्थी रहेको बताए । ‘उनी निकै राम्रो विद्यार्थी थिए ।

मेरो कक्षामा सधैं अगाडिको बेन्चमा बस्थें । निकै ध्यानपूर्वक सुन्थें । कोर्ससँग सम्बन्धित विभिन्न प्रश्नहरु मलाई लगातार पठाइरहन्थें,’ एपीसँगको इमेल कुराकानीमा उनले भने, ‘निकै विनम्र, मृदभाषी थिए । म यो समाचारले निकै स्तब्ध छु ।’

लस एन्जलसस्थित एबीसीको स्थानीय स्टेशनले एलोन कलेजमा छँदा उनीसँग रेकर्ड गरिएको अन्तर्वार्ता साझा गरेको छ । त्यसक्रममा उनले मानिसहरुको उमेर बढ्दै जाँदा नयाँ प्रविधिले कसरी उनीहरुलाई सहयोग गर्नेछ भनेर बोलेका थिए ।

उनले व्ह्लिचेयरका लागि नयाँ शैलीको इमर्जेन्सी ब्रेकको प्रोटोटाइप पनि तयार गरेका थिए ।  सन् २०२४ मा उनले डेमोक्रेटिक पार्टीको राजनीतिक एक्सन कमिटीमा कमला ह्यारिसको राष्ट्रपतीय चुनावी अभियानका लागि २५ डलर चन्दा दिएको संघीय चुनावी आर्थिक दस्तावेजमा रेकर्ड छ ।

एलनले पछिल्ला ६ वर्ष सी टु एजुकेशन नामक कम्पनीमा काम गरिरहेको उनको अनलाइन बायोडाटामा उल्लेख छ ।

यस कम्पनीले कलेजका विद्यार्थीहरुलाई भर्ना सम्बन्धी परामर्श र परीक्षााको तयारी गराउँछ । सन् २०२४ मा यस कम्पनीले फेसबुकमा एक पोस्ट गर्दै एलनलाई कम्पनीको ‘टिचर अफ द मन्थ’ घोषणा गरेको थियो । 

एपीले शनिबार रातिको घटनाबारे धारणा माग्दा कम्पनीले तत्काल कुनै प्रतिक्रिया दिएन । 

एलनले मोलेकुलर केमेस्ट्रीमा आधारित रहेर स्टिम प्लेटफर्ममा भिडियो गेम डेभलप गरिरहेको आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । त्यस्तै उनले नयाँ ‘टप–डाउन सुटर’ कम्ब्याट गेट डेभलप गर्नका लागि काम भइरहेको जानकारी पनि फेसबुकमा साझा गरेका छन् ।  

कान्तिपुर

Link copied successfully