अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार तेहरानलाई सम्झौता गर्न वा जलघाँटीको नियन्त्रण त्याग्नका लागि ४८ घण्टाको समय दिइएको बताएका थिए ।
काठमाडौँ — इरानले इराकी जहाजहरू हर्मुजको जलघाँटी पार गर्न स्वतन्त्र रहेको घोषणा गरेको छ । इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले शनिबार एक विज्ञप्तिमार्फत इराकको सार्वभौमसत्तालाई सधैं सम्मान गर्ने बतायो ।
'हामी इराकको राष्ट्रिय सार्वभौमिकताप्रति गहिरो सम्मान गर्छौं,' अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले सैनिक मुख्यालयलाई उद्रृत गर्दै भनेको छ, 'तपाईं अमेरिकी कब्जाको घाउ बोकेको राष्ट्र हुनुहुन्छ । अमेरिकाविरुद्धको तपाईहरुको संघर्ष प्रशंसाको योग्य छ ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार तेहरानलाई सम्झौता गर्न वा जलघाँटीको नियन्त्रण त्याग्नका लागि ४८ घण्टाको समय दिइएको बताएका थिए । उनले सामाजिक सञ्जाल ट्रुथमा यस्तो चेतावनी दिएका हुन् । ४८ घण्टा भित्र जलघाँटी नखोले इरानलाई नर्क बताइदिने उनको चेतावनी छ ।
इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले ट्रम्पको मागलाई अस्वीकार गरेको छ । उनको धम्की कारयतापूर्ण र मुर्ख रहेको सैन्य मुख्यालयले जनाएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेदेखि नै हर्मुजमा अवरोध छ । यस जलघाँटी हुँदै विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ग्यास बाहिरिन्छ ।
भर्खरै इरानले इजरायल–अमेरिका र उसका सहयोगी देशबाहेक अन्य देशलाई हर्मुजबाट बाहिरिन दिने घोषणा गरेको छ । तर, यसका लागि रिभोलुशनरी गार्ड्स कप्र्ससँग अनुमति लिनुपर्छ ।
इरानले यस जलघाँटीबाट बाहिरिने जहाजसँग टोल ट्याक्स उठाउने निर्णय पनि गरेको छ । संसदीय सुरक्षा समितिबाट यो निर्णय पारित भइसकेको छ ।
लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार, गत हप्ता हर्मुजबाट ५३ वटा जहाज बाहिरिएका थिए । यो संख्या युद्ध सुरु भएदेखिकै सबैभन्दा धेरै हो ।
शुक्रबार, एक फ्रान्सेली कन्टेनर जहाज र एक जापानी स्वामित्वको ट्याङ्करले हर्मुज पार गरे ।
