इरानले इजरायलमा मध्यरातिदेखि नै मिसाइल प्रहार गर्दा चारजना घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ । घाइते हुनेमा दुईजना शिशु पनि छन् ।
काठमाडौँ — इरानको सेना ध्वस्त भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ । सैन्य मुख्यालय खातम–अल–अन्बियाले इरानको सैन्य सामर्थ्यका विषयमा इरान र इजरायलको बुझाई अपूर्ण रहेको बताएको छ ।
‘इरानको सैन्य शक्तिको बारेमा अमेरिका र इजरायलको बुझाइ अपूर्ण छ । शत्रुहरूले आत्मसमर्पण नगरेसम्म हामी युद्ध जारी राख्नेछौं,’ मुख्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ हाम्रो विशाल र रणनीतिक क्षमताहरूको बारेमा उनीहरुलाई केही थाहा छैन ।’
‘हाम्रा रणनीतिक मिसाइल उत्पादन केन्द्रहरू, लामो दूरीको आक्रमणकारी र पिनपोइन्ट ड्रोनहरू, आधुनिक वायु रक्षा र इलेक्ट्रोनिक युद्ध प्रणालीहरू, र विशेष उपकरणहरू नष्ट गरेको आशा नगर्नुहोस्,’ तास्निम न्युज एजेन्सीसँग मुख्यालये प्रवक्ताले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सेना ध्वस्त भइसकेको दाबी गरेको केही घण्टाभित्रै इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ । त्यसैगरी लेबनानबाट शृंखलावद्ध रुपमा रकेट आक्रमण भएको छ ।
इजरायलको च्यानल १२ का अनुसार उत्तरी इजरायलको ग्यालिली क्षेत्रको बस्तीबाट धुवाँको सानो बादल निस्किरहेको छ । लेबनानबाट केही मिनेटमै ३० भन्दा बढी रकेट प्रहार गरिएको उक्त च्यानलले जनाएको छ ।
इरानले इजरायलमा मध्यरातिदेखि नै मिसाइल प्रहार गर्दा चारजना घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ । घाइते हुनेमा दुईजना शिशु पनि छन् ।
अमेरिकी–इजरायलले पनि इरानमा आक्रमण जारी राखेका छन् । लारेस्तान र मियानेहमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ । विमानस्थल र नजिकका भवनमा क्षति पुगेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार प्राप्त गर्ने क्षमता घटिसकेको दाबी गरेका थिए । ‘हामीले उनीहरूलाई १५–२० वर्ष पछाडि धकेल्यौं । उनीहरूसँग अब न जलसेना छ, न सेना छ, न वायुसेना छ ।’ उनले भनेका थिए ।
