४५ वर्षमुनीका जर्मन युवाले  विदेश बस्न सेनाको स्विकृति लिनुपर्ने

जर्मनीमा सन् २०११ सम्म अनिवार्य सैन्य सेवा आवश्यक थियो

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

German youth under 45 must obtain military approval to live abroad

काठमाडौँ — जर्मनीमा स्वेच्छिक सैन्य सेवा सम्बन्धी नयाँ कानुनमा १७ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरुले तीन महिनाभन्दा बढी विदेश बस्नुपरेमा सेनाबाट स्विकृति लिनुपर्ने उल्लेख छ ।

रुसको संभावित आक्रामक व्यवहारलाई ध्यानमा राखेर जर्मनीले १ जनवरीदेखि सैन्य सेवा आधुनिकीकरण ऐन लागु गरेको हो । 

जर्मनीको रक्षा मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग यस्तो स्विकृति लिनुपर्ने विषय कानुनमा रहेको पुष्टि गरे । तर, यस कानुन उल्लंघन गर्दा हुने सजायबारे केही पनि खुलेको छैन । 

रक्षा मन्त्रालयका प्रवक्ताले यो नियमन भरपर्दो र अर्थपूर्ण सैन्य दर्ता प्रणाली सुनिश्चित गर्न लागु गरिएको बताए । उनले थपे, ‘आपतकालीन अवस्थामा, हामीले लामो समयसम्म विदेशमा को बसिरहेको हुन सक्छ भनेर जान्नै पर्छ ।’

१९५६ को जर्मन सेनाको भर्ती ऐनमा टेकेर यो नयाँ कानुन बनाइएको हो । पटक–पटक संशोधन भएको यस ऐनअनुसार जर्मनीमा सन् २०११ सम्म अनिवार्य सैन्य सेवा आवश्यक थियो ।

तत्कालीन चान्सलर एन्जेला मर्केलको नेतृत्वमा यसलाई हटाइयो । तर अहिले रुसी हस्तक्षेपको खतरापछि जर्मनीले फेरि कानुन कडा बनाउन लागेको हो । 

सैन्य सेवा आधुनिकीकरण ऐनले २०३५ सम्ममा सक्रिय कर्मचारीहरूको संख्या लगभग १८०,००० बाट २६०,००० पुर्‍याउने योजना बनाएको छ ।

डिसेम्बरमा, जर्मन संसदले स्वेच्छिक सैन्य सेवा सुरु गर्ने पक्षमा मतदान गर्‍यो, जसको अर्थ जनवरीदेखि १८ वर्षमाथिका सबै युवाहरूलाई सशस्त्र सेनामा भर्ती हुन इच्छुक छन् कि छैनन् भनेर प्रश्नावली पठाइनेछ ।

जुलाई २०२७ देखि, युद्ध सुरु भएमा सेवाको लागि योग्य छन् कि छैनन् भनेर निर्धारण गर्न उनीहरूले फिटनेस परीक्षा पनि दिनुपर्नेछ । 

महिलाहरूले पनि सैन्य सेवाको लागि स्वयंसेवा गर्न सक्छन् । तर जर्मनीको संविधानअन्तर्गत उनीहरुलाई सेवाका लागि बाध्य गरिएको छैन ।

अहिलेका लागि स्वेच्छिक सेवा भएपनि अवस्था बिग्रिएमा वा स्वयंम्सेवकको संख्या अपेक्षा गरेभन्दा कम देखिएमा सरकारले अनिवार्य सैन्य सेवा योजना  अघि बढाउनसक्छन् । 

जर्मनीमा धेरै युवाहरुले यसको विरोध गरेका छन् । उनीहरुले यसविरुद्ध प्रदर्शन गर्ने योजना बनाएका छन् ।

‘हामी हाम्रो जीवनको आधा वर्ष ब्यारेकमा थुनेर, ड्रिल र अनुशासनको तालिम लिएर र मार्न सिकेर बिताउन चाहँदैनौं,’ एक विरोधी युवाले फेसबुकमा लेखेका छन् । 

अन्य युरोपेली देशहरू जस्तै जर्मनीले १९९० को दशकको शान्तिकालका वर्षहरूमा आफ्नो सशस्त्र सेना घटाएको थियो । शीतयुद्धको समयमा यसको सेना लगभग पाँच लाख थियो । 

कान्तिपुर

Link copied successfully