स्वदेश फर्कन अफगानिस्तानको आग्रह, तेस्रो देशमा पठाउने अमेरिकाको तयारी
काबुल — अमेरिका पुग्ने आशमा कतारमा अड्किएका आफ्ना नागरिकहरु सुरक्षित रुपमा स्वदेश फर्कनसक्ने अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।
युद्धकालमा अमेरिकालाई सहयोग गरेका अफगानी नागरिक तथा उनीहरुका परिवारसमेत गरेर अहिले झन्डै ११ सयजना कतारको दोहास्थित अमेरिकाको एस सायलिया सैन्य शिविरमा शरण लिएर बसेका छन् ।
यसमा विगतमा दोभाषेका रुपमा अमेरिकालाई सहयोग गर्ने, अमेरिकी स्पेशल अपरेशनमा सहयोग गर्ने तथा उनीहरुका परिवारमा सदस्य छन् । त्यस्तै अमेरिकी सेनामा रहेका १ सय ५० जना अफगानीका परिवारका सदस्य पनि यहाँ छन् ।
ती नागरिकहरुलाई स्वदेश फर्कन कुनै समस्या नहुने अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको हो । यसअघि जो बाइडेन प्रशासनले युद्धताका अमेरिकालाई सहयोग गर्ने अफगानी परिवारका लागि अमेरिकामा पुनर्वास कार्यक्रम सञ्चालन गरेको थियो । सन् २०२१ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि आफ्ना सहयोगीहरुको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको थियो ।
यस कार्यक्रमअन्तर्गत पहिले सहयोगीहरुलाई उद्धार गरेर सुरक्षित ठाउँमा लैजाने र त्यसपछि अमेरिकामा पुनर्वास गराउने योजना बन्यो ।
बाइडेन प्रशासनले विभिन्न चरणमा गरेर ठूलो संख्यामा अफगानीहरुलाई यही कार्यक्रमअन्तर्गत अमेरिका लग्यो । तर, डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएसँगै यो कार्यक्रम रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । जसले अमेरिका जाने प्रक्रिया र पालो कुरेर कतारजस्ता देशमा बसेका अफगानीहरु समस्यामा परे ।
झन्डै एक वर्षपछि ट्रम्प प्रशासनले अफगानीलाई तेस्रो देशमा पुनर्वासको व्यवस्था मिलाउने तयारी गरिरहेको छ । तर, अमेरिका जाने आशमा बसेका अफगानीहरु यस निर्णयले दुखी छन् ।
पुनर्वास अभियानको वकालत गरिरहेको संस्था अफगान इभ्याकले कतारमा रहेका अफगानीहरुलाई कंगोमा पठाउनका लागि अमेरिकाले छलफल चलाइरहेको जानकारी बुधबार सार्वजनिक गरेको थियो । शनिबार अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले आफ्ना नागरिकहरु स्वदेश फर्कनसक्ने बताएका हुन् ।
अमेरिकी विदेश विभागले तेस्रो देशमा स्वेच्छिक पुनर्वास गराउने विकल्पमा काम भइरहेको जनाएको छ । तर, छलफल भइरहेका देशहरुको नाम सार्वजनिक गरेको छैन ।
अफगान इभ्याकका अनुसार शरणार्थीहरूलाई प्रदान गरिएको एउटा विकल्प अफगानिस्तान फर्कनु थियो । ‘त्यहाँ उनीहरु तालिबानको हातबाट मारिने डरमा छन्,’ इभ्याकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, अफगानिस्ताको विदेश मन्त्रालयले मातृभूमी सबैका लागि साझा भएको जनाएको छ । ‘अफगानिस्तान सबै अफगानहरूको साझा मातृभूमि हो । यहाँको ढोका सबैका लागि खुला छ । पूर्ण आत्मविश्वास र मानसिक शान्तिका साथ उनीहरु फर्कनसक्छन्,’ विदेश मन्त्रालयका प्रवक्ता बल्खीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अर्को देशमा यात्रा गर्न चाहनेहरु वैध र मर्यादित माध्यमबाट उपयुक्त समयमा जानसक्छन् । त्यसका लागि अफगानिस्तानको विदेश मन्त्रालय सबै देशहरूसँग सम्पर्क गर्न तयार छ ।’
बल्खीले अफगानिस्तानमा कुनै खतरा नरहेको बताए । ‘यहाँ कुनै सुरक्षा खतरा छैन, र सुरक्षाको कारणले कसैलाई पनि देश छोड्न बाध्य पारिएको छैन ।’
एस सायलिया सैन्य शिविरमा बसेकाहरुका तर्फबाट अफगान इभ्याकले विज्ञप्ति जारी गरेको छ । ‘हामीमध्ये धेरै जना स्वस्थ छैनौं । अनिश्चितता र कठिन अवस्था छ । गहिरो डिप्रेसन छ,’ शिविरका अफगानीहरुलाई उद्रृत गर्दै विज्ञप्तिमा भनिएको छ । कठिन परिस्थितिका कारण केही अफगानीको मानसिक स्वास्थ्य निकै खराब भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्थानान्तरण प्रक्रियाका विषयमा चलिरहेको छलफलबारे अमेरिकी अधिकारीहरुले शिविरमा रहेका अफगानीहरुलाई कुनै जानकारी दिएका छैनन् । सञ्चारमाध्यमबाटै यस विषय थाहा पाएको बताएका उनीहरुले छन् । अनिश्चयको अवस्थाले उनीहरूलाई गम्भीर असर गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शिविरमा रहेका व्यक्तिहरुलाई उद्रृत गदै भनिएको छ,‘हामी प्रजातान्त्रिक गणतन्त्र कंगो जान चाहँदैनौं । यो देश आफैं गृहयुद्धमा छ । हामीले लामो समय युद्ध सह्यौं । हाम्रा बच्चाहरूलाई अर्को युद्धमा लैजान सक्दैनौं ।’
कंगोको पूर्वी क्षेत्रमा सरकारी सेना र रुवान्डा समर्थित विद्रोहीबीच लामो समयदेखि गृहयुद्ध छ ।
शिविरमा रहेका अफगानीहरूले स्वदेश फर्कनु पनि राम्रो विकल्प नरहेको बताए । ‘हामीले विगतमा अमेरिकालाई सहयोग ग¥यौं । तालिबानले हामीमध्ये धेरैलाई मार्नेछन्,’ उनीहरुले भनेका छन्, ‘यो हामीभित्रको डर होइन । वास्तविकता हो । अमेरिकालाई यो थाहा छ । हामी घर जान नसक्ने कारण अमेरिका हो ।’
