यो हाम्रो युद्ध होइन । हामीलाई जर्बजस्ती यसमा मुछिएको छ । यसले विदेशीको स्वार्थ रक्षा गर्छ, हाम्रो हित गर्दैन : नवाज सलेम, प्रधानमन्त्री, लेबनान ।
काठमाडौँ — इरानमा अमेरिका–इजरायलले २८ जनवरीमा आक्रमण गरेसँगै लेबनानमा त्यसको ठूलो असर देखिएको छ । लेबनानको सरकार र जनताले यस युद्धमा कसैको पनि पक्षधरता लिएका छैनन् ।
तर, यहाँको विद्रोही संगठन हिजबुल्लाहले २ मार्चमा इरानलाई समर्थन गरेको घोषणासहित इजरायलतर्फ मिसाइल, आर्टिलरी तथा बम आक्रमण गर्यो ।
जवाफमा, इजरायलले भीषण हवाई तथा स्थल आक्रमणलाई निरन्तरता दिइरहेको छ । हिजबुल्लाहको प्रभाव क्षेत्र दक्षिणी लेबनान द्वन्द्वको सबैभन्दा ठूलो मैदान बनेको छ । बेरूत र बेक्का उपत्यका युद्धका अन्य मोर्चा हुन् ।
युद्धले सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् ।राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) की लेबनान प्रतिनिधि कारोलिना लिन्डहोल्म बिलिङले युद्धको असर लामो समयसम्म पर्ने बताइन् ।
‘मानिसहरु लगातार त्रासमा बाँचिरहेका छन् । यस युद्धको मानसिक असर ठूलो देखिनेवाला छ । विशेषगरी बालबालिकाहरु लामो समय प्रभावित हुनसक्छन्,’ उनले भनिन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको दक्षिणी भूभागमा आफ्नो उपस्थिति बढाउन आइतबार सेनालाई निर्देशन दिएका छन् ।
‘मैले भर्खरै सुरक्षा बफर क्षेत्रलाई थप बढाउन निर्देशन दिएको छु । इजरायलको उत्तरी क्षेत्रमा अवस्था परिवर्तन गर्न हामी प्रतिबद्ध छौं,’ आइतबार भिडियो सन्देश जारी गर्दै नेतान्याहुले भने ।
दक्षिण लेबनानमा इजरायली सेना सीमाक्षेत्रबाट ८-१० किलोमिटर भित्र छिरिसकेको छ । सीमा क्षेत्रबाट झन्डै ३० किलोमिटर पर रहेको लिटानी नदीसम्मको भूभाग कब्जामा लिने योजना बनाइएको इजरायली रक्षामन्त्री इजरायल काट्जले बताएका छन् । यी सबै भूभाग हिजबुल्लाहको प्रभाव क्षेत्र हुन् ।
यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै ह्युमन राइट्स वाचले दक्षिण लेबनानका भूभागबाट स्थानीयलाई खेद्ने इजरायलको रणनीति युद्ध अपराध रहेको जनाएको थियो ।
इजरायली सेनाले सर्वसाधारणका घर र धेरै पुलहरु ध्वस्त बनाइरहेको युएनएचसीआरकी लिन्डहोल्म बिलिङले बताइन् । ‘उत्तरी लेबनानसँग जोड्ने पुलहरु इजरायलले लगातार भत्काउँदैछ । यसले धेरैवटा इलाकालाई बाँकी देशबाट एक्लो बनाएको छ । मानवीय राहतका सामाग्री पुर्याउन अवरोध सिर्जना भएको छ ।’
यसक्रममा इजरायलले अस्पताल, शिक्षण संस्थालगायत सरकारी सम्पत्ति र निजी आवासिय घरहरुलाई पनि निशानामा पारेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कम्तिमा १२ सयजनाले युद्धमा ज्यान गुमाइसकेका छन् ।
कुल ५८ लाख जनसंख्या रहेको लेबनानमा झन्डै १२ लाख जनसंख्या शरणार्थी बनिसकेको छ । यसमध्ये ३ लाखजना बालबालिका रहेको सामाजिक संस्था इन्टरनेशनल रेस्क्यु कमिटीले जनाएको छ ।
सामाजिक कार्यकर्ता, उद्धारकर्ता, स्वास्थकर्मी, पत्रकारलगायत आपतकालीन पेशामा संलग्नहरु पनि इजरायलको निशानामा परेका छन् । इजरायलले प्यालेस्टिनी शरणार्थी बसेका शिविरलाई पनि निशाना बनाइरहेको छ ।
लेबनानमा झन्डै ५ लाख मानिस भोकमरीको चपेटामा रहेको सामाजिक संस्था एक्सन अगेन्स्ट हंगरले जनाएको छ । यहाँ खानेपानीको चरम समस्या देखिएको उक्त संस्थाले जनाएको छ ।
लेबनानमा गृहयुद्ध चलेको मौकाको फाइदा उठाउँदै इजरायलले दक्षिणतर्फका भूभाग कब्जा गरेपछि त्यसको प्रतिरोधमा १९८२ मा हिजबुल्लाह जन्मिएको थियो ।
दक्षिण लेबनानबाट इजरायललाई हटाउन हिजबुल्लाहले लामो समय प्रतिरोधको लडाँइ लड्यो ।१९७९ मा इस्लामिक क्रान्ति सफल भएपछि यस क्रान्तिको प्रभाव र विचारधारा पश्चिम एशियाभर फैलाउन चाहेको इरानले भित्री रूपमा हिजबुल्लाहलाई यस लडाँइमा सहयोग गर्यो ।
मेइ २००० मा हिजबुल्लाहकै दबाबका कारण इजरायलले दक्षिण लेबनानका कब्जा गरेका भूभागबाट सैनिक हटायो ।
यस घटनाले हिजबुल्लाहलाई राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्यो । तर, हतियार त्याग्नका लागि भएका विभिन्न प्रयासमा हिजबुल्लाह सहमत नहुँदा लेबनानका जनताले पटक-पटक संकट व्यहोर्नुपर्यो ।
पछिल्लोपटक २६ नोभेम्बर २०२४ मा लेबनान सरकार र इजरायलबीच अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता भएको थियो ।
सम्झौतामा हिजबुल्लाहसहितका सशस्त्र संगठनहरुले हतियार त्याग्ने र इजरायलले लेबनानका क्षेत्रहरुबाट आफ्नो सेना फर्काउने सहमति बनेको थियो ।
सरकारको यस निर्णयमा हिजबुल्लाह सहमत थियो । तर, सम्झौतालाई इजरायल र हिजबुल्लाह दुबैले पालना गरेनन् ।
लेबनानका प्रधानमन्त्री नवाज सलेमले उक्त सम्झौता कार्यान्वयनका पक्षमा आफ्नो राष्ट्र अहिले पनि अडिग रहेको बताएका छन् ।
उनले पश्चिम एशियामा जारी युद्धमा हिजबुल्लाहले इरानप्रति देखाएको समर्थनमा आपत्ति जनाएका छन् । आफ्नो देश पक्ष-विपक्ष नभएर संवादको पक्षमा रहेको उनले बताएका छन् ।
त्यस्तै, इरानी कुटनीतिज्ञहरुलाई देश छाड्न निर्देशन पनि दिएका छन् । तर इरानी कुटनीतिज्ञहरुले उक्त निर्देशन पालना गरेका छैनन् ।
‘यो हाम्रो युद्ध होइन । हामीलाई जर्बजस्ती यसमा मुछिएको छ । यसले विदेशीको स्वार्थ रक्षा गर्छ, हाम्रो हित गर्दैन,’ सलेमले केही समयअघि भनेका थिए ।
हिजबुल्लाह पश्चिम एशियामा ‘इरानको प्रतिरोधी गठबन्धन’को हिस्सा हो । यसमाथि इरानबाट हतियार, प्रशिक्षण र आर्थिक सहयोग लिने गरेको आरोप लाग्दै आएको छ ।
लेबनानको राष्ट्रिय राजनीतिमा हिजबुल्लाह एक महत्वपूर्ण शक्ति मानिन्छ । विगतमा यो संगठन लेबनानको सरकारमै सहभागि भएको थियो । अहिले पनि यस संगठनसँग निकट नेताहरु दक्षिणतर्फका क्षेत्रबाट जितेर सांसद् बनेका छन् ।
