इस्लामावादमा अमेरिका–इरानबीच प्रत्यक्ष वार्ता जारी

तर, २८ फेब्रुअरीमा अमेरिका–इजरायलले तेहरानमा संयुक्त आक्रमण गरेसँगै दुई देशबीच झन्डै पाँच हप्ता युद्ध चल्यो । ठूलो क्षतिपछि दुबै देश फेरि वार्ताको टेबुलमा बसेका हुन् ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

Direct talks between US and Iran continue in Islamabad

What you should know

काठमाडौँ — पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच शान्ति वार्ता सुरु भएको छ । इस्लामावादमा सुरु त्रिपक्षीय वार्ता सुरु भएको पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभीले जनाएको छ।  अल अजिराले र बीबीसीले पाकिस्तानको सरकारी स्रोतमार्फत यस विषयको पुष्टि गरेका छन् । 

अल जजिराका अनुसार इरानमा १९७९ मा इस्लामिक क्रान्ति सुरु भएयता अमेरिका–इरानबीच प्रत्यक्ष वार्ता भएको यो पहिलोपटक हो । दुई देशका प्रतिनिधि पाकिस्तानको मध्यस्थतामा एउटै कोठामा बसेर छलफल गरिरहेको अलजजिराले जनाएको छ । 

यसअघि गत फेब्रुअरीमा ओमानको मध्यस्थतामा दुई देशबीच शृंखलावद्ध रुपमा अप्रत्यक्ष वार्ता भएको थियो । जसअन्तर्गत अन्तिमपटक २७ फेब्रुअरीमा जेनेभामा अप्रत्यक्ष वार्ता भएको थियो ।

तर, २८ फेब्रुअरीमा अमेरिका–इजरायलले तेहरानमा संयुक्त आक्रमण गरेसँगै दुई देशबीच झन्डै  पाँच हप्ता युद्ध चल्यो । ठूलो क्षतिपछि दुबै देश फेरि वार्ताको टेबुलमा बसेका हुन् । 

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । प्रतिनिधिमण्डलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुस्नर र मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ पनि छन् ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी यस प्रतिनिधिमण्डलमा छन् । दुबै देशको प्रतिनिधिमण्डलमा विज्ञहरु पनि सहभागी छन् । 

वार्ता अघि प्रधानमन्त्री शेहबाज शरीफले संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधिमण्डलहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ‘वार्तामा इरानको संलग्नताको कदर गर्दै प्रधानमन्त्री शरीफले क्षेत्रीय र विश्वव्यापी शान्ति तथा स्थायित्वको  मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका खेल्न खेल्न पाकिस्तानको प्रतिवद्ध रहेको बताउनुभयो,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तानबाट उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार, रक्षा (सीडिएफ)  प्रमुख तथा सेना प्रमुख फिल्ड मार्शल असिम मुनीर र आन्तरिक मन्त्री मोहसिन रजा नक्वीले बैठकमा भाग लिएका थिए । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको भिडियोमा सरीफले गालिबाफ र अराग्चीलाई अँगालो हालेको देखिन्छ । 

यसअघि पाकिस्तानी समयअनुसार १०ः३० मा उपराष्ट्रपति भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल इस्लामावाद आइपुगेको थियो । उनलाई दार, नक्वी र मुनिरले नुर खान एयर वेसमा स्वागत गरे ।

त्यसपछि प्रधानमन्त्री सरिफले उनीसँग भेट गरे । भान्सको आगमन लगत्तै पाकिस्तानको विदेश कार्यालयले विज्ञप्ति जारी गरेर क्षेत्रीय तथा विश्वव्यापी शान्ति र स्थिरता प्राप्त गर्ने अमेरिकी प्रतिबद्धताको प्रशंसा गरेको थियो । 

शुक्रबारसम्म, इरानले लेबनानमा इजरायली आक्रमणहरू बन्द नभएसम्म वार्तामा सामेल नहुने अडान लिएको थियो । यसले वार्ता प्रक्रियामै शंसय उत्पन्न गरेको थियो । तर शुक्रबारै लेबनान र इजरायलले आगामी साता वासिंगटनमा प्रत्यक्ष वार्ता गर्ने सहमति गरे । यसले अमेरिका–इरान प्रत्यक्ष वार्ताको वातारण बनाउन ठूलो भूमिका खेल्यो । 

अमेरिकाले हर्मुजको अवरोध हटाउन सुरु गर्दैछ : ट्रम्प

अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुजको अवरोध हटाउन थालिएको बताएका छन् । उनले इरानको जलसेना, वायु सेना र हवाई प्रतिरोध प्रणाली ध्वस्त भइसकेको आफ्नो पुरानै दाबी दोहोर्‍याए ।

‘ उनीहरुले दिने एकमात्रै चुनौती भनेको पानीमुनी राखिएको बम हो । हामी हर्मुजको जलघाँटी सबै विश्वका लागि खोल्दैछौं । चीन, जापान, दक्षिण, कोरिया, जर्मनी, फ्रान्स र देश धेरैका लागि । अनौठो कुार, उनीहरुसँग आफ्ना लागि यो काम गर्ने इच्छाशक्ति वा हिम्मत छैन,’ ट्रम्पले आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् । 

कान्तिपुर

Link copied successfully