अमेरिकाले इरानमा स्थल सेना परिचालन गर्ने आरोप-प्रत्यारोपबीच सोमबार बिहानसम्म मूल्य बढेर १ सय १६ डलर प्रतिब्यारेलमा कारोबार भएको हो ।
काठमाडौँ — इरान र अमेरिका–इजरायलबीचको युद्धमा थप तनाव निम्तिने जोखिमबीच कच्चा तेलको मुल्य १ सय १५ डलर पार भएको छ । सोमबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११६ डलर पुगेको हो ।
यसअघि १९ मार्चमा ११९ मा कारोबार भएको ब्रेन्ट क्रुडको मुल्य (२०-२३ मार्चमा) घटेर १ सयदेखि १ सय ५ डलर प्रतिब्यारेल कायम भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेपछि यो मूल्य ह्वात्तै घटेको थियो ।
अमेरिकाले पाकिस्तानमार्फत इरानमा १५ बुँदे वार्ताको प्रस्ताव पठाएको भएपनि यसले युद्ध रोक्न कुनै भूमिका खेल्न सकेको छैन । त्यहीकारण पछिल्ला दिनहरूमा क्रमश: तेलको मूल्य फेरि उकालो लाग्न थालेको थियो । २७ र २८ मार्चमा १ सय १० को हाराहारीमा रहेको तेलको मूल्य २९ मार्चसम्म आइपुग्दा १५ आसपास पुगेको थियो ।
अमेरिकाले इरानमा स्थल सेना परिचालन गर्ने आरोप-प्रत्यारोपबीच सोमबार बिहानसम्म मूल्य बढेर १ सय १६ डलर प्रतिब्यारेलमा कारोबार भएको हो ।
वार्ताको कुराकानी गरेजस्तो देखाएर अमेरिकाले सेना परिचालन गर्न खोजेको इरानले आरोप लगाएको छ । अमेरिकी सेनासँग लड्नका लागि इरानी सेना तयार रहेको इरानका सभामुख मोहम्मद बगेर गालिबाफले आइतबार बताएका छन् ।
लाल सागरमा हुथी विद्रोहीले गरेको अवरोधले पनि मूल्यवृद्धि निम्त्याउन भूमिका खेलेको छ ।
हर्मुज जलघाँटी र बाब अल मान्दाव जलघाँटी दुबैमा अवरोध छ । यी दुबै मार्ग जोड्दा विश्वको कुल खपतको (३१–३३) प्रतिशत तेल बाहिरिन्छ ।
सोमबार बिहानको कारोबारमा एशियाको मुख्य स्टक सूचकांकमा तीव्र गिरावट आएको छ । जापानको निक्केई २२५ र दक्षिण कोरियाकोे कोस्पी ४ प्रतिशतभन्दा बढीले घटेका छन् ।
