ऊर्जा पूर्वाधार र पुल आक्रमण गर्ने ट्रम्पको धम्कीको अमेरिकामा विरोध

‘नागरिक पूर्वाधारमा बम विस्फोट गर्नु युद्ध अपराध हो, र यसको विरुद्धमा बोल्ने समय अहिले नै हो,’ हवाईका सिनेटर ब्रायन स्काट्जले सामाजिक सञ्जालमा लेखे ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Protests in the US over Trump's threat to attack energy infrastructure and bridges

काठमाडौँ —  अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको विरोध गरेका छन् । उनले अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेभित्र हर्मुज जलघाँटी नखोले इरानका ऊर्जा केन्द्र र पुलहरु सबै ध्वस्त गरिदिने चेतावनी सामाजिक सञ्जाल ट्रुथमार्फत दिएका थिए। उनले इरानलाई नर्क बनाइदिने बताएका थिए।

ट्रम्पको यस अभिव्यक्तिको विरोध गर्दै डेमोक्रेटिक पार्टीका तल्लो सदनका सांसद् जिम म्याकगभर्नले अन्तर्राष्ट्रिय कानुनलाई अवमुल्य गर्न नहुने बताए । जब अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय कानूनलाई कमजोर बनाउँ, हामी अरूलाई पनि त्यसै गर्न उक्साइरहेका हुन्छौं । यसले हामी सबैलाई असुरक्षित बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखे ।

उनले ट्रम्पका धम्कीहरु अविचलित मानसिकताको खतरनाक उपज रहेको बताए । यो मानसिक रोग हो । राष्ट्रपतिले मद्दत लिनु पर्छ,’ उनले भने ।

माथिल्लो सदन सिनेटका सदस्यहरुले पनि यसको विरोध गरेका छन् । म्यासाचुसेट्सका सिनेटर एडवर्ड मार्कीले भने, ‘युद्ध अपराधको धम्की दिने ट्वीटले हर्मुजको जलघाँटी खोल्न सक्दैन ।उनले इरानसँग वार्ता गरेर युद्ध अन्त्य र महागी नियन्त्रण गर्न आग्रह गरे ।

कनेक्टिकटका सिनेटर क्रिस मर्फीले ट्रम्पको योजनाबद्ध कार्यहरूलाई स्पष्ट युद्ध अपराधको रूपमा वर्णन गरे । राष्ट्रपतिलाई यस्ता अमानवीय काममा लगाम लगाउन उनले रिपब्लिकन नेताहरूलाई आग्रह गरे । रिपब्लिकन नेताहरूले उनलाई रोक्न आवश्यक छ । पुल र ऊर्जा केन्द्र उडाएर र निर्दोष इरानीहरूलाई मारेर जलघाँटी फेरि खुल्ने छैन । यो पनि स्पष्ट युद्ध अपराध हो,’ उनले भने ।

मिशिगनकी सिनेटर  एलिसा स्लटकिनले भनिन्, ‘इरानमा अन्धाधुन्ध नागरिकहरूलाई मार्नु र पुल र ऊर्जा केन्द्रजस्ता नागरिक पूर्वाधारहरू नष्ट गर्नु गैरजिम्मेवारपूर्ण र गलत दुवै हो । विशेष गरी, जब राष्ट्रपतिले यो युद्ध इरानी जनतालाई सहयोग गर्नका लागि हो भनेका थिए ।ट्रम्प कार्यकालमा विदेशमा रहेका अमेरिकीहरु असुरक्षित भइरहेको उनले बताइन् ।

हवाईका सिनेटर ब्रायन स्काट्जले मानिसहरूलाई ट्रम्पको योजनाको विरोध गर्न आग्रह गरे । नागरिक पूर्वाधारमा बम विस्फोट गर्नु युद्ध अपराध हो, र यसको विरुद्धमा बोल्ने समय अहिले नै हो,’ उनले सामाजिक सञ्जालमा लेखे ।

कान्तिपुर

Link copied successfully