विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूड १२.८८% ले घटेर ९५.१२ डलर प्रतिब्यारेलमा पुगेको छ ।
काठमाडौँ — राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताको युद्धविराममा सहमति जनाएपछि कच्चा तेलको मूल्य घटेको छ ।
सहमतिसँगै हर्मुज जलघाँटीबाट तेलका ट्यांकरहरु आवतजावत हुने आशा बढेको छ ।
तर विश्लेषकहरूले धेरै प्रश्नहरू अझै पनि बाँकी रहेको बताएका छन् । विश्वको लगभग २०% तेल जाने स्ट्रेटको प्रभावकारी नाकाबन्दीमा यस सहमतिले ल्याउने परिवर्तन र युद्धविरामले युद्धको दीर्घकालीन अन्त्य गर्ने विषय अझै अन्यौलमै छ ।
विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूड १२.८८% ले घटेर ९५.१२ डलर प्रतिब्यारेलमा पुगेको छ । अमेरिकी कच्चा तेलको भाउ केही घण्टापछि १५% भन्दा बढीले घटेर प्रति ब्यारेल ९५ डलरभन्दा कममा पुग्यो ।
यो उल्लेख कमी हो । तर युद्ध सुरु हुनुभन्दा अघि फेब्रुअरी २७ मा भएको ६७.०२ को दरभन्दा अझै धेरै माथि छ । यसैबीच, अमेरिकी स्टक फ्युचर्स र एसियाली बजारहरू उकालो लागेका छन् ।
‘बजार राम्रो समाचार प्राप्त गर्न उत्सुक छ । तर हर्मुजको जलघाँटी पूर्ण रूपमा खुल्छ कि भनेर हेर्न बाँकी छ,’ र्यापिडन इनर्जी ग्रुपका संस्थापक र अध्यक्ष बब म्याकनालीले सीएनएनलाई भने ।
ट्रम्पले सामाजिक सञ्जालमा खुशी मनाइरहँदा, इरानले युद्धविराम अस्थायी मात्र भएको जनाएको छ ।
‘यो युद्धको अन्त्य होइन । तर सबै सैन्य शाखाहरूले सर्वोच्च नेताको आदेश पालना गर्नुपर्छ र आफ्नो गोलीबारी बन्द गर्नुपर्छ,’ सरकारी समाचार च्यानल आईआरआईबीमा वाचन गरिएको विज्ञप्तिमा भनिएको छ ।
