अमेरिकामा ‘नो किग्स’ प्रदर्शन : इरान युद्ध र ट्रम्पको कडा आप्रवासन नीतिको विरोध

भर्मन्टका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले राजनीति अति धनीहरूको मुट्ठीमा पुगेको बताए ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा विद्यार्थी, मजदूर, उदारवादीलगायत विभिन्न समुहहरुले देशभर ३ हजारभन्दा धेरै स्थानमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

‘नो किंग्स’ नामक यस प्रदर्शनमा सहभागीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडा आप्रवासन नीति तथा इरानमा थालिएको युद्धको विरोध गरे ।

शनिबारको विरोध प्रदर्शन तेस्रो‘ नो किंग्स’ हो ।  यसअघि १४ जुन २०२५ र १८ अक्टुबर २०२५ मा पनि देशभर ‘नो किंग्स’ प्रदर्शन चलेको थियो ।

यस अभियानमा स्वतस्फूर्त रुपमा मानिसहरु सहभागी भइरहेका छन् । तर, अभियानको पहल गर्न ५०५०१ नामक प्रगतिशील अभियानले ठूलो भूमिका खेलेको छ । यस अभियानले 'कोही राजा, कोही तानाशाह हुनु हुँदैन र न्याय सबैलाई बराबर चाहिन्छ' भन्‍ने मान्यता बोक्छ । 

५०५०१ अभियानको पूरा रुप (५० प्रदर्शन, ५० राज्य र १ अभियान) भन्ने हो । यसले ट्रम्प प्रशासनका रंगभेदी, आप्रवासन विरोधी नीतिहरुको विरोध गर्दै आएको छ । 

शनिबार सबैभन्दा ठूलो भीड मिनेसोता राज्यको मिनियापोलिस शहरमा देखियो । यहाँ झन्डै झन्डै दुई लाख मानिसहरु भेला भए ।

भर्मन्टका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले राजनीति अति धनीहरूको मुट्ठीमा पुगेको बताए । त्यसैगरी, ब्रुस स्प्रिंगस्टीनले संघीय इमिग्रेशन एजेन्सीका अधिकारीहरुले गरेको धरपकड, मृत्यु र विनाश संझाउनेगरी गीत गाए ।

संघीय इमिग्रेशन अधिकारीहरुको गोली प्रहारले यस शहरमा यसै वर्ष ७ जनवरीमा रेने गुड र २८ जनवरीमा एलेक्स प्रेट्टीको मृत्यु भएको थियो । गुड ३७ वर्षीया महिला र प्रेट्टी ३७ वर्षीय पुरूष थिए । उनीहरूको हत्याको विरोधमा यस शहरमा ठूलो आन्दोलन चलेको थियो । 

मिनेसोता राज्यका गभर्नर टिम वाल्जले अमेरिकालाई ‘कुनै राजा’ नचाहिएको बताए । शिकागो शहरको केन्द्रमा प्रदर्शनकारीहरूले ‘ट्रम्प अब जानुपर्छ, फासीवादीहरू अब जानुपर्छ’ नारा लगाए ।

शिकागोका मेयर, ब्रान्डन जोनसनले हजारौंको भीडलाई सम्बोधन गर्दै भने, ‘वरपर हेर्नुहोस्, हाम्रो आन्दोलन ठूलो छ, हाम्रो संकल्प ठूलो छ ।’

न्यूयोर्क शहरमा पनि ठूलो संख्यामा मानिसहरु भेला भए । वासिङ्टन डीसीमा प्यालेस्टिनी आमाहरूले लिंकन मेमोरियलको सिँढीमा उभिएर १० फिट अग्लो प्यालेस्टिनी झण्डा फहराएका थिए ।

‘धेरैजसो अमेरिकीहरूलाई हाम्रो कर मान्छे मार्न प्रयोग भइरहेको थाहा छैन,’ ४२ वर्षीय हाजामी बर्माडाले भनिन्, ‘धेरै अमेरिकीहरूले आवास, दूध, विद्यालय वा स्वास्थ्य सेवा किन्न नसक्ने अवस्थामा युद्ध चलिरहेको छ  भइरहेको छ ।  हामीले इजरायलको लागि युद्ध लडिरहेका बेला मूल्यहरू बढ्दै गइरहेका छन् ।’

कान्तिपुर

Link copied successfully