१८ घण्टा लामो उडान गरेर इस्लामावाद जानु व्यर्थ रहेको ट्रम्पले बताए ।
एपी — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा वार्ताका लागि अमेरिकाका प्रतिनिधिहरु नजाने बताएका छन् । उनले फक्स न्युजसँगको टेलिफोन कुराकानीमा यस्तो बताएका हुन् ।
१८ घण्टा लामो उडान गरेर इस्लामावाद जानु व्यर्थ रहेको उनले बताए । आवश्यकता पर्दा इरानीहरुले वार्ताका लागि अमेरिकालाई जुनसुकै बेला पनि बोलाउनसक्ने उनले बताए । ‘मैले आफ्ना मानिस इस्लामावाद जान ठिक्क पर्दा थोरै समयअघिमात्रै नजानु भनेँ । हामीसँग सबै कार्ड भएका बेला १८ घण्टा लामो फ्लाइटमा जानु व्यर्थ छ,’ ट्रम्पले भने ।
शनिबार पश्चिम एसियाका लागि अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाँइ जरेद कुस्नर छलफलका लागि इस्लामावाद जाने कार्यक्रम थियो । इरानसँगको अमेरिकाको युद्ध अन्त्यका लागि इस्लामावादले मध्यस्थता गरिरहेको छ ।
शनिबार इरानका विदेशमन्त्री अब्बास अराग्चीले इस्लामावादमा पाकिस्तानी प्रधानमन्त्री सहवाज सर्रिफ र पाकिस्तानी सेनाका सेनापति आशिम मुनिरसँग भेटेका थिए ।
प्रधानमन्त्री सरिर्फले पश्चिम एसियाका विषयमा गहन छलफल भएको जानकारी दिएका छन् । ‘क्षेत्रीय संकटका विषयमा सौहाद्र कुराकानी भयो । हामीले आपसी हितबारे पनि छलफल गर्यौं । पाकिस्तान–इरानबीचको दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भयो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
पाकिस्तानी उपप्रधानमन्त्री इसाक दारले प्रधानमन्त्री सरिर्फ र इरानी विदेशमन्त्री अराग्चीबीच झन्डै दुई घण्टा कुराकानी भएको जानकारी दिए ।
हर्मुजको जलघाँटीमा अमेरिकाले लगाएको नाकाबन्दी नखोलेसम्म प्रत्यक्ष वार्ता नगर्ने अडान इरानले लिदैं आएको छ । पाकिस्तानमार्फत अमेरिकालाई आफ्ना मागहरु सुनाउन विदेशमन्त्री अराग्ची नेतृत्वको प्रतिनिधिमण्डल शनिबार इस्लामावाद आएको थियो । शनिबारै उक्त प्रतिनिधिमण्डल इरान फर्किएको छ ।
यसअघि ११ र १२ अप्रिलमा अमेरिका–इरानबीच लामो वार्ता भएको थियो । तर, उक्त वार्ता सफल हुन सकेन । पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि लगातार प्रयास गर्दै आएको छ ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा जन–धनको ठूलो क्षति भइसकेको छ । इरान– अमेरिकाबीच ८ अप्रिलमा गरिएको दुई साता लामो युद्धविराम थप लम्ब्याइएको छ । तर युद्ध अन्त्यका लागि भएका प्रयास सार्थक हुन सकेको छैन ।
इरानले आफुमाथि आक्रमण भएदेखि नै हर्मुजको जलघाँटीमा अवरोध पुर्याइरहेको छ । १२ अप्रिलमा वार्ता असफल भएपछि अमेरिकाले पनि यस क्षेत्रमा नाकाबन्दी लगाएको छ ।
हर्मुजमा दोहोरो अवरोधका कारण विश्वव्यापी रुपमा उर्जा संकट थप गहिरिएको छ । युद्ध सुरु हुनअघि यस क्षेत्र हुँदै विश्वको कुल खपतको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास बाहिरिने गर्दथ्यों ।
