अमेरिका-इरान युद्धविराममा पाकिस्तानको मध्यस्थता, चीनको सहयोग

बेइजिङले आफ्नो प्रभाव उपयोग गर्नका लागि पाकिस्तान, टर्की र इजिप्टका अधिकारीहरुसँग मध्यस्थताको भूमिका खेलेको एक अधिकारीलाई उद्रृत गर्दै एपीले जनाएको छ । यस विषयमा एपीले चिनियाँ विदेश मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ आएन ।

चैत्र २५, २०८२

अन्वेषण अधिकारी

Pakistan mediates, China supports US-Iran ceasefire

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफ र सेनापति असिम मुनिरको आग्रहपछि दुई साताका लागि युद्धविराम गरिएको बताएका छन् । पाकिस्तानले यसअघि निरन्तर वार्ताको प्रयास गर्दै आएको थियो । अमेरिकाको तर्फबाट इस्लामावादले तेहरानलाई १५ बुँदे वार्ताको योजना पठाएको थियो । 

तर तेहरानले यसलाई स्विकारेन । बरु, १० बुँदे फरक योजना पठायो । राष्ट्रपति ट्रम्पले सरिफ र मुनिरको समन्वयमा अहिले यही योजनाका आधारमा युद्धविराम गरिएको बताएका छन् । तर, यसमा हेरफेर हुने र यसपटक इरानले वार्ताको टुंगो नलगाए ठूलो हवाई आक्रमण गर्ने चेतावनी पनि दिएका छन् ।  

मुनिरले पछिल्ला दुई दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्वका लागि अमेरिकाका विशेष दूत स्टिभ विटकफ र इरानका विदेशमन्‍त्री अब्बास अराग्चीसँग संवाद गरिरहेका थिए । 

पाकिस्तानले यसअघि मार्चको अन्त्यमा साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरुसँग इस्लामावादमा वार्ताको पहलका लागि छलफल चलाएको थियो ।

यस वार्ताका लागि तेहरानलाई सहमत गराउने काम चीनले गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँग स्रोतले बनाएको छ । तेहरान चीनको सबैभन्दा ठूलो व्यापार साझेदार हो । इरानीहरुलाई वार्तामा बस्नका लागि चीनले नै सल्लाह दिएको नाम नबताउने शर्तमा दुई अधिकारीहरुले एपीसँग बताए ।

बेइजिङले आफ्नो प्रभाव उपयोग गर्नका लागि पाकिस्तान, टर्की र इजिप्टका अधिकारीहरुसँग मध्यस्थताको भूमिका खेलेको एक अधिकारीले बताए । यस विषयमा एपीले चिनियाँ विदेश मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ आएन ।

यसअघि मंगलबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले यस विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा यस युद्धले पारेको प्रभाव चिन्ताजनक रहेको बताएकी थिइन् । हुनै नहुने यो युद्धलाई अब चाडों रोक्नका लागि सबै पक्ष गम्भीर हुन जरुरी छ,’ उनले भनेकी थिइन् । 

२८ फेब्रुअरीदेखि सुरु भएको युद्ध बुधबारबाट २ साताका लागि रोकिएको छ । युद्धका दौरान इरानका सर्वोच्च नेता आयतुल्लाह खानेमेइसहित ठूलो संख्यामा अधिकारीहरु मारिएका थिए । इरानमा मृतकको संख्या १९ सय नाघिसकेको इरानी अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले शुक्रबार वार्ताका लागि इस्लामावादमा आउन अमेरिका र इरानलाई आव्हान गरेका छन् । 

अन्वेषण

Link copied successfully