'इरानमा स्थल सेना उतार्ने अमेरिकाको तयारी'

आइतबार इरान युद्ध ३० औं दिनमा पुगेको छ र अहिलेसम्म १३ अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — इरान युद्ध लम्बिदै‌ं जाँदा अमेरिकी सुरक्षावृत्तमा स्थल सेना परिचालनबारे बहस चलिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टले इरान युद्धका लागि स्थल सेनाले तयारी गरिरहेको जनाएको छ । 

अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै वासिङटन पोस्टले युद्ध मामिला मन्त्रालय (पेन्टागन) यस्तो तयारीमा जुटेको जनाएको हो । 

अहिलेसम्म अमेरिकाले हवाई आक्रमणमात्रै गरिरहेको  छ । तर, हप्तौंदेखि जमिनमा सेना उतार्ने तयारी सुरु भइरहेको ती अधिकारीहरुले बताएका छन् ।

'पेन्टागनले हप्तौंदेखि स्थल सेनालाई इरानमा परिचालन गर्ने विषयमा तयारी गरिरहेको छ । हजारौं अमेरिकी स्थल सेना र जलसेना पश्चिम एशियामा पुगिसकेका छन्,' नाम नछाप्ने शर्तमा अमेरिकी अधिकारीहरुले वासिङटन पोस्टसँग बताएका छन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यम एक्सियोसले पनि अन्तिम धक्का दिनका लागि अमेरिकाले सेना परिचालनको तयारी गरेको बताएको थियो ।

दुई अमेरिकी अधिकारीलाई उद्रृत गर्दै एक्सियोसले लेखेको थियो, 'पेन्टागनले इरानमा अन्तिम धक्का दिनका लागि सैन्य विकल्पहरु विकास गरिरहेको छ । यसमा स्थल सेनाको प्रयोग र भीषण बम अभियान चल्नसक्छ ।'

त्यसैगरी द वाल स्ट्रिट जर्नलले पश्चिम एशियामा थप १० हजार स्थल सेना पठाउने विषय ट्रम्प प्रशासनले विचार गरिरहेको समाचार प्रकाशित गरेको थियो । आइतबार इरान युद्ध ३० औं दिनमा पुगेको छ र अहिलेसम्म १३ अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ३ सय सैनिक घाइते छन् । 

'तयारी गर्नु पेन्टागनको नियमित काम हो । उसले कमाण्डर इन चिफलाई अधिकतम विकल्प दिनुपर्छ । यसको अर्थ राष्ट्रपतिले निर्णय लिइसकेका छन् भन्ने होइन,' ह्वाइटहाउसकी प्रेस सेक्रेटरी केरोलिन लेभिट्टले भनिन् ।

यसअघि गत मंगलबार लेभिट्टले तेहरानलाई आफ्नो आणविक महत्वाकांक्षा त्याग्नका लागि चेतावनी दिएकी थिइन् । 'अमेरिका र उसका सहयोगीविरुद्ध खतरा उत्पन्न गरेमा इरानलाई नर्क बनाउन ट्रम्प तयार छन्,' उनले भनेकी थिइन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामार्फत द्वन्द्व समाप्त गर्ने संकेत गर्दै आएका छन् । उनले केही दिन इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने पनि बताएका छन् । तर, यसका बाबजुद युद्ध रोकिएको छैन । 

ट्रम्प प्रशासनमा पछिल्ला दिनहरुमा खार्ग टापु कब्जा गर्ने विषयमा छलफल चलिरहेको छ । पर्सियन गल्फको यस टापुमा इरानबाट निर्यात हुने ९० देखि ९५ प्रतिशत तेल प्रशोधन हुन्छ ।

यसबाहेक नजिकका तटीय क्षेत्रहरु कब्जा गर्ने, इरानले व्यवसाहिक जहाजलाई निशाना बनाउन प्रयोग गरेका हतियारहरु खोजी गर्ने र ध्वस्त गर्नेलगायत विषयमा छलफल चलिरहेको एक अधिकारीले बताएका छन् ।

इरानमा मृतकको संख्या २ हजार हाराहारीमा पुगेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४ हजार ८ सय जना घाइते छन् । लेबनानमा इजरायलको आक्रमणले मृतकको संख्या १२ सय हराहारी पुगेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलमा कम्तिमा १९ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, ५ हजार ४ सय ९२ जना घाइते छन् । 

कान्तिपुर

Link copied successfully