संघीय सरकारअन्तर्गत रहेको यातायात सुरक्षा प्रशासन (टीएसए) मा कार्यरत कर्मचारीले सरकारी सटडाउनका कारण पारिश्रमिक समयमै नपाउँदा ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरूमा लाखौँ यात्रु लामो समयसम्म लामबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
अमेरिका — अमेरिकामा संघीय सरकारको वित्तीय सटडाउनको असर देखिन थालेको छ । संघीय सरकारअन्तर्गत रहेको यातायात सुरक्षा प्रशासन (टीएसए) मा कार्यरत कर्मचारीले सरकारी सटडाउनका कारण पारिश्रमिक समयमै नपाउँदा ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरूमा लाखौँ यात्रु लामो समयसम्म लामबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ । साथै, साना विमानस्थलहरूमा यात्रु चाप घट्न थालेको छ ।
संघीय सरकारले होमल्यान्ड सेक्युरिटी विभागमार्फत फेब्रुअरीको पहिलो साताभित्रै टीएसएका लागि बजेट उपलब्ध नगराउँदा रकम अभावका कारण टीएसएमा कार्यरत सुरक्षासम्बन्धी कर्मचारीले पारिश्रमिक पाएका छैनन् । होमल्यान्ड सेक्युरिटीका लागि बजेट उपलब्ध गराउने विषयमा सिनेटमा रिपब्लिकन र डेमोक्र्याट सांसदबीच विवाद हुँदा अमेरिकामा पटक–पटक गभर्मेन्ट सटडाउन हुने गरेको छ ।
रिपब्लिकनहरूले टीएसए कोषलाई ‘आइस’ को बजेटसँग जोड्न खोजेको भन्दै डेमोक्र्याटहरूले विरोध जनाउँदै आएका छन् । यसका कारण सुरक्षा जाँचका लागि कर्मचारीको उपस्थिति घट्दा विमानस्थलहरूमा कर्मचारी अभाव भएको छ र दैनिक लाखौँ यात्रु लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यसको असर अमेरिकाका प्रमुख १६ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा परेको छ । जसमा ह्युस्टन, लस एन्जलस, मियामी, डलास–फोर्ट वर्थ, डेन्भर, न्युयोर्क, युटा, न्युजर्सी, भर्जिनिया, मिनेसोटा र नर्थ क्यारोलाइनाका विमानस्थलहरूमा टीएसए प्रिचेकका लागि यात्रुहरूले समस्या भोगिरहेका छन् ।
संघीय सरकार सटडाउन कति समयसम्म लम्बिने भन्ने स्पष्ट नहुँदा अमेरिकाभरका सयौँ साना विमानस्थलहरूमा यात्रासम्बन्धी काम अत्यन्त सुस्त भइरहेको छ । फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) का अनुसार साना विमानस्थलहरूमा टीएसए प्रिचेकका लागि पर्याप्त कर्मचारी नहुँदा सुरक्षा जाँचमा समस्या भइरहेको छ ।
होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार गत साता शुक्रबार ३ हजार ५ सय ६० जना टीएसए कर्मचारीले काममा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।
