हंगेरीको बुडापेस्टमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलन गर्दै ट्रम्पले तोकेको समयसीमाभित्र इरानले कुनै न कुनै प्रतिक्रिया दिने विश्वास रहेको बताए ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा इतिहासकै सबैभन्दा कठोर आक्रमण हुने चेतावनी दिएका छन् । ‘एउटा पूरा सभ्यता आज राति मर्नेछ । कहिल्यै फर्कनेछैन । म यस्तो होस् भन्ने चाहन्न । तर सायद हुनेछ ।’
उनले लेखेका छन्, ‘आज हामी विश्वको लामो र जटिल इतिहासको एउटा महत्वपूर्ण क्षणमा छौं । ४७ वर्षको शोषण, भ्रस्टाचार र मृत्यु अन्त्य हुनेछ । ईश्वरले ईरानका महान् जनताको रक्षा गरुन् ।’
यसअघि ट्रम्पले पूर्वीय समय मंगलबार राति ८ (नेपाली समय बुधबार बिहान ५ः४५) बजेभित्र हर्मुजको जलघाँटी खोल्न इरानलाई चेतावनी दिएका थिए । उक्त समयसीमाभित्र जलघाँटी नखुले इरानका ऊर्जा पूर्वाधार र पुलहरुमा आक्रमण गरिने उनको धम्की थियो ।
हंगेरीको बुडापेस्टमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलन गर्दै ट्रम्पले तोकेको समयसीमाभित्र इरानले कुनै न कुनै प्रतिक्रिया दिने विश्वास रहेको बताए । उनले इरान सहमतिमा आउने संभावना कायमै रहेको बताए ।
‘उनीहरु स्मार्ट छन् भन्ने मेरो आशा छ,’ भान्सले भने,‘अमेरिकाले इरानका सैनिकलाई परास्त गरिसकेको छ । र, इरानले अहिले हर्मुज बन्द गरेर विश्वलाई सकेसम्म धेरै आर्थिक दुःख दिन खोजको छ,’ उनले भने,‘मलाई विश्वास छ । राति ८ बजेको समयसीमाभित्र नकारात्मक वा सकारात्मक प्रतिक्रिया आउनेछ ।’
मंगलबार कासानमा रेलवे पुल, मस्हादमा रेल स्टेशन र ताबरिज नजिकको हाइवेमा एउटा पुलमाथि शृंखलावद्ध आक्रमण भएको इरानी अधिकारीहरुले बताएका छन् । तर, इजरायल र अमेरिकाले यसको जिम्मेवारी लिएका छैनन् ।
इजरायलले इरानका जनतालाई रेलमा यात्रा नगर्न चेतावनी दिएको छ । रेलमा कुनै पनि समय आक्रमण हुनसक्ने इजरायलको चेतावनी छ । मंगलबार अमेरिकाले इरानको खार्ग टापुमा पनि आक्रमण गरेको छ । ह्वाइटहाउसका एक अधिकारीले एपी समाचार एजेन्सीसँग यसको पुष्टि गरेका हुन् ।
ती अधिकारीका अनुसार इरानको मुख्य तेल निर्यात टर्मिनल खार्गमा सैनिक ब्यारेकहरुलाई आक्रमण गरिएपनि तेल प्रशोधन गृहमा आक्रमण गरिएको छैन ।
मंगलबारै इरानका राष्ट्रपति मसूद पेजेश्यिकनले आफुसहित १ करोड ४० लाख इरानी जनताले युद्धमा स्वयंम्सेवकको काम गरिरहेको बताए । उनले ज्यान गुमाउनका लागि यी सबै जनता तयार रहेको बताए । इरानमा झन्डै ९ करोड जनसंख्या छ ।
इरानमा मृतकको संंख्या १९ सय नाघिसकेको छ । इरानी अधिकारीहरुले लामो समयदेखि मृतकको संख्या अपडेट गरेका छैनन् । उता, लेबनानमा मृतकको संख्या १४ सय पुगेको छ । इरान र लेबनानमा दशौं लाख मानिस बिस्थापित भएका छन् ।
