मणिपुरको प्रान्तीय राजधानी इम्फाल उपत्यकामा मंगलबार भएको घटनामा दुई नाबालकसहित चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
What you should know
विराटनगर — झण्डै तीन वर्षयता बेलाबेला चर्किँदै आएको हिंसात्मक आन्दोलन पूर्णरूपमा साम्य हुन नपाउँदै पूर्वोत्तर भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ ।
प्रान्तीय राजधानी इम्फाल उपत्यकामा मंगलबार भएको घटनामा दुई नाबालकसहित चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
करिब वर्ष दिनको राष्ट्रपति शासनपछि गत फेब्रुअरीमा नयाँ निर्वाचित सरकार गठन भएयता अवस्था तुलनात्मक रूपमा शान्त थियो । तर, मंगलबारको घटनापछि पुनः तनाव चर्किएको हो ।
मणिपुरको विष्णुपुर जिल्ला प्रशासनका अनुसार मंगलबार बिहान करिब १ बजे संदिग्ध सशस्त्र समूहले मोइराङ ट्रोन्लाओबी क्षेत्रको एक घरमा बम प्रहार गर्दा सुतिरहेका ५ वर्षका बालक र ६ महिनाकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूकी आमा गम्भीर घाइते भएकी थिइन् । उक्त क्षेत्र रैथाने मणिपुरी (मैतेई) समुदायको बाहुल्यता भएको तल्लो भाग र अर्को जनजाति समुदाय कुकी बहुल चुराचन्दपुर जिल्लाको सिमानासँगै जोडिएको छ ।
घटनाको खबर फैलिएसँगै स्थानीय बासिन्दा आन्दोलित भएका थिए । आक्रोशित भीडले घटनास्थलनजिकै रहेको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को क्याम्पमा आक्रमण गरेपछि अवस्था थप तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । राज्यका गृहमन्त्री कोन्थौजम गोविन्दसका अनुसार गोली लागेर घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले सडकमा टायर बाल्नुका साथै दुई वटा तेल ट्यांकर, एउटा ट्रक र एक अस्थायी प्रहरी चौकीमा आगजनी गरेका थिए ।
मुख्यमन्त्री युमनाम खेमचन्द्र सिंहले घटनालाई बर्बरतापूर्ण भन्दै छानबिन राष्ट्रिय अनुसन्धान एजेन्सी (सीबीआई) लाई सुम्पने निर्णय गरेका छन् । घटनापछि इम्फाल उपत्यकाका पाँच जिल्लामा तीन दिनका लागि मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ ।
स्थानीय प्रशासनले विष्णुपुर जिल्लामा कर्फ्यु आदेश जारी गर्दै सर्वसाधारणको आवतजावतमा कडा प्रतिबन्ध लगाएको छ ।
यसैबीच, हेलिकप्टरसहित राज्य प्रहरी, असम राइफल्स र केन्द्रीय रिजर्भ पुलिस बलको संयुक्त टोलीले ‘कम्बिङ अपरेसन’ सुरु गरेको छ । लामो अन्तरालपछि पहाडी क्षेत्रमा बुलेटप्रुफ सवारीसाधनसहित कमाण्डोहरू पुनः परिचालन गरिएको छ ।
बुधबार पनि मणिपुरको अवस्था तनावपूर्ण नै रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । मुख्यमन्त्रीले सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन् ।
सन् २०२३ मे महिनादेखि सुरु भएको जातीय हिंसामा मणिपुरमा २ सय ६० भन्दा बढीको ज्यान गएको छ भने ६२ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।
