इजरायलमा घट्दैछ नेतान्याहुप्रतिको भरोसा

इरान युद्ध सुरु भएको ३७ दिन बितिसकेपनि अहिलेसम्म अन्त्यको छाँट देखिएको छैन ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Trust in Netanyahu is declining in Israel

काठमाडौँ — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग मिलेर इरानमा आक्रमण गर्ने योजना बनाउँदा इजरायलका जनताले त्यसको ठूलो समर्थन गरेका थिए । यस योजनामा देशका सबै पक्ष-विपक्षमा राखेका दलहरूले समर्थन गरे । 

२८ फेब्रुअरीमा इरानमाथि आक्रमण भएपछिका प्रारम्भिक सर्वेक्षणहरुले नेतान्याहुको लोकप्रियता बढेको देखाएको थियो । 

तर युद्ध लम्बिदैं जाँदा नेतान्याहुको प्रभाव पनि कम हुँदै गएको छ । इजरायलका विपक्षी दलका नेता यैर लापिडले नेतान्याहु रणनीतिक निर्णय गर्न असफल भएको बताएका छन् । ‘उनी विजय हासिल गर्न असफल भए । उनी असक्षम छन्,’ लापिडले भने । 

इजरायली इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिज (आईएनएसएस) का अनुसार युद्ध सुरु हुँदा अमेरिका–इजरायलले इरानको सत्ता समाप्त पार्छन् भन्ने ७० प्रतिशतको विश्वास थियो ।

अहिले ४३ दशमलव ५ प्रतिशतलाई मात्रै यस्तो विश्वास छ । इरानको आणविक कार्यक्रमलाई ठूलो परिमाणमा ध्वस्त गर्नसक्ने इजरायलको सामथ्र्यप्रति ४८ प्रतिशतलाई मात्रै विश्वास छ । जबकी, युद्ध सुरु हुनअघि ६२ प्रतिशतले यस्तो विश्वास गरेका थिए । 

इजरायलीहरु अहिले हिजबुल्लाहलाई निशस्त्र गर्न सकिन्छ वा सकिदैंन भन्ने विषयमा समेत विभाजित छन् । गत सातामात्रै नेतान्याहुको गठबन्धनले २०२६ का लागि विवादस्पद बजेट पारित गरेको छ ।

यसले अक्टुबरसम्मका लागि उनलाई सत्तामा बस्ने बाटो खोल्यो । अक्टुबरमा इजरायलमा नयाँ निर्वाचन हुने तय छ ।

निर्वाचनको पूर्वसन्ध्यामा नेतान्याहुले दक्षिणपन्थी राजनीतिक सहयोगीहरुका गतिविधिमा फाइदा पुग्नेगरी ठूलो बजेट बिनियोजन गरेका छन् । शिक्षा र स्वास्थ्यमा बजेट घटाएका छन् । अर्कोतर्फ कर बढाएका छन् । 

इरान युद्ध सुरु भएको ३७ दिन बितिसकेपनि अहिलेसम्म अन्त्यको छाँट देखिएको छैन । यस युद्धले इरान र इजरायलमात्रै नभएर तटस्थ बसेका पश्चिम एसियाका खाडी देशमा पनि ठूलो संकट निम्त्याएको छ ।

इरानले ती देशमा रहेका सैन्य पूर्वाधार, ऊर्जा केन्द्र र भवनहरुमा आक्रमण गरिरहेको छ । त्यसैगरी, हर्मुजको जलघाँटी बन्दा हुँदा इन्धनको वैश्विक अभाव सिर्जना भएको छ ।

पछिल्लो रिपोर्टअनुसार इरानमा २ हजार ७६, लेबनानमा १२ सय ४५ र इजरायलमा २४ जनाले ज्यान गुमाइसकेका छन् । इरानमा २६  हजार ५ सय, लेबनानमा ४ हजार ४० र इजरायलमा ६ हजार ५ सय ९४ जना घाइते छन् ।

पश्चिम एशियाका अन्य देशमा पनि मृतक तथा घाइते हुनेको संख्या ठूलो छ । अमेरिकाका १३ सैनिकले ज्यान गुमाएका छन् भने २ सय घाइते छन् । 

इरानले खसालेको अमेरिकी युद्धविमानका चालकको उद्धार  

इरानले खसालेको  अमेरिकी युद्ध विमान एफ–१९ ई इगल फाइटर जेटका दुइवटै चालकको उद्धार गरिएको छ । यसअघि एक चालकको शुक्रबार विमान खस्नासाथ उद्धार भएको थियो । अर्का चालक भने लामो समय गायब रहे । 

बेपत्ता रहेका ती चालकलाई पनि सेनाले खोजेर उद्धार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । यस अपरेशनलाई लिएर बिस्तृत विवरण अमेरिकाले सार्वजनिक गसिकेको छैन । 

अहिले दुबै सैनिक चालक उपचारमा रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । उद्धारका कार्यका लागि दर्जनौं अमेरिकी विमान प्रयोग गरिएको थियो । यी विमानले घातक हतियार बोकेका थिए ।

‘उद्धारका क्रममा कोही पनि अमेरिकी सैनिक घाइते वा मृत भएनन्,’ ट्रम्पले भने । यसअघि उनले अमेरिकी सैनिकहरुले ती चालक दुर्घटनामा परेको स्थानमा चौबिसै घण्टा निगरानी गरिरहेको बताएका थिए । इरानको रिभोलुशनरी गार्ड्स कप्र्स (आईआरजीसी) ले ट्रम्पको भनाई खण्डन गरेको छ ।

उद्धारका लागि आएको टोलीका दुईवटा सी–१३० विमानलाई खसालिएको उसको दाबी छ । त्यस्तै दक्षिण इसाहानमा अमेरिकी ब्ल्याक हाक हेलिकप्टर पनि खसालिएको दाबी उसले गरेको छ । यसको स्वतन्‍त्र पुष्टि भने भएको छैन । 

युद्ध जारी रहदाँ अमेरिकी सैनिक बन्धक बनाउनुलाई इरानले आफ्नो शक्तिसँग जोडेको थियो । उनीबारेको सुचना दिने व्यक्तिलाई पुरस्कार दिइने घोषणा समेत इरानले गरेको थियो ।

सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक एलेक्स प्लिटसासले अमेरिकी सेनाको इतिहासमै साहसिक उद्धारकार्यमध्ये यो एक रहेको बताए ।

यसअघि सन् १९९५ मा यसरी एक एफ–१६ विमानका चालकलाई अमेरिकाले उद्धार गरेको थियो । त्यसबेला सर्बियाली फौजले बोस्नियामा विमान खसालेपछि बाँचेका चालक स्कट ओ ग्राडी ६ दिनसम्म जंगलमा लुकेर बसेका थिए ।

प्याराच्युटमार्फत सुरक्षित अवतरण गरेको भएपनि मैदानमा उनले विपक्षी फौजमात्रै देखेका थिए । 

६ दिने अवधिमा विपक्षी फौजसँग लुकेर कमिला र घाँसपात चपाउँदै बाँचेको उनले स्मरण गरेका छन् । यस अवधिमा उनले निरन्तर आफ्नो रेडियो सेटबाट उद्धारका लागि सहयोग माग्ने असफल प्रयास गरेका थिए ।

छैटौं रात उनले अर्को अमेरिकी युद्ध विमानको सिंग्नल पाए । लगत्तै अमेरिकी जलसेनाका चारवटा हेलिकोप्टरले गएर उनलाई उद्धार गरेका थिए । 

कान्तिपुर

Link copied successfully