हर्मुजबाट निस्कने जहाजमाथि दस्‍तुर लिने योजना इरानको संसदीय समितिबाट पारित

योजनामा अमेरिकी र इजरायली जहाजहरुलाई जलघाँटी हुँदै जान प्रतिबन्ध लगाइएको छ । यस जलघाँटीमा इरान र यसको सैन्य दस्ताको सार्वभौम अधिकार रहेको योजनामा उल्लेख छ ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Iran's parliamentary committee approves plan to seize ships leaving Hormuz

काठमाडौँ — हर्मुजको जलघाँटी हुँदै अघि बढ्ने जहाजमाथि दस्‍तुर लगाउने योजना सोमबार इरानको संसदीय सुरक्षा समितिले पारित गरेको छ ।

सोमबार यस्तो व्यवस्थासहितको 'हर्मुज जलघाँटी व्यवस्थापन योजना'  सुरक्षा समितिबाट पारित भएको इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) ले जनाएको हो ।

आईआरआईबीका अनुसार राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले यो योजना औपचारिक रुपमा पारित भएको घोषणा गरेका हुन् । यसमा जलघाँटीको सुरक्षा व्यवस्थापन, जहाजको सुरक्षा, वातावरण संरक्षण, आर्थिक व्यवस्थापन र इरानी रियालमा उठाइने दस्‍तुर समावेश छ ।

योजनामा अमेरिकी र इजरायली जहाजहरुलाई जलघाँटी हुँदै जान प्रतिबन्ध लगाइएको छ । यस जलघाँटीमा इरान र यसको सैन्य दस्ताको सार्वभौम अधिकार रहेको योजनामा उल्लेख छ ।

जलघाँटीको व्यवस्थापनका लागि कानुनी अवधारणा तयार गर्न ओमानसँग समन्वय गरिने यसमा उल्लेख छ । हर्मुजको उत्तरतर्फ इरान र दक्षिणतर्फ ओमानको भूभाग पर्छ ।

इरानमाथि एकतर्फी प्रतिबन्ध लगाएका देशका जहाजलाई पनि यस जलघाँटीमा प्रतिबन्ध लगाउने यस योजनामा उल्लेख छ ।

पश्चिम एशियामा जारी युद्धबीच यो योजना पारित भएको हो । विगत ३२ दिनयता इरानले अमेरिका–इजरायलविरुद्ध लडिरहेको छ । त्यसक्रममा हर्मुजमा इरानको रिमोलुशनरी गार्ड्सले अवरोध सिर्जना गरिरहेको छ ।

हर्मुजको जलघाँटीमा देखिएको अवरोधले विश्वको झन्डै २० प्रतिशत कच्चा तेल बाहिरिन पाएको छैन । एशियाली तथा युरोपेली देशहरुले हर्मुजको जलघाँटी निर्वाध आवागमन सुनिश्चित हुन पाउनुपर्ने माग गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ समुद्री कानुन महासन्धी (युएनसीएलओएस) को धारा ३८ मा विश्वका सबै समुद्री घाँटी हुँदै सबै पानीजहाज तथा हवाई जहाज स्वतन्त्र तथा निर्वाध रुपमा पास हुन पाउनुपर्ने उल्लेख छ । 

यसअघि आइतबार अमेरिकी अर्थतन्त्री स्कट बेसेन्टले अमेरिकाले हर्मुज जलघाँटीलाई नियन्त्रणमा लिने र यसमा निर्वाध आवागमन सुनिश्चित गर्ने दाबी गरेका थिए ।  

कान्तिपुर

Link copied successfully