अमेरिकाले यसरी जोगायो एफ–१५ युद्धविमानका पाइलट

शनिबार राति स्पेशल फोर्सले उद्धार गर्नुअघिसम्म २४ घण्टाभन्दा लामो समय घाइते रहेका ती पाइलटले इरानको पहाडमा बिताए ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

This is how the US saved F-15 fighter pilots

काठमाडौँ — शुक्रबार दुर्घटनामा परेको एफ–१५ विमानमा दुईजना पाइलटलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार एक पाइलटलाई दुर्घटना लगत्तै उद्धार गरिएको थियो । अर्का पाइलटको उद्धार शनिबार राति भएको हो । 

अमेरिकी सञ्चारमाध्यम एक्सियोससँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस उद्धार अपरेशनका विषयमा कुराकानी गरेका छन् । उनका अनुसार दोस्रो पाइलटलाई उद्धार गर्नका लागि अमेरिकाले इरानमा अस्थायी ब्यारेक नै खडा गरेको थियो ।

अमेरिकी सैनिकहरुलाई ती पाइलटले रेडियो सन्देश पठाएका थिए । ‘अमेरिकी सैनिकको रेडियो सेटमा उनकी बसेको ठाउँका विषयमा सन्देश आइरहेको थियो । तर, सुरुमा अफिसरहरुलाई उनी इरानको बन्दी भइसकेको र इरानीहरुले थप सैनिकलाई कब्जामा लिनका लागि यो सन्देश पठाएको आशंका भयो,’ ट्रम्पले भने । 

‘रेडियो सन्देशमा ईश्वरको नाममा भनिएजस्तो आवाज थियो । यस्तो भाषा प्रायः मुस्लिमले प्रयोग गर्छन्,’ उनले थपे,‘तर पाइटललाई चिन्नेहरुले उनी धार्मिक व्यक्ति रहेको व्यहोरा अफिसरलाई जानकारी गराए ।’

शनिबार राति स्पेशल फोर्सले उद्धार गर्नुअघिसम्म २४ घण्टाभन्दा लामो समय घाइते रहेका ती पाइलटले इरानको पहाडमा बिताए । झन्डै २ सय सैनिक यस मिशनमा खटिएको ट्रम्पले बताएका छन् । 

इरानले ती पाइलटलाई पक्राउ गर्नका लागि ठूलो प्रयत्न गरेको थियो । उनलाई कब्जा गर्ने जोकोहीलाई पुरस्कार दिइने घोषणा पनि इरान सरकारले गरेको थियो ।

शुक्रबार उद्धार गरिएको पाइलट र सोमबार उद्धार गरिएका पाइलट केही माइल्सको फरकमा खसेको अमेरिकी सैनिकहरुले बताए । अमेरिकी सैन्य अधिकारीहरुका अनुसार उनीहरु आसपास सयौंको संख्यामा इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्स (आईआरजिसी) सैनिकहरु थिए ।

यी दुबै पाइलटलाई जोगाउने क्रममा इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले थोरै सहयोग गरेको बताएका छन् । एक अधिकारी सुरक्षा अधिकारीले यस अपरेशनका क्रममा पाइलट खसेको ठाउँका विषयमा इजरायलले कुनै सुचना नदिएको बताए । तर, उनीहरुले मैदानको सामान्य अवस्थाबारे जानकारी दिएको बताए । त्यसैगरी, आइडिएफल अवरोध सिर्जना गर्नका लागिे एक स्थानमा आक्रमण पनि गरेको थियो । जसकारण, इरानी फौज घटनास्थलमा आउन पाएन । 

‘उनीहरु राम्रा साझेदार हुन् । उनीहरु महान् र बहादूर जनता हुन् । हामी ठूलो दाजु र उनीहरु सानो भाईजस्ता हुन्,’ ट्रम्पले इजरायलबारे भने ।

कान्तिपुर

Link copied successfully