लेबनानमा युद्धमोर्चाबाट टाढाका घर–गाउँमा इजरायलको निशाना, बालबालिकाको मृत्यु

दक्षिणी लेबनानका धेरै शिया परिवारजस्तै जावादको परिवार पनि हिजबुल्लाहको बफादार समर्थक हुन् । १९८० मा दक्षिण लेबनानलाई इजरायलले गरेको कब्जाको प्रतिरोधमा हिजबुल्लाह जन्मिएको थियो । त्यहीकारण, यस क्षेत्रमा धेरैले हिजबुल्लाहलाई राष्ट्रवादी संगठन मान्छन् ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Israel targets homes and villages far from the war front in Lebanon, children die

काठमाडौँ — बेरुत (एपी)  : ११ वर्षीय जवाद युनेस र आफ्ना काकाका छोराहरुसँग सधैंझैं आफ्नो घर आसपास फुटबल खेलिरहेका थिए । जवादको सानो भाइ, ४ वर्षीय मेहदी, उनीहरूसँग खेल्दा–खेल्दै थाकिसकेको थियो ।  त्यसैले जवादले उसलाई घर लगेर आमालाई सुम्पिदिए । अनि खेल्न फर्किए ।

केही मिनेटपछि इजरायली आक्रमण भयो । जवादको काकाको घरमा निशाना लाग्यो । बिस्फोटले छिमेकका घरहरु हल्लायो, घरभित्रै रहेका जवादका भाइबहिनीहरू भुइँमा पछारिए । आमा मलाक मेस्लमानी छोराछोरीलाई उठाउन हतारिइन् । 

‘म घरको भुइँबाट मेरा बच्चाहरूलाई तानेर लगिरहेकी थिएँ, तर जब म तिनीहरूलाई उठाउन दौडँदै थिएँ, म चिच्याएँ –जवाद,’ उनले भनिन्,  ‘मेरो मनले यस आपतमा उसैलाई संझियो ।’

२७ मार्चमा सक्साकीहमा भएको उक्त इजरायली आक्रमणमा जावाद र उनीसँग फुटबल खेलिरहेका काकाका एक छोराको मृत्यु भयो । उनका एक जना काकाको पनि मृत्यु भयो । यी दुई काका–भतिजा दाजुभाइ जस्तै थिए । आक्रमणमा धेरै बालबालिका घाइते भए ।

जावादका काका इन्टेरियर डिजाइनर थिए । जावादले काकाजस्तै बन्ने सपना देखेका थिए ।  दक्षिणी लेबनानका धेरै शिया परिवारजस्तै जावादको परिवार पनि  हिजबुल्लाहको बफादार समर्थक हुन् । १९८० मा दक्षिण लेबनानलाई इजरायलले गरेको कब्जाको प्रतिरोधमा हिजबुल्लाह जन्मिएको थियो । त्यहीकारण, यस क्षेत्रमा धेरैले हिजबुल्लाहलाई राष्ट्रवादी संगठन मान्छन् । 

इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच ६ हप्ताको नयाँ युद्धमा इजरायलको आक्रमणमा मारिएका १६८ बालबालिकामध्ये जवाद र उनका साथीभाई केही हुन् । अहिलेसम्म आक्रमणमा २,१०० भन्दा बढी मानिसहरू मारिएका छन् । इजरायलले हिज्बुल्लाहको आधार क्षेत्रमा  बिना चेतावनी प्रहार गरेको छ ।

यस आक्रमणको बचाऊ गर्न उसले हिजबुल्लाहका लडाकूहरु नागरिकका घर–गाउँमा बसेको दाबी गर्ने गरेको छ । मारिएका बालबालिकाका परिवारहरूले इजरायलले युद्ध अपराध गरेको आरोप लगाइरहेका छन् । 

इजरायलको तथ्याङ्क अनुसार, हिजबुल्लाहसँगको हालको युद्धमा कम्तीमा दुई इजरायली नागरिक (दुवै वयस्क) र १३ सैनिकहरू मारिएका छन् । इजरायली सेनाकै गोलीले एक इजरायली नागरिकको पनि मृत्यु भएको छ । 

लेबनानमा महिला, बालबालिका र सर्वसाधारण ठूलो सख्ंयामा मारिएका छन् । तर इजरायलले ती निशानाहरु हिजबुल्लाह लक्षित रहेको दाबी गरेको छ । सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत सर्वसाधारणलाई प्रत्यक्ष रूपमा लक्षित गर्न पाइदैंन । तर, विपरीत सैनिकलाई आक्रमण गर्ने क्रममा केही हानी भएमा त्यसलाई स्वभाविक मानिन्छ । यद्यपी, त्यो हानी विपरीत पक्षलाई गरिएको प्रहारभन्दा कम हुनुपर्छ । जसलाई ‘कोलाटेरल ड्यामेज’ भनिन्छ । 

इजरायली सेनाले एपीलाई दिएको एक विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानून पालना गरिएको उल्लेख छ । युद्धमा  ‘भेदभाव, समानुपातिक र सावधानीका सिद्धान्तहरू’ अपनाइएको उसको दाबी छ । 

तर, साउथ कारोलिाना विश्वविद्यालयका कानुन सह–प्राध्यापक चाल्र्स ट्रम्बुलले आक्रमण वैध भएपनि-नभएपनि यसको नैतिक पुष्टि हुन नसक्ने बताउँछन् ।

‘निशाना के थियो र सेनालाई त्यहाँ बालबालिका थिए भन्ने थाहा थियो कि थिएन ? यो विषय नखुलेसम्म हामीले यसलाई वैध वा अवैध भनेर छुट्टयाउन सकिदैंन,’ उनले एपीसँग भने,‘आक्रमणमा बालबालिका घाइते हुन्छन् वा मारिन्छन् भन्ने थाहा हुँदा आक्रमणअघि दुईपटक सोच्नुपर्ने हुन्छ । कुनै आक्रमण अवधै नहुँदैमा गलत वा समस्या निम्त्याउने किसिमको थिएन भन्ने हुँदैन । वा, यसको नैतिक रक्षा पनि गर्न सकिदैंन ।’

घरमुनि पुरिएका बालबालिका

१२ मार्चको बिहान २ बजे, तालीन शेहाब सुतिरहेकी थिइन् । बेरुतबाट लगभग २० किलोमिटर (१२ माइल) दक्षिणमा रहेको अरामौनस्थित उनको अपार्टमेन्टको माथिल्लो तलामा मिसाइल प्रहार भयो, जसले गर्दा अपार्टमेन्ट भत्कियो । तालीन र उनका बुबाको मृत्यु भयो । उनकी आमा गम्भीर घाइते भइन् । तालिन मार्चकै अन्त्यमा ४ वर्ष पुग्नेवाला थिइन् । 

तालीनका बुबा, मोहम्मद, एक ड्रोन अपरेटर र भिडियो निर्माता थिए । जसले प्रायः लेबनानी सेना र टेलिभिजनहरुमा काम गर्थे। उनले पत्नी नथालीसँग मिलेर एक फेसन कम्पनी पनि चलाएका थिए । 

‘तिनीहरू एकदमै नजिकको परिवार थिए । उनीहरूको दैनिक जीवन आफ्नी छोरीको वरिपरि घुम्थ्यो,’ मोहम्मदका भाइ अली शेहाबले भने, ‘तालिन आफ्नो बुबासँग धेरै नजिक थिइन् । सायद मोहम्मद र तालीन एकअर्कासँग यति धेरै जोडिएकाले, ईश्वरले  उनीहरू दुवैलाई रोज्नुभएको होला भन्ने सोच्छु र चित्त बुझाउँछु ।’ 

डा. घसान अबु सिट्टाले तालिनजसरी नै धेरै बालबालिकाहरु आफ्नै घरको भग्नावशेषमुनि पुरिएरको बताएका छन् । उनले युद्धमा घाइते भएका केही बालबालिकाको उपचारका लागि बेरुत मेडिकल सेन्टरमा पहल गर्दै आएका छन् । 

दस वर्षीया जैनाब अल–जबाली आफ्ना बुबा जहाँ जान्थे, त्यहाँसँगै जान्थिन् ।  कुनाको पसल, लेबनानको बेका उपत्यकामा रहेको आफ्नो गाउँ वरपरका पहाडहरू घुम्ने गर्थिन् । अहिले उनका बुबा बेरुत अस्पतालको शैइयामा उनकी बिरामी आमा र अन्य तीन छोरीलाई कुरेर बसेका छन् । जैनाब आक्रमणमा मारिइन् । 

हसन अल–जबालीको जीवनको अधिकांश हिस्सा युद्धको छायाँमा छ । १९८२ मा, उनका १० वर्षका भाई इजरायलको क्षेप्यास्त्र प्रहारबाट मारिए । अल–जबालीले मौनेह, वा किसमिस र सुकेका जडीबुटीजस्ता संरक्षित खानाहरू बेचेर जीविकोपार्जन गर्थे । आफ्नो काकाको लाबान वा दही उत्पादन गर्ने कारखानामा काम गर्थे ।

मार्च ५ मा, हवाई आक्रमण हुँदा अल–जबालीकी पत्नी छोरीहरुलाई लिएर उनकी बहिनीको घरमा गएकी थिइन् । उनीहरु रमजानको पवित्र महिनाको दैनिक उपवास समाप्त हुने खाना इफ्तारको तयारी गरिरहेका थिए । 

अल जावालीले आफ्ना साढुभाई हिजबुल्लाहको सदस्य रहेको स्विकारे । यस आक्रमणमा उनी मारिएका थिए । ‘तर उनीहरुले उसलाई घरमै आक्रमण गरे । उक्त घरमा बालबच्चा र महिला थिए,’ उनले भने । आफ्नै पत्नीलाई अझै पनि जैनाबको मृत्युबारे उनले सुनाउन सकेका छैनन् । यस पीडाले उनलाई समस्या पर्नसक्ने भय जबालीलाई  छ । ‘मैले गाउँको अन्य इलाकाबाट बिस्फोटको आवाज सुनेको थिए । आफ्नो परिवारलाई भेट्न हतार गर्दै गर्दा नरसंहारका दृश्यहरु देखें,’ उनले उक्त आक्रमणको त्रासदीबारे भने । 

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको दुई दिनपछि हिजबुल्लाहले मार्च २ मा सीमा पार गरेर मिसाइल प्रहार गरेको थियो । त्यसयता, इजरायलले यहाँ लगातार आक्रमण गर्दा सर्वसाधारण मारमा छन् ।

धेरै लेबनानीहरूले हिजबुल्लाहलाई आफ्नो देशलाई युद्धमा निम्त्याएको आरोप पनि लगाइरहेका छन् । तर, इजरायलले गरेको निर्मम आक्रमणले हिजबुल्लाहको समर्थन पनि बढाएको छ । 

‘अब हामी पहिलेभन्दा धेरै प्रतिरोधी भएका छौं,’ जावदकी आमा मेस्लमानीले भनिन् । जावादको मृत्युपछि उनलाई आकाशमा उडिरहेका इजरायली विमानसँग डर लाग्न छाडेको छ । ‘ सबैभन्दा बहुमूल्य कुरा मेरो मुटु, गयो,’ उनले भनिन्,‘तिनीहरूले अरु के नै गर्नसक्लान् ।’

कान्तिपुर

Link copied successfully