प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा भएको सिट-इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले व्यापक गिरफ्तारी अभियान चलाएको हो ।
लन्डन — बेलायतको राजधानी लन्डनमा शनिबार भएको ‘प्यालेस्टाइन एक्सन’ समर्थकहरूको प्रदर्शनबाट प्रहरीले ५०० भन्दा बढीलाई पक्राउ गरेको छ । प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा भएको सिट-इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले व्यापक गिरफ्तारी अभियान चलाएको हो ।
लण्डन मेट्रोपोलिटन प्रहरीले दिएको जानकारीअनुसार मध्यरातसम्ममा १८ देखि ८७ वर्ष उमेर समूहका कुल ५२३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनकारीहरू उक्त प्रतिबन्धित समूहको समर्थनमा प्लेकार्ड बोकेर भेला भएका थिए, जसलाई बेलायती कानुनअनुसार आपराधिक गतिविधिको रूपमा लिइन्छ । प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिँदा अन्य सहभागीहरूले जयजयकार र ताली बजाएर समर्थन गरेका थिए ।
‘प्यालेस्टाइन एक्सन’ लाई गत जुलाईमा आतंकवादी संगठनको सूचीमा राखिएको थियो । जसअन्तर्गत यसको समर्थन वा सदस्यता लिनु गम्भीर अपराध मानिन्छ र १४ वर्षसम्म कैद सजाय हुन सक्छ । यद्यपि, लन्डनको उच्च अदालतले फेब्रुअरीमा उक्त प्रतिबन्धमाथि प्रश्न उठाउँदै यसले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरेको ठहर गरेको थियो । सरकारलाई त्यस निर्णयविरुद्ध अपिल गर्ने अनुमति दिएको छ ।
उच्च अदालतको निर्णयपछि केही समय गिरफ्तारी रोकिए पनि मेट्रोपोलिटन प्रहरीले मार्च अन्त्यतिर पुनः कडाइ सुरु गर्ने घोषणा गरेको थियो । त्यसयता प्रदर्शनहरूमा पक्राउ पर्नेको संख्या तीव्र रूपमा बढेको छ । प्रहरीका अनुसार प्रतिबन्ध लागू भएयता झन्डै ३ हजार जना पक्राउ परिसकेका छन् । सयौँमाथि औपचारिक आरोप लगाइएको छ ।
प्रदर्शनमा सहभागीहरूले भने आफ्नो गतिविधिलाई नैतिक कर्तव्यका रूपमा व्याख्या गरेका छन् । प्रदर्शनको अग्रपंतिमा रहेकी लन्डनकी २८ वर्षीया फ्रेयाले सरकारी नीतिको विरोध गर्न निरन्तर उपस्थिति जनाउनु आवश्यक रहेको बताइन् । उनले गाजामा भइरहेका घटनाप्रति आवाज उठाउनु नैतिक जिम्मेवारी भएको प्रष्ट पारिन ।
एडिनबर्गबाट आएका ७३ वर्षीय डेनिस म्याकडर्मोटले आफू पहिले पनि पक्राउ परिसके पनि फेरि प्रदर्शनमा आउन नहिचकिचाएको बताए । न्यायिक प्रक्रिया स्पष्ट भएको भए यस्ता आन्दोलन आवश्यक नपर्ने उनको धारणा छ । उनले अन्य प्रदर्शनकारीतर्फ संकेत गर्दै आफू उनीहरूको पक्षमा रहेको बताए ।
प्रदर्शन आयोजक ‘डिफेन्ड आवर ज्युरी’ ले भने शनिबारको कार्यक्रममा सयौँ मानिस सहभागी भएको दाबी गर्दै बेलायत सरकारले गाजासम्बन्धी नीतिमा खेलेको भूमिकाको विरोध गरेको जनाएको छ । साथै, शान्तिपूर्ण विरोधमाथि भइरहेको कडाइलाई ‘गलत दमन’ का रूपमा चित्रण गरिएको छ ।
मानव अधिकार संस्था एम्नेस्टी युकेले पनि प्रहरी कारबाहीको आलोचना गर्दै यसलाई नागरिक स्वतन्त्रतामाथिको प्रहार भनेको छ । संस्थाले विशेष गरी वृद्ध तथा कमजोर व्यक्तिहरूसमेत पक्राउ परेको घटनालाई उल्लेख गर्दै यसले सरकारको असफल नीतिलाई दोहोर्याएको आरोप लगाएको छ ।
प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्धले बेलायतमा व्यापक बहस निम्त्याएको छ । उक्त सूचीमा पहिले नै हमास र लेबनानको हिजबुल्लाहजस्ता समूहहरू समावेश छन् । अदालतले यस समूहसँग सम्बन्धित सबै मुद्दाहरूको सुनुवाइ अस्थायी रूपमा रोकेको छ र ३० जुलाईमा विस्तृत पुनरावलोकन गर्ने तयारी गरिएको छ ।
सन् २०२० मा स्थापना भएको 'प्यालेस्टाइन एक्सन'ले आफूलाई इजरायलसँग सम्बन्धित सैन्य तथा औद्योगिक संरचनाविरुद्ध अभियान चलाउने समूहको रूपमा प्रस्तुत गर्दै आएको छ । यसको गतिविधि विशेषगरी इजरायली रक्षा कम्पनी एल्बिट सिस्टमसँग सम्बन्धित संरचनाहरू लक्षित रहेको बताइएको छ ।
