ट्रम्पको दबाबकारी नीतिले मानवीय संकटमा फस्दैछ क्युवा

सन् २०१५ मा महाभूकम्पको समय क्युवाले नेपालमा पनि चिकित्सक, नर्स र प्राविधिकसहित ४९ जनाको टोली पठाएको थियो । उनीहरुले किर्तिपुरमा आपतकालीन अस्पताल खडा गरेर बिरामीको उपचार गरेका थिए ।

चैत्र १८, २०८२

अन्वेषण अधिकारी

Trump's coercive policies are plunging Cuba into a humanitarian crisis

काठमाडौँ — क्युवाको स्थानीय समयअनुसार मंगलबार बिहान ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको रूसी अनातोली कोलोडकिन जहाज राजधानी हभानाको पूर्वमा रहेको माटान्जास बन्दरगाहमा आइपुग्यो ।

जनवरीदेखि चरम इन्धन संकट व्यहोरिरहेको क्युबाका लागि यो निकै ठूलो राहत थियो । यस कच्चा तेललाई प्रशोधन गर्दा कम्तिमा १० दिन क्युवाको दैनिक माग धानिने विज्ञहरुले बताएका छन् ।

इन्धन अभावले घर–घरमा बिजुली गएको, खाद्यान्न आपुर्ति गर्ने गाडीहरु सडकै रोकिएको, शहरबाट फोहोर उठाउन नसकेको र लोडसेडिङले अस्पताल सञ्चालनमा समस्या देखिएको अवस्थामा क्युवाका लागि थोरै दिनको भरथेग पनि ठूलै राहत हो ।

अमेरिकाले क्युवाको मानवीय अवस्थालाई ख्यालमा राखेर यी रुसी जहाजलाई क्यारेबियन सागरमा आउन दिइएको बताएको छ । क्युवामा ट्रम्पकै कारण पछिल्लो मानवीय संकट सुरु भएको हो मान्‍न अमेरिकी विदेशमन्त्री मार्को रूबियोसहितका अधिकारी तयार छैनन् । 

‘क्युवाको आर्थिक प्रणालीले काम गरिरहेको छैन । सरकार नफेरेसम्म यो प्रणाली फेरिन्न,’ अलजजिरासँगको ३० मार्चको अन्तवार्तामा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भने,‘त्यहाँ चलिरहेको लोडसेडिङमा हाम्रो कुनै हात छैन । गत वर्ष पनि त्यहाँ विद्युत आपुर्ति यसरी नै बन्द भएको थियो । उनीहरुको पावर ग्रिडमा १९५० को दशककै उपकरण छन् । यसलाई कहिल्यै मर्मत वा अपग्रेड गर्ने काम भएन ।’ 

रुबियो आफैं क्युवेली मुलका हुन् । तानाशाह फुल्गेन्सियो बाटिस्टाको शासनकालमा १९५६ मा उनका बाबुआमा अमेरिका आएका थिए । त्यसको दुई वर्ष ६ महिनापछि क्युवेली क्रान्तिले फिडेल क्यास्ट्रोलाई सत्तामा पुर्‍यायो । मियामीको फ्लोरिडामा १९७१ मा रुबियो जन्मिए । उनका धेरै आफन्तहरु कालान्तरमा अमेरिकामा शरण लिन आए ।

रुबियोले आफ्नो राजनीतिक करियरको सुरुवातदेखि नै क्युवाको कम्युनिष्ट सत्ताको विरोध गर्दै आएका छन् । उनले विदेशमन्त्री हुनअघि पनि क्युवामा अमेरिकाले शासन फेर्नुपर्ने आव्हान गरिरहेका थिए ।  सन् २०२१ मा एक अन्तर्वार्तामा उनले कम्युनिष्ट सत्ताका कारण आफ्ना बाबु–आमाले देश छाड्नुपरेको दाबी समेत गरेका थिए । यो दाबी झुठो रहेको पुष्टि वासिङटन पोस्टले गर्‍यो । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएयता आक्रामक विदेश नीति अपनाइरहेका छन् । अमेरिकी स्वार्थ नस्विकार्ने देशमाथि आर्थिक प्रतिबन्ध, नाकाबन्दी र सैन्य बल प्रयोग गर्नेसम्म‍को नीति उनले अख्तियार गरेका छन् । जसलाई ट्रम्प प्रशासनले 'अत्याधिक दबाब' अभियान भन्छ । 

यसमा रुबियोको ठूला साथ छ । अमेरिकाले अहिले इजरायलसँग मिलेर इरानविरुद्ध लडिरहेको छ ।

वार्ता चलिरहेकै बेला २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गर्ने निर्णय ट्रम्पले लिएका थिए । इरानको आणविक कार्यक्रम पूर्णत अन्त्य हुनुपर्ने र त्यहाँको सत्ता परिवर्तन गर्ने दाबी उनले गरेका छन् । 

यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदूरो र उनकी पत्नी सिलिया फ्लोरेस ३ जनवरीमा बेडरूमबाटै अमेरिकाको अपहरणमा परेका थिए ।

अहिले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेज अमेरिकाको इशारामा चल्न बाध्य छिन् ।  अमेरिकी स्वार्थविपरीत गए डेल्सीको सरकारले मदूरोभन्दा पनि  ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ट्रम्पले दिएका थिए ।

यतिमात्रै होइन, उनले भेनेजुएलाका तेल खानी अमेरिकाले अनिश्चितकालका लागि नियन्त्रणमा लिने र यहाँको कच्‍चा तेल विश्वबजारमा बेच्‍ने योजना पनि सार्वजनिक गरे ।

क्युवानिकट रहेका मदूरोको अपहरणको योजना बनाउन रुबियोको ठूलो भूमिका थियो । 

ट्रम्पले डेनमार्कको  स्वशासित टापू अधिग्रहण गर्ने योजना पनि अघि सारेका छन् । डेनमार्कले यस योजनालाई आफ्नो सार्वभौमिकताको अबमुल्यनका रूपमा निन्दा गरेको छ । इटली, फ्रान्स, जर्मनीलगायत युरोपेली देशहरुले पनि आपत्ति जनाएका छन् । 

भेनेजुएलामा मदूरो अपहरणमा पर्दा उक्त देशको सार्वभौमिकतामात्रै खलल परेन । क्युवा पनि समस्यामा पर्‍यो । १९६० देखि नै अमेरिकी नाकाबन्दी सहिरहेको क्युवाले पछिल्लो समय आफ्नो तेलको धेरैजसो परिमाण भेनेजुएलाबाटै ल्याउने गरेको थियो ।

त्यसको बदलामा क्युवाले आफ्नो देशबाट चिकित्सक र सैनिक पठाउन्थ्यों । ३ जनवरीमा मदूरोलाई आक्रमण गर्न गएका अमेरिकी सैनिकविरुद्ध लड्दा ३२ जना क्युवेली सैनिकले पनि ज्यान गुमाएका थिए । त्यस्तै, ठूलो संख्या घाइते थिए । 

११ जनवरीमा ट्रम्पले आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रुथमा लेखे , ‘क्युवा धेरै वर्षसम्म भेनेजुएलाको तेल र पैसामा बाँच्यो । बदलामा उसले पछिल्ला दुई तानाशाहलाई सुरक्षा सेवा पनि दियो । अब त्यस्तो हुनेछैन । भेनेजुएलासँग अब संसारकै शक्तिशाली अमेरिकी सेना छ । उसलाई अब ठगहरुको सुरक्षा चाहिदैंन । अब क्युवामा कुनै तेल र पैसा जाँदैन !’

राष्ट्रपति मदूरोको अपहरणपछि अमेरिकी सैन्य हस्तक्षेपबाट गुज्रिएको भेनेजुएलाले क्युवामा तेल दिन छाड्यो । मेक्सिकोबाट आएको तेलले थप केही दिन भरथेग गरेको थियो ।

२९ जनवरीमा ट्रम्पले क्युवामा इन्धन आपुर्ति गर्ने देशमाथि भन्सार शुल्क बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । यसपछि मेक्सिकोले पनि कडाई गर्‍यो । झन्डै १ करोड १० लाख जनसंख्या भएको क्युवा त्यसयता लगातार समस्यामा छ । 

क्यारेबियन टापु क्युवामा तेलको अभावमा बिजुली उत्पादन र यातायत ठप्प छ । मार्च महिनामा दुईपटक देशव्यापी रुपमा बिजुली गइसकेको छ । अस्पतालहरुले शल्यक्रिया घटाएका छन् । सार्वजनिक यातायातको संख्या घटाइएको छ ।

ग्यास अभावमा मानिसहरुले खाना पकाउन दाउराको प्रयोग गर्न थालेका छन् । राजधानी हभानामा मानिसहरुले १५ घण्टासम्मको लोडसेडिङ सामना गरिरहेका छन् । ग्रामिण इलाकामा लोडसेडिङ अवधि अझै बढी छ । 

संयुक्त राष्ट्रसंघले यी सबै  कार्यले मानवीय विध्वंश निम्त्याउनसक्ने बताएको छ । क्युवाको स्वास्थ्य प्रणाली विश्वमै उदाहरणीय मानिथ्यों, कोभिडकालमा यहाँका चिकित्सकले इटली, एन्डोरालगायत युरोपेली देशमै गएर सेवा दिएका थिए । तर अहिले विद्युत अभावमा यहाँ मेडिकल उपकरणहरु सञ्चालन गर्नसक्ने अवस्था छैन । 

‘यदी अहिलेकै अवस्था जारी रह्यो र देशको इन्धन भण्डार सकियो भने अवस्था धेरै खराब हुनेछ र मानिसहरु मर्नेछन्,’ क्युवाका लागि संयुक्त राष्ट्रसंघका संयोजक फ्रान्सिस्को पिक्होनले भने ।

क्युवामा अमेरिकाको दबाबले सत्ताधारी समस्यामा परेको भन्दै ट्रम्प दंग देखिन्छन् । ‘क्युवा असफल देश हो । उनीहरुसँग पैसा, तेल र केही पनि छैन । तर यो निकै सुन्दर टापु हो । मैले जीवनभर अमेरिका र क्युवाको बारेमा सुनें । मलाई लाग्छ क्युवा लिन पाउनु मेरा लागि ठूलो प्रतिष्ठा हुनेछ,’ १६ मार्चमा राष्ट्रपति कार्यालयमा ट्रम्पले भनेका थिए ।

क्युवाका राष्ट्रपति मिगुइल डियाज क्यानलले संभावित सैन्य हस्तक्षेपलाई रोकथाम गर्न आफ्नो देशले अमेरिकासँग वार्ता गरिरहेको बताएका थिए । 

२७ मार्चमा ट्रम्पले क्युवामा आक्रमण गर्न सकिने धारणा राखेका थिए । ‘मैले विश्वकै शक्तिशाली सेना बनाएको छु । यसको प्रयोग विरलै गर्छु, तर कहिलेकाँहि गर्नुपर्छ । अब क्युवामा हुनसक्ला ?’ उनले भनेका थिए । 

वार्ता प्रयास 

स्पेनिस उपनिवेश रहेको क्युवा अमेरिकाकै सहयोगमा स्वतन्त्र भएको थियो । १८९८–१९०२ सम्म अमेरिकाले क्युवामा स्पेनविरुद्ध स्वतन्त्रताको लडाइँ लड्यो ।

१९०६–१९०९ सम्म क्युवाको प्रशासन अमेरिकाले नै हाँकेको थियो । त्यसपछि १९५९ मा क्रान्ति हुनअघिसम्म दुई देशबीचको सम्बन्ध निकै राम्रो थियो । क्युवेली क्रान्तिले सैनिक तानाशाह फुल्गेन्सियो बाप्टिस्टालाई फालेर फिडेल क्यास्ट्रोको नेतृत्वमा कम्युनिष्ट सत्ता स्थापना गरेपछि दुई देशबीच दूरी बढ्यो ।

शितयुद्धको समय आफ्नो छिमेकमा कम्युनिष्ट सत्ता आएको अमेरिकालाई मन परेको थिएन ।  क्युवालाई आफ्नै नियन्त्रणमा राख्न अमेरिका चाहन्थ्यों । तर आफ्नो सार्वभौमसत्तालाई क्युवाले प्राथमिकतामा राख्यो । अर्कोतर्फ, अमेरिकी लगानीमा खुलेका चिनी उद्योग, तेल प्रशोधन गृह र बैंकहरुलाई राष्ट्रियकरण गर्ने फिडेल क्यास्ट्रोको नीतिले पनि अमेरिकालाई चिढ्याएको थियो ।

सन् १९६० देखि अमेरिकाले यहाँ नाकाबन्दी लगाइदियो । जो अहिलेसम्म पनि कायमै छ । आधुनिक विश्वमा कुनै एक देशले अर्को देशमाथि थोपरेको यो नै सबैभन्दा लामो नाकाबन्दी हो ।

अमेरिकी नाकाबन्दीले सिर्जना भएका आर्थिक चुनौतीविरुद्ध लड्न शितयुद्धकालमा सोभियत युनियन र १९९० पछि मेक्सिको, भेनेजुएलालगायत छिमेकीहरुसँग क्युवाले निकै राम्रो सम्बन्ध बनायो । विश्वमा अन्य देशले लडाँइमा सैनिक सहयोग गर्दा क्युवाले संसारभर प्राकृतिक विपद् र महामारीमा औषधीसहित चिकित्सक पठाउँछ ।

सन् २००५ मा स्थापना भएको हेनरी रिभ मेडिकल बिग्रेड क्युवाको सफ्ट पावर हो । आँधि, तुफान, महामारी, आपत्कालमा यस बिग्रेडका सदस्यहरुले विश्वका धेरै देशमा पुगेर सहयोग गरेका छन् ।

सन् २०१५ मा महाभूकम्पको समय क्युवाले नेपालमा पनि चिकित्सक, नर्स र प्राविधिकसहित ४९ जनाको टोली पठाएको थियो । उनीहरुले किर्तिपुरमा आपतकालीन अस्पताल खडा गरेर बिरामीको उपचार गरेका थिए । पश्चिम अफ्रिकामा इबोला महामारी र विश्वका विभिन्न देशमा कोभिड महामारीमा यस बिग्रेडका सदस्यले ज्यान जोखिममा राखेर बिरामीको सेवा गरे । 

यहीकारण क्युवाप्रति अमेरिकाकै सहयोगी देशहरुले समेत सद्भाव राख्ने गरेका छन् । क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा संयुक्त राष्ट्रसंघको जनसभामा लगातार ३३ औं वर्ष ९० प्रतिशतभन्दा धेरै देशले निन्दा प्रस्ताव पारित गरेका छन् ।

पछिल्लोपटक अक्टुबर २०२५ मा १ सय ६७ देशले निन्दा प्रस्तावको पक्षमा र अमेरिका, इजरायल र युक्रेनसहित केवल ७ देशले मात्रै विपक्षमा मत हालेका थिए । पर्यटकका लागि पनि क्युवा निकै सुरक्षित र सुन्दर गन्तव्य मानिन्छ ।

चिकित्सा शिक्षा र चिकित्सा पर्यटन क्युवाको अर्थतन्त्रको राम्रो स्रोत हो । तर, अहिलेको संकटले यी सबै बिथोलिदिएको छ । क्युवामा इन्धन अभावले आपतकालीनबाहेकका उडान बन्द भएको लामो समय भइसकेको छ । 

अहिले मिगुइल डियाज क्यानेल नेतृत्वको सरकारविरुद्ध प्रदर्शन पनि चलिरहेको छ । १४ मार्चमा मोरोनस्थित कम्युनिष्ट पार्टीको कार्यालयमा आगजनी भएको थियो । यसपछि सरकारले प्रदर्शनकारीहरुलाई धरपकड गर‍्‍यो । अमेरिकाको उक्साहटमा प्रदर्शन भएको सरकारको आरोप छ ।

अमेरिकाले वार्ता प्रयास पनि गरिरहेको छ । विदेशमन्त्री मार्को रुबियोसँग पूर्व राष्ट्रपति तथा क्युवाका सर्वोच्च नेता राहुल क्यास्ट्रोका नाति राहुलिटोले वार्ता गरिरहेको समाचार यसअघि अमेरिकी सञ्चारमाध्यम एक्सियोसमा प्रकाशित भएको थियो ।

राहुल क्यास्ट्रो राष्ट्रपति छँदा राहुलिटो उनका अंगरक्षक थिए । अमेरिकाले उनलाई राष्ट्रपति बनाएर क्युवामा सुधारका योजना लागु गर्न खोजेको चर्चा पनि अमेरिकी सञ्चारमाध्मयले गरेका छन् । ९६ वर्षका राहुल क्यास्ट्रोले राजनीति छाडेपनि उनलाई राजनीतिले पछ्याइरहेकै छ ।

क्युवाको राजनीतिमा प्रभावशाली र सर्वमान्य नेता भएकाले अमेरिकाले उनीनिकट व्यक्तिहरुसँग वार्ता गरिरहेको विज्ञहरु बताउँछन् ।

क्यास्ट्रो परिवारकै ओस्कार पेरेज ओलिभा फ्रागा तथा पूर्व उपप्रधानमन्त्री रोबर्टो मोरालेस ओजेडाको नाम अमेरिकी सञ्चारमाध्यमहरुले संभावित राष्ट्रपतिका रुपमा चर्चा गरेका छन् । क्युवामा क्रान्ति सफल भएपछि क्यास्ट्रो परिवारबाहिरबाट सर्वोच्च पदमा पुग्ने मिगुइल डियाज पहिलो व्यक्ति हुन् । उनी कम्युनिष्ट पार्टीको महासचिव समेत हुन् ।

२०१८ मा उनी राष्ट्रपति बन्नासाथ ट्रम्प प्रशासनले क्युवामाथि आर्थिक नाकाबन्दी थप कडा पारेको थियो । कोभिडकालमा क्युवामा आर्थिक संकटविरुद्ध आन्दोलन पनि भयो । यसमा धरपकड गर्न खोज्दा डियाज ठूलो रुपमा अलोकप्रिय भए ।

अहिलेको संकटले उनलाई थप समस्यामा परेको छ । तर, फाल्न सहज छैन । उनी फालिएपनि क्युवाको संविधानअनुसार उपराष्ट्रपतिले अस्थायी रुपमा सरकार हाँक्नेछन् । यस पदमा अहिले साल्झाडोर भाल्डेस मेसा छन् । त्यसपछि कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलाले नयाँ राष्ट्रपति चयन गर्नेछ ।

‘डियाज क्यानेललाई हटाएपनि केही परिवर्तन हुनेवाला छैन,’ फ्लोरिडा इन्टरनेशनल विश्वविद्यालयको क्युवेली अनुसन्धान इन्स्टिच्युटका अन्तरिम निर्देशक सेवास्टियन आर्कोसले भनेका छन्,‘राष्ट्रपति पद नै मृतजस्तो भइसकेको छ । क्युवा खासमा सैनिकले चलाउने प्रणाली हो ।’ 

फ्लोरिडा इन्टरनेशनल विश्वविद्यालयको ज्याक डी गोर्डन इन्स्टिच्युट फर पब्लिक पोलिसीका निर्देशक तथा अन्तर्राष्ट्रिय सुरक्षाका अध्येता ब्रियान फोन्सेकाले ‘अमेरिकाजक्वाटर्ली डटक ओआरजी’ मा ‘क्युवाको सेना : वासिङटनले नजरअन्दाज गर्न नसक्ने संस्थान’ शीर्षकमा लेखेका छन्, ‘६ दशकदेखि क्युवामा सत्ता हटाउन अमेरिकी विदेश नीति असफल हुँदै आएको छ । आर्थिक र राजनीतिक रुपमा क्युवा अति समस्या हुँदा पनि अमेरिकाले यस्तो गर्न सकेको छैन । अहिले पनि वासिङटनले दबाब बढाइरहेको छ । तर, क्युवाको क्रान्तिकारी सैन्य दस्ता (एफएआर) को निर्णायक भूमिकालाई नजरअन्दाज गरेको छ ।’ 

सेनालाई साथमा लिएर मात्रै क्युवामा अमेरिकाले सत्ता परिवर्तन गर्नसक्ने उनकी निष्कर्ष छ ।उनी थप्छन्, ‘परम्परागत सेनाभन्दा ज्यादा एफएआर राज्यको राजनीतिक, आर्थिक र प्रशासनिक खम्बा रहदैं आएको छ । एफएआरमा ३५ हजार स्थल सेना, ५ हजार जलसेना र झन्डै १० हजार वायु सेना छन् । 

यसबाहेक क्युवासँग ४० हजार तालिमप्राप्त जवान (रिजर्भ फोर्स) र ११ लाख ४५ हजार अर्धसैन्य दस्ता (मिलिसिया फौज) छन् ।      

अन्वेषण

Link copied successfully