भारतमा राज्यसभा सदस्यको सपथ लिएको व्यक्तिले अनिवार्य रुपमा १४ दिनभित्र मुख्यमन्त्री पद छाड्नुपर्ने प्रावधानः छ ।
काठमाडौँ — नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिएका छन् । अब एनडिए गठबन्धनबाट भारतीय जनता पार्टीका सम्राट चौधरीले बुधबार मुख्यमन्त्रीको सपथ लिनेछन् ।
एनडिए गठबन्धनबाटै मुख्यमन्त्री बनेका नीतिशकुमारले ३० मार्चमा बिहार विधानसभा परिषद् (एमएलसी) बाट दिएर भारतको माथिल्लो सदन राज्यसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । चौधरी उनको सरकारमा उपमुख्यमन्त्री थिए ।
१६ मार्चमा राज्यसभामा निर्वाचित भएका नीतिशले ११ अप्रिलमा सपथ लिएका थिए । भारतमा राज्यसभा सदस्यको सपथ लिएको व्यक्तिले अनिवार्य रुपमा १४ दिनभित्र मुख्यमन्त्री पद छाड्नुपर्ने प्रावधानः छ ।
जनता दल युनाइटेड (जदयू) अध्यक्ष नीतिशकुमारको राजीनामापछि अब बिहारमा भारतीय जनताका पार्टीको सरकार बन्ने बाटो खुलेको छ । सत्तारुढ एनडिए गठबन्धनमा भाजपा ८८ सिटसहित सबैभन्दा ठूलो दल हो । भाजपामा सम्राट चौधरी मंगलबारै संसदीय दलको नेता चुनिएका छन् ।
५७ वर्षीय चौधरी तारापुरबाट विधानसभामा छानिएका हुन् । नीतिकुमारको राजीनामाअघि नै उनलाई भावी मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको थियो ।
मंगलबार भाजपाको संसदीय दलको बैठकमा अर्का उपमुख्यमन्त्री विजय सिन्हा, भाजपा बिहारका वरिष्ठ नेता मंगल पाण्डे, दिलिप जैसवाल र रेनु देवीले संसदीय दलको नेतामा प्रस्ताव गरे । यस प्रस्तावलाई भाजपाका केन्द्रीय प्रतिनिधि तथा संघीय मन्त्री सिभराज सिंह चौहानले पनि समर्थन गरेका थिए ।
अन्य पिछाडिएको समुदाय (ओबिसी) का चौधरी १९९० देखि नै सक्रिय राजनीतिमा छन् । उनले २०२४ यता उपमुख्यमन्त्रीका रुपमा वित्त, ग्रामिण विकास र पञ्चायती राजजस्ता राजयका महत्वपूर्ण मन्त्रालय सम्हालेका छन् । कुनै समय उनी नीतिशकुमारका ठूलो आलोचक थिए ।
तर बिहारको बदलिइरहने गठबन्धनमा कालान्तरमा भरपर्दो सहयोगी बनेर देखिए । चौधरीको राजनीतिक विरासत लामो छ । उनका पिता सकुनी चौधरी तारापुरबाट ६ पटक विधानसभामा निर्वाचित भएका थिए । उनकी आमा पार्वती देवी पनि राजनीतिमा सक्रिय थिइन् ।
सुशासनको छवि, अवसरवादीको आरोप
नीतीश सन् २००० मा पहिलोपटक बिहारमा मुख्यमन्त्री बनेका थिए । छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा संघीय मन्त्री बने । रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा ठूलो सुधार गरेका थिए ।
सन् २००५ मा दोस्रो पटक बिहारको मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा पहिचान बनाए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए ।
मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले काम गर्ने वातावरण सिर्जना गरे र कैयौं गाउँलाई झलमल्ल पारे । नयाँ सडकहरू बनाए, महिला साक्षरतामा उल्लेख्य सुधार गरे । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाइदिए ।
तर सत्तामा रहन पटक–पटक कित्ता परिवर्तन गर्ने कदमले उनीमाथि अवसरवादीको आरोप पनि लाग्यो । उनले सत्ताका लागि कहिले जनता दल युनाइटेड (जदयू), राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाए । कहिले भाजपासँग मिलेर चुनाव लडे ।
पछिल्लोपटक गत वर्ष सम्पन्न निर्वाचनमा उनलाई एनडिए गठबन्धन्धनले मुख्यमन्त्रीका रुपमा प्रचार गरेको थियो । यस निर्वाचनमा एनडिएले २ सय ४३ मध्ये दुई सय १ सिट जित्यो । गठबन्धनका प्रमुख घटक भाजपाले ८८ र नीतिकुमारको जदयूले ८५ सिट जिते ।
२० नोभेम्बर २०२५ मा उनी किर्तिमानी रुपमा १० औंपटक बिहारको मुख्यमन्त्री निर्वाचित भएका थिए । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएन, तर पनि सन् २००५ पछि ८ महिनाबाहेक लगातार राज्य सरकारको नेतृत्व उनले सम्हाले ।
७५ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् । सन् १९७० को दशकमा उनी समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटक–पटकको विभाजन र एकीकरणपछि नीतीशले सन् २००३ मा जदयू गठन गरेका हुन् ।
