इस्लामावादमा इरान–अमेरिका वार्ता, को–को सहभागी छन् ? एजेन्डा के छ ?

अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा वार्ता टोली इस्लामावाद आइपुगेको छ । टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जरेद कुस्नर र पश्चिम एसिया दूत स्टिभ विटकफ सहभागी छन् ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

Iran-US talks in Islamabad, who is participating? What is the agenda?

काठमाडौँ — एक महिनाभन्दा लामो युद्धपछि आज पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका शान्ति वार्तामा बस्दैछन् । यद्यपी, यो वार्ता प्रत्यक्ष हुनेछैन । 

इस्लामावादस्थित जिन्हा सम्मेलन केन्द्रमा दुबै पक्षका प्रतिनिधिहरु बेग्ला–बेग्लै स्थानमा बस्नेछन् । पाकिस्तानी मध्यस्थकर्ताहरुले एक–अर्काका सन्देश दुबैपक्ष समक्ष पुर्‍याउनेछन् । 

अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा वार्ता टोली इस्लामावाद आइपुगेको छ । टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जरेद कुस्नर र पश्चिम एसिया दूत स्टिभ विटकफ सहभागी छन् ।

इरानको प्रतिनिधिमण्डल पनि शनिबारै इस्लामावाद आइपुगेको छ । सभामुख महोम्मद बगेर गालीबाफले नेतृत्व गरेको यस प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी छन् । 

२८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको युद्धका दौरान ठूलो संख्यामा मानिसहरु मारिएका थिए । गत मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि युद्धविराम गर्ने प्रस्तावमा हस्ताक्षर गरे । त्यसयता केही दिन तेहरान शान्त छ । 

तर, लेबनानमाथि इजरायलले आक्रमण बन्द गरेको छैन । त्यसैको विरोधमा इरानले हर्मुजको जलघाँटीमा अवरोध कायम राखेको छ । जबकी, युद्धविराम गर्दा हर्मुजको जलघाँटी सुचारु गर्नुपर्ने शर्त अमेरिकाको थियो । 

यस वार्तामा इरानले आणविक हतियारको महत्वाकांक्षा त्याग्नुपर्ने, हर्मुजको जलघाँटी सुचारु गर्नुपर्नेलगायत माग अमेरिकाले अघि सारेको छ । 

इरानले आफ्नो देशमा आक्रमण बन्द गर्नुपर्ने, युद्धको क्षतिपुर्ति पाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने, हर्मुजमा ओमानसँग मिलेर शुल्क उठाउन पाउनुपर्नेलगायत माग इरानको छ । 

कान्तिपुर

Link copied successfully