आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टेलिना जियोर्गिभाले युद्धपछि परिस्थिति पहिले जस्तो सहज नरहेको बताइन्
काठमाडौँ — हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी दिएको छ । यसको मुख्य कारण मध्यपूर्व क्षेत्रमा भइरहेको युद्ध हो, जसले विश्वभर गम्भीर आर्थिक असर पारिरहेको छ ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टेलिना जियोर्गिभाले युद्धपछि परिस्थिति पहिले जस्तो सहज नरहेको बताइन् । युद्ध सकिएपनि वैश्विक अर्थतन्त्र तत्कालै सहज अवस्थामा आउने संभावना नरहेको उनले बताइन् । ऊर्जा स्रोतको मूल्य तीव्र रूपमा बढ्नु, सडक, उद्योगजस्ता संरचनामा क्षति हुनु, आपूर्ति प्रणालीमा अवरोध आउनु र बजारमा विश्वास घट्नुजस्ता कारणले विश्व आर्थिक वृद्धिमा ठूलो असर परेको छ ।
जियोर्गिभाले युद्धबाट प्रभावित देशहरूलाई सहयोग गर्न तत्काल ठूलो आर्थिक सहायता आवश्यक पर्ने बताइन् । अनुमान अनुसार २० अर्बदेखि ५० अर्ब डलरसम्म सहयोग आवश्यक पर्न सक्छ । यसका साथै खाद्य संकट पनि बढ्ने देखिएको छ, जसका कारण थप ४ करोड ५० लाख मानिस प्रभावित हुनेछन् । जसले गरिबी तथा भोकमरीबाट प्रभावितको संख्या ३६ करोडभन्दा माथि पुर्याउनेछ । विशेषगरी गरिब तथा ऊर्जा आयात गर्ने देशहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।
यसैबीच विश्व बैङ्कका अध्यक्ष अजय वांगाले विकासशील देशहरूलाई सहयोग गर्न छोटो समयमा २५ अर्ब डलरसम्म उपलब्ध गराउन सकिने बताए । दीर्घकालीन रूपमा भने ६० अर्ब डलरसम्म सहयोग गर्न सकिने योजना रहेको छ । यो युद्धले तेलको मूल्य बढाएको छ, किनभने महत्वपूर्ण जलमार्ग अवरुद्ध भएपछि विश्व बजारमा आपूर्ति घटेको छ ।
यसका कारण विश्वव्यापी मुद्रास्फीति पनि बढ्ने अपेक्षा गरिएको छ । तेल, ग्यास र मलको मूल्य बढ्दा खाद्यान्न उत्पादन महँगो हुनेछ, जसले खाद्य मूल्य पनि बढाउनेछ । यसले गरिब देशहरूमा भोकमरीको जोखिम झन बढाउनेछ। यस संस्थाका अनुसार युद्ध हुने देशहरूको उत्पादन सुरुमा करिब ३ प्रतिशतले घट्छ र यसको असर लामो समयसम्म रहन्छ ।
