पहिलो चरणमा दार्जिलिङ सहित १६ जिल्लाका १ सय ५२ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो।
What you should know
बिराटनगर — पश्चिम बंगालमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज मतदान हुँदैछ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहनेछ।
पहिलो चरणमा दार्जिलिङ सहित १६ जिल्लाका १ सय ५२ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो। यी जिल्लामा दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, अलीपुरद्वार, कूचबिहार, उत्तर र दक्षिण दिनाजपुर, माल्दा, मुर्शिदाबाद, वीरभूम, पश्चिम बर्धमान, पुरुलिया, बाँकुडा, झारग्राम, पश्चिम मेदिनीपुर र पूर्व मेदिनीपुर रहेका छन्।
पहिलो चरणको निर्वाचनमा कुल १ हजार ४ सय ४७ उम्मेदवार चुनावी मैदानमा छन्। ४४ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएका छन्, जसमध्ये ७ हजार ३ सय ८४ केन्द्रलाई ‘अति संवेदनशील’ वा ‘संवेदनशील’ रूपमा वर्गीकृत गरिएको छ। करिब ३ करोड ६० लाख मतदाताले यस चरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित बनाउन निर्वाचन आयोगले २ हजार ४ सय ७ जना केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) को कम्पनी परिचालन गरेको छ, जसमा २ लाख ४० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। मतदान केन्द्र आसपास क्विक रियाक्सन टिम (क्युआरटि) पनि परिचालन गरिएको छ।
सबै मतदान केन्द्रमा ‘आश्वस्त न्यूनतम सुविधा’ र मतदाता सहायता उपलब्ध गराइनेछ। मतदान केन्द्रको प्रवेशद्वार बाहिर मतदाताका लागि मोबाइल फोन राख्ने व्यवस्था समेत मिलाइएको छ।
आजदेखि शुरु भएको चुनाव बिभिन्न चरणमा २९ तारिखसम्म चल्ने छ। पश्चिम वंगाल बिधानसभाको २ सय ९४ सिटमा ममता वेनर्जीको त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टीबीच कडा प्रतष्पर्धा हुने अनुमान गरिएको छ।
