हर्मुजको घाँटी र रेड सी दुबैमा अवरोध हुँदा साउदी अरेबिया ठूलो समस्यामा पर्नेछ ।
काठमाडौँ — रेड सीको पश्चिमतर्फ इजिप्ट, सुडान र इर्ट्रिया पर्छन् । त्यस्तै पूर्वतर्फ साउदी अरेबिया र यमन छन् ।
हर्मुजको जलघाँटीमा अवरोध सिर्जना भइरहेको अहिलेको समयमा साउदी अरेबियाले पाइपलाइनमार्फत रेड सी र त्यहाँबाट जहाजमार्फत बाहिरी विश्वमा सिमित मात्रामा इन्धन पठाउँछ ।
साउदीले आफ्नो पूर्व-पश्चिम पाइपलाइनमार्फत यान्वु बन्दरगाह तेल खसाल्छ र रेड सीको बाब इल मान्देब जलघाँटी हुँदै एशियाली तथा अफ्रिकी बजारमा कच्चा पदार्थ पठाउँछ । स्वेज क्यानलबाट भूमध्यसागर हुँदै युरोपेली बजारमा सामाग्री जान्छ ।
एशियाली रुट बाब इल मान्देब जलघाँटी यमनको हुथी विद्रोहीको नियन्त्रणमा छ । हुथीले शनिबार इजरायलमाथि आक्रमण गर्दै युद्धमा संलग्न हुने निर्णय लिएपछि यहाँ हुँदै बाहिरिने इन्धनमा पनि अवरोध देखिने भएको छ ।
हुथीको आक्रमणको जोखिम साउदीको यान्वु बन्दरगाहसम्मै पर्ने भएकाले युरोपबाट पनि यहाँ जहाजहरू आउन समस्या हुनेछ ।
तेलको प्रमुख निर्यातकर्ता साउदी अरेबिया ठूलो समस्यामा पार्नसक्छ । कतार, युएई,बहराइन र कुवेतजस्ता देशमा अधिकांश इन्धन प्रशोधन केन्द्र युद्धले आंशिक वा पूर्ण बन्द भइसकेका छन् ।
तर साउदीले रेड सी हुँदै थोरै भएपनि इन्धन पठाउन पाएकाले प्रशोधन केन्द्रहरू सञ्चालन गरिरहेको छ । युद्धमा हुथीको प्रवेशले यस अवस्थालाई जटिल बनाएको छ ।
विश्वको सामुद्रिक तेल व्यापारको १० प्रतिशत हिस्सा बाब इल मान्देब जलघाँटी हुँदै निस्कन्छ । यो चोकपोइन्ट केवल १६ माइल चौडा छ ।
हुथीले यसअघि अक्टुबरमा २०२३ इजरायल र हमासबीचको युद्धका दौरान गाजापट्टीमा भएको आक्रमणको विरोधमा रेड सी क्षेत्र हुँदै जाने व्यवसाहिक जहाजहरुमाथि आक्रमण गरेको थियो ।
जसकारण २०२४ को मध्यसम्म आइपुग्दा रेड सी, स्वेज क्यानल हुँदै भूमध्यसागरमा हुने ढुवानी घटेर ७० प्रतिशतमा झरेको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास एजेन्सीले जनाएको थियो ।
अमेरिकी ऊर्जा सुचना प्रशासनका अनुसार त्यसबेला बाब इल मान्देव जलघाँटीमा कच्चा तेलको ढुवानी आधाले घटेको थियो ।
हुथीले यसपटक पनि यस्तै अवरोध सिर्जना गर्नसक्ने लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर फावाज जर्जेसले एनबीसी न्युजसँग बताए ।
‘इरानमा अमेरिका–इजरायलको युद्ध कुनै सिमित युद्ध होइन । यो पूरा क्षेत्रभर फैलिएको द्वन्द्व हो,’ उनले भने,‘ मेरो चिन्ता यो अब केवल सैन्य द्वन्द्वमात्रै रहेन र अब आर्थिक युद्ध बन्यो, जसमा आपुर्ति चक्रहरु संलग्न छन् । वैश्विक ऊर्जा प्रणाली र सामुद्रिक मार्गहरु जोडिएका छन् भन्ने हो ।’
‘शनिबारको आक्रमणमार्फत हुथीले अमेरिकी र इजरायलीहरुलाई अब के हुनसक्छ भन्ने सन्देश दिएको छ,’ उनले थपे ।
समस्यामा साउदी
हर्मुजको घाँटी र रेड सी दुबैमा अवरोध हुँदा साउदी अरेबिया ठूलो समस्यामा पर्नेछ । यसअघि नै पश्चिम एशियाका अन्य देशहरूको व्यापार ठूलो रुपमा प्रभावित भएको छ ।
रेड सी सुचारू हुँदा साउदीले थोरै मात्र भएपनि आर्थिक गतिविध सञ्चालन गरिरहेको थियो । उक्त व्यापार पनि अब प्रभावित हुनेछ ।
साउदीले अमेरिका- इरानबीच वार्ता गराउनका लागि मध्यस्थताको भूमिका खेल्ने कोसिस गरिरहेको छ । त्यस्तै आफुमाथि इरानले आक्रमण गर्दा पनि कुनै जवाफ फर्काएको छैन ।
आइतबार पाकिस्तानमा इजिप्ट, साउदी अरेबिया, टर्की र पाकिस्तानका विदेशमन्त्रीहरु इरान युद्ध अन्त्यको पहल गर्ने विषयमा छलफलमा जुटेका छन् । वार्ताको यो इच्छाशक्तिका बाबजुद युद्ध जारी रहेमा साउदीले पनि इरानविरुद्ध प्रत्याक्रमण गर्नुपर्ने अवस्था आउनसक्छ ।
' आवश्यक भएमा सैन्य कारबाही गने अधिकारी हामीसँग छ,' गत साता इरानले रियादमा ब्यालेस्टिक मिसाइल प्रहार गर्दा साउदीका विदेशमन्त्री राजकुमार फैसल बिन फर्हानले भनेका थिए,' यदी त्यस्तो समय आएमा साउदीको नेतृत्वले आवश्यक निर्णय लिनेछ ।'
