हर्मुज खुल्ला : तर जहाजहरुले इरानी सेनासँग समन्वय गर्नुपर्ने

शुक्रबार इजरायल र लेबनानबीच युद्धविराम सहमति भएसँगै इरानले हर्मुज खोल्ने घोषणा गर्यो ।

वैशाख ५, २०८३

कान्तिपुर संवाददाता

Hormuz open: but ships must coordinate with Iranian military

काठमाडौँ — इरानले शुक्रबार हर्मुज जलघाँटी व्यवसायिक जहाजहरूका लागि खुला रहेको घोषणा गरेको छ । तर, जहाजहरुले इरानी जल अधिकारीहरुले तय गरेका नियम पालना गर्नुपर्ने इरानका विदेशमन्त्री अब्बास अराग्चीले बताए ।

यसका लागि तेहरानलाई शुल्क बुझाउनुपर्छ वा पर्दैन भन्ने घोषणामा स्पष्ट छैन । तेहरानले केही समयअघिदेखि  हर्मुज हुँदै जाने जहाजसँग टोल ट्याक्स उठाउँदै आएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् नजिक स्रोतलाई उद्धृत गर्दै तस्निम न्युजले  व्यावसायिक जहाजहरूले इरानी सेनासँग समन्वय गरेरमात्रै अघि बढ्न पाउने जनाएको छ । तस्निम रिपोर्टका अनुसार शत्रु राष्ट्रसँग सम्बन्ध राख्ने जहाजहरु आउन–जान पाउने छैनन ।

लेबनान र इजरायलबीच युद्धविराम लागु भएको छोटो समयमै इरानले यस्तो घोषणा गरेको हो ।

‘युद्धविराम अवधिका लागि स्ट्रेट अफ हर्मुजमा सबै व्यावसायिक जहाजहरूको लागि बाटो पूर्ण रूपमा खुला घोषणा गरिएको छ,’  विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जालमा लेखे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इरानलाई धन्यवाद दिएका छन् । तर, सम्झौता नभएसम्म अमेरिकी जलसेनाले इरानका बन्दरगाहहरुमा लगाएको नाकाबन्दी कायमै रहने चेतावनी पनि उनले दिए ।  इरानले हर्मुज बन्द गरेपछि अमेरिकाले त्यसको जवाफमा इरानका बन्दरगाहमा तेल लिन जाने ट्यांकरहरुमाथि रोक लगाएको थियो ।

यसअघि ७ अप्रिलमा हर्मुजको जलघाँटी खोल्ने सहमतिसहित इरानसँग युद्धविराम गरिएको घोषणा ट्रम्पले गरेका थिए । त्यस दौरान इरान र अमेरिकाका कुनै पनि सहयोगीविरुद्ध कसैले पनि आक्रमण नगर्ने सहमति बनेको थियो । तर, इजरायलले यो सहमतिमा लेबनानको सशस्त्र समुह हिजबुल्लाहविरुद्धको लडाँइ उल्लेख नभएको दाबी गर्दै लेबनानमा आक्रमण गरिरह्यो  । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इजरायलको दाबीलाई समर्थन गर्दै सम्झौतामा लेबनानको युद्धविराम समावेश नरहेको बताए । इरानले पनि लेबनानमा आक्रमण बन्द नभएसम्म हर्मुज नखोल्ने अडान लियो ।

शुक्रबार इजरायल र लेबनानबीच युद्धविराम सहमति भएसँगै इरानले हर्मुज खोल्ने घोषणा गर्यो ।

कान्तिपुर

Link copied successfully