२० वटा पाकिस्तानी जहाजलाई हर्मुज पार गर्ने अनुमति

हर्मुज बन्द भएयता ठूलो ऊर्जा संकट सामना गरिरहेको पाकिस्तानले यसका लागि इरानलाई धन्यवाद् दिएको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

20 Pakistani ships allowed to pass through Strait of Hormuz

काठमाडौँ — इरानले पाकिस्तानी झन्डा अंकित २० वटा  जहाजहरूलाई हर्मुजको जलघाँटीबाट आवतजावत गर्न अनुमति दिएको छ । 

पाकिस्तानका विदेशमन्त्री इशाक दारले दुई पक्षबीच भएको सम्झौता अनुसार दैनिक दुईवटा जहाजले आवतजावत गर्न पाउने बताए । 

हर्मुज बन्द भएयता ठूलो ऊर्जा संकट सामना गरिरहेको पाकिस्तानले यसका लागि इरानलाई धन्यवाद् दिएको छ । 

इशाकदारले इरानको निर्णय स्वागतयोग्य रहेको बताए । पछिल्लो समय इरान र अमेरिकाबीच वार्ता गराउनका लागि पाकिस्तान सक्रिय छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पाकिस्तानमार्फत नै इरानलाई १५ बुँदे वार्ता प्रस्ताव पठाएका थिए । तर इरानले यसलाई अस्विकार गर्यो । 

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा समन्वित आक्रमण सुरु गरेदेखि नै हर्मुजको जलघाँटीमा अवरोध छ । युद्धमा झन्डै २,००० इरानी र लेबनानमा १,१०० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । 

हर्मुजको जलघाँटीका दुबै छेउमा झन्डै २ हजार जहाज अड्किएको अनुमान गरिएको छ । विश्वव्यापी रुपमा तेलको मुल्यवृद्धि भएर १ सय डलर प्रतिब्यारेलभन्दा धेरै पुगेको छ । 

इरानले अमेरिका–इजरायल र उसका सहयोगी देशबाहेक अन्य देशका जहाजहरुलाई अवरोध नगरिने दाबी गर्दै आएको छ ।

तर, यहाँ इस्लामिक रिभोलुशनरी गार्ड्स कोप्र्सका जवानहरु चेकजाँचका लागि बसेका छन् र अनुमति प्रक्रिया निकै झन्झटिलो रहेको अन्य देशहरुले बताउँदै आएका छन् ।

मध्यस्थकर्तामार्फत रिभोलुशनरी गार्ड्सका जवानहरुलाई यहाँका जहाजहरूले आफ्नो कार्गो विवरण, चालक दलको सूची र गन्तव्यहरू बुझाउनुपर्छ । त्यसपछि मात्रै क्लियरेन्स कोड प्राप्त हुन्छ । यस्तो अनुमति दिएबापत इरानले निश्चित रकम पनि लिने गरेको छ । 

इरानको संसदले अब यो व्यवस्थालाई राजस्वको सम्भावित स्रोतको रूपमा वैधानिक बनाउने काम गरिरहेको छ । 

त्यस्तै मलेसियाले पनि आवतजावतको अनुमति पाएको छ । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई धन्यवाद दिँदै मलेसियाली जहाजहरूलाई जलघाँटी पार गर्न अनुमति दिइएको बताए ।

युद्ध सुरु भएदेखि १५० जहाजहरू मात्रै हर्मुजबाट  पार भएका छन् । सामान्य अवस्थामा यति संख्यामा जहाज यहाँबाट दैनिक पार हुन्थें । 

कान्तिपुर

Link copied successfully