नयाँ नियमले जापानका सीमाहरु घटाएको छ । फाइटर जेट, मिसाइल, युद्ध जहाज, ड्रोन, विध्वंशकजस्ता घातक हतियारहरु अब जापानले बेच्न पाउनेछ ।
काठमाडौँ — जापानले मंगलबार हतियार बिक्रीमाथिको कडाई खुकुलो गर्ने निर्णय गरेको छ । यस निर्णयले घातक हतियार बेच्ने ढोका खुला गरेको छ ।
चीन र उत्तर कोरियाको आक्रामक व्यवहारले पछिल्लो समय जापान चिन्तित थियो । प्रधानमन्त्री साने ताकाइचीको मन्त्रिपरिषद्ले मंगलबार हतियार बिक्री सम्बन्धी कानुनी अवरोधहरु हटाउने निर्णय गरेको हो । दोस्रो विश्वयुद्धपछि जापानले अबलम्बन गरेको शान्तिवादी नीतिमा यो ठूलो परिवर्तन हो ।
दोस्रो विश्वयुद्धपछि सन् २०१४ मा पहिलोपटक जापानले हतियार बिक्री सुरु गरेको थियो । तर, उद्धार, यातायत, अलर्ट, निगरानी र जमिनमुनीको बम हटाउने कार्यमा प्रयोग गर्न मिल्ने हतियारमात्रै जापानले निर्यात गर्दथ्यों ।
नयाँ नियमले जापानका सीमाहरु हटाएको छ । फाइटर जेट, मिसाइल, युद्ध जहाज, ड्रोन, विध्वंशकजस्ता घातक हतियारहरु पनि अब जापानले बेच्न पाउनेछ ।
यसअघि डिसेम्बर २०२३ मा जापानले नीतिमा केही परिवर्तन गरेर विदेशी लाइसेन्स प्राप्त कम्पनीले बनाएका घातक हतियार र कम्पोनेन्टहरु ती देशमा पठाउन पाउने नियम बनाएको थियो । जसकारण, उसले अमेरिकी डिजाइनको पेट्रियट मिसाइल्स वासिङटनमा पठायो ।
जापानका रक्षा साझेदार अस्ट्रेलिया र अमेरिकाले नयाँ निर्णयको स्वागत गरेका छन् । त्यस्तै, दक्षिणपूर्वी एसिया र युरोपका देशहरुले जापानसँग हतियार किन्ने इच्छा प्रकट गरेका छन् ।
जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले यस घोषणालाई ऐतिहासिक कदम भने । ‘यसले साझेदारहरुबीच रक्षा सामथ्र्य वृद्धि गर्न सहयोग गर्छ,’ उनले सामाजिक सञ्जालमा लेखे ।
चीनले यसको विरोध गरेको छ । ‘चीनसहित विश्व समुदायले जापानको नयाँ शैलीको सैन्यवादतर्फको हतास कदमको प्रतिरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।
जापानले अमेरिका र बेलायतसहित १७ देशसँग रक्षा सम्झौता गरेको छ ।
