भारतको पश्चिम बंगाल र तमिलनाडुमा ऐतिहासिक मतदान

१५२ सिटका लागि पश्चिम बंगालमा पहिलो चरण भएको निर्वाचनमा ९१.८३ प्रतिशत मत खसेको छ । यस्तै, तमिलनाडुको २३४ विधानसभा सिटका लागि भएको निर्वाचनमा करिब ८४ प्रतिशत मत खसेको छ ।

वैशाख ११, २०८३

अन्वेषण अधिकारी

Historic voting in West Bengal and Tamil Nadu

काठमाडौँ — भारतको पश्चिम बंगाल (पहिलो चरण) र तमिलनाडु राज्यमा बिहीबार भएको विधानसभा चुनावमा कीर्तिमानी मत खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १५२ सिटका लागि पश्चिम बंगालमा पहिलो चरण भएको निर्वाचनमा ९१.८३ प्रतिशत मत खसेको छ । यस्तै, तमिलनाडुको २३४ विधानसभा सिटका लागि भएको निर्वाचनमा करिब ८४ प्रतिशत मत खसेको छ । 

पश्चिम बंगालको २९४ सिटमध्ये बाँकी १४२ सिटका लागि आगामी २९ अप्रिलमा दोस्रो चरणको मतदान हुँदै छ । बिहीबार पहिलो चरणमा नन्दीग्राम, दार्जिलिङ, सिलीगुडी, जलपाइगुडी, कोच बिहारलगायत १६ जिल्लामा मतदान भयो ।

१६ जिल्लामा कुल ३ करोड ६० लाख मतदाता रहेका छन् । यसअघि ९ अप्रिलमा आसाम राज्य र केन्द्र शासित प्रदेश पुड्डुचेरी विधानसभा निर्वाचनमा पनि कीर्तिमानी मत खसेको थियो । आसाममा ८५.९१ र पुड्डुचेरीमा ९० प्रतिशत मत खसेको थियो । ९ अप्रिलमै भएको मतदानमा केरला राज्यमा ७८.२७ प्रतिशत मत खसेको थियो । जुन सन् १९८७ पछिको सबैभन्दा उत्साहजनक मतदान हो । 

यस महिना निर्वाचन भएका चार राज्य र एक केन्द्र शासित प्रदेशको मतपरिणाम ४ मेमा सार्वजनिक हुनेछ । बंगालमा ममता बेनर्जीलाई भाजपाको चुनौती अल्पसंख्यक धर्म र भाषालाई अवमूल्यन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टी (भाजपा) ले अघि सारेको हिन्दु राष्ट्रवाद मुद्दाविरुद्ध पश्चिम बंगालको क्षेत्रीय शक्ति तृणमूल कंग्रेस खडा हुँदै आएको छ ।

सन् २०११ देखि पश्चिम बंगालमा मुख्यमन्त्री रहेकी ममतालाई भारतमा बहुभाषिक/बहुसांस्कृतिक पहिचान र धर्मनिरपेक्ष राजनीतिको वकालत गर्ने नेतृका रूपमा लिइन्छ । यही कारण बंगालको चुनावलाई ममता नेतृत्वको तृणमूल कंग्रेस र भाजपाबीचको टकरावका रूपमा हेरिएको छ । 

सन् १९७७ देखि २०११ सम्म लगातार सत्तामा रहेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) २०२१ को निर्वाचनमा शून्य सिटमा झर्‍यो । यस पटक कम्युनिस्ट घटकहरूले गुमेको साख फर्काउन वाममोर्चा बनाएका छन् । केन्द्रमा प्रमुख प्रतिपक्षी भारतीय नेसनल कंग्रेस पनि बंगालमा तुलनात्मक रूपमा कमजोर छ । त्यही कारण, अधिकांश सिटमा भाजपा र तृणमूल कंग्रेसबीच प्रतिस्पर्धा हुने भारतीय मिडियाहरूको आकलन छ । 

जनसंख्याका हिसाबले पश्चिम बंगाल भारतको तेस्रो ठूलो राज्य हो । यसको पूर्वमा बंगलादेश, उत्तरमा नेपाल र उत्तरपूर्वमा भुटानसँग सीमा जोडिएको छ । सन् २०११ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को ३४ वर्षे लामो शासन समाप्त गर्दै ममता नेतृत्वको तृणमूल कंग्रेसले यहाँ स्पष्ट बहुमत ल्याएको थियो । त्यसयता, सन् २०१६ र २०२१ को विधानसभा निर्वाचनमा यस पार्टीले दुईतिहाइ सिट जित्यो । सन् २०१६ को विधानसभामा केवल ३ सिट जितेको भाजपा सन् २०२१ मा ७७ सिट जित्दै प्रमुख प्रतिपक्ष बन्यो । 

कतिपय हिन्दु राष्ट्रवादीहरू भारतमा हिन्दुत्वको बहस बंगालबाटै सुरु भएको धारणा राख्छन् । बंगाली साहित्यकार बान्किमचन्द्र चटर्जीले सन् १८८० को दशकमा ‘बन्दे मातरम्’ गीत लेखेका थिए । उक्त गीत भारत स्वतन्त्रता आन्दोलनमा निकै प्रयोग भयो । त्यही कारण पनि हिन्दु राष्ट्रवादको बहसमा बंगालको चर्चा छुट्दैन ।

अर्कोतर्फ बंगालमा ठूलो संख्यामा मुस्लिम समुदायको बसोबास छ । करिब १० करोड जनसंख्यामध्ये ३० प्रतिशत मुस्लिम छन् । भाजपाले यहाँको बढ्दो मुस्लिम जनसंख्यालाई खतराका रूपमा हेरेको छ । जबकि, ममताका लागि त्यही जनसंख्या सुरक्षित भोट बैंक हो । 

यस पटक भारतीय निर्वाचन आयोगले ल्याएको विशेष गहन संशोधन (एसआईआर) का कारण पश्चिम बंगालमा करिब ९१ लाख मतदाताको नाम सूचीबाट हट्यो । मृतक तथा नक्कली नामहरूलाई हटाउन यो नीति ल्याइएको थियो । तर, भाजपा नेतृत्वको केन्द्र सरकारले निर्वाचन  आयोगलाई प्रभावित गरेर यस नीतिमार्फत विभिन्न राज्यमा मुस्लिम तथा अल्पसंख्यक मतदातालाई मताधिकारबाट वञ्चित गर्ने प्रयास गरेको आरोप छ ।

मुख्यमन्त्री ममताले एसआईआरको लगातार विरोध गर्दै आएकी छन् । राज्यमा निर्वाचन हुनुभन्दा केही समयअघिसम्म पनि लगातार मतदाताको नाम काटिनु अपराधसरह रहेको तृणमूल कंग्र्रेसकी राज्यसभा सांसद सागारिका घोषले बताइन् । ‘बंगालमा संवैधानिक अपराध भइरहेको छ । यो भारत र बंगालका जनताविरुद्ध चलिरहेको अपराध हो,’ उनले भनिन् । 

मतदाता सूची संशोधनपछि पश्चिम बंगालमा कुल मतदाता ६ करोड ८२ लाख छन् । महिला सशक्तीकरणलाई भाजपा र तृणमूल कंग्रेस दुवैले मुख्य एजेन्डा बनाएका छन् । त्यसका लागि महिलालाई आर्थिक सहयोग गर्ने उनीहरूको वाचा छ । तृणमूल कंग्रेसले महिलालाई दिइरहेको आर्थिक सहयोग वृद्धि गर्ने योजना अघि सारेको छ । आममहिलालाई मासिक १५ सय तथा सूचीकृत जाति/समुदायलाई १७ सय भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने वाचा गरेको छ । 

युवालाई रोजगारी, किसानलाई सहयोग, सबै परिवारलाई पक्की घर, हरेक घरमा खानेपानीको पाइपलाइन जडान, सरकारी विद्यालयहरूको आधुनिकीकरण, बंगलादेशलाई पूर्वी भारतको प्रमुख व्यापार गेट–वे तथा विश्वको व्यापार केन्द्र बनाउने लक्ष्य, सामाजिक सुरक्षालगायत योजना अघि सारेको छ । 

भाजपाले संकल्पपत्रमार्फत सुरक्षा व्यवस्था सुदृढ बनाउने, महिलालाई मासिक ३ हजार, किसानलाई वार्षिक ९ हजार भारतीय रुपैयाँ सहयोग, कर्मचारी संरचनामा सुधार, भ्रष्टाचारको छानबिन, राज्यको अर्थतन्त्र र पूर्वाधार सुधार्ने ‘सोनार बंगला’ योजना, रोजगारी सिर्जनालगायत एजेन्डा अघि सारेको छ । 

दक्षिणी राज्य तमिलनाडुका अधिकांश सिटमा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको द्रविड मुन्नेत्र कड्गम (डीएमके), अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कड्गम (एआईएडीएमके) र अभिनेता जोसेफ विजय चन्द्रशेखरको टिभिके पार्टीबीच त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ ।–एजेन्सीको सहयोगमा

अन्वेषण

Link copied successfully