इरान युद्ध लम्बिदैं जाँदा अमेरिकी सुरक्षावृत्तमा स्थल सेना परिचालनबारे बहस चलिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौँ — इरानको संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले आफ्नो देशको सुरक्षा दस्ता अमेरिकी सेनाको पर्खाइमा रहेको बताएका छन् । ‘बाहिर वार्ताको कुरा गरेपनि अमेरिकाले भित्राभित्रै जमिनमा सेना उतार्ने योजना बनाइरहेको छ,’ उनले भने ।
अमेरिका–इजरायलले इरानमा आक्रमण गरेको ३० औं दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘अमेरिकाले युद्धबाट जे हासिल गर्न सकेन, त्यही कुरा १५ बुँदे प्रस्ताव बनाएर कुटनीतिक वार्ताका लागि पेश गरेको छ,’ गालिबाफले भने ।
इरान युद्ध लम्बिदैं जाँदा अमेरिकी सुरक्षावृत्तमा स्थल सेना परिचालनबारे बहस चलिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाले शनिबार पश्चिम एशियामा ३५ सय सैनिक पठाएको केन्द्रीय कमाण्ड (सेन्टकम) ले जनाएको थियो ।
अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टले इरान युद्धका लागि स्थल सेनाले लामो समयदेखि तयारी गरिरहेको जनाएको छ । अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै वासिङटन पोस्टले युद्ध मामिला मन्त्रालय (पेन्टागन) यस्तो तयारीमा जुटेको जनाएको हो ।
यसअघि अमेरिकी सञ्चारमाध्यम एक्सियोसले पनि अन्तिम धक्का दिनका लागि अमेरिकाले सेना परिचालनको तयारी गरेको बताएको थियो । त्यसैगरी द वाल स्ट्रिट जर्नलले पश्चिम एशियामा थप १० हजार स्थल सेना पठाउने विषय ट्रम्प प्रशासनले विचार गरिरहेको समाचार प्रकाशित गरेको थियो । आइतबार इरान युद्ध ३० औं दिनमा पुगेको छ । यसले पश्चिम एशियामा क्षेत्रीय संकट निम्त्याएको छ ।
युद्धको वार्ताका लागि प्रयास पनि चलिरहेको छ । युद्धलाई कुटनीतिक माध्यमबाट अन्त्य गर्नका लागि ठोस पहल गर्ने लक्ष्यले चारवटा देशका विदेशमन्त्री पाकिस्तानको इस्लामावादमा भेला भएका छन् ।
टर्कीए, साउदी अरेबिया, इजिप्ट र पाकिस्तानमा विदेशमन्त्री दुई आइतबारदेखि दुई दिने छलफलमा जुटेका हुन् ।
