लेबनानको हिजबुल्लाहले २ मार्चदेखि नै युद्धमा इरानलाई समर्थन गर्दै इजरायलसँग लडिरहेको छ ।
काठमाडौँ — अमेरिका–इजरायल र इरानबीच जारी युद्धमा यमनको हुथी विद्रोही पनि मिसिएको छ । इरानलाई समर्थन गर्दै हुथीले जारी युद्धमा पहिलोपटक इजरायलमाथि मिसाइल प्रहार गरेको हो ।
हुथीका बिग्रेडियर जनरल याया सारेले आफ्नो लक्ष्य हासिल नहुदाँसम्म यस युद्धमा सहभागी हुने बताए । इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको छ ।
हुथीले इजरायलका संवेनदशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ । बियर सेब्बा आसपास र इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक हुथीले आक्रमण गरेपछि शुक्रबार राति चेतावनीस्वरुप साइरन बजेको थियो ।
लेबनानको हिजबुल्लाहले २ मार्चदेखि नै युद्धमा इरानलाई समर्थन गर्दै इजरायलसँग लडिरहेको छ । जवाफमा इजरायलले हिजबुल्लाह बाहुल्य दक्षिण लेबनानमा आक्रमण गर्दै आइरहेको छ । अहिलेसम्म ठूलो जनसंख्याले यस युद्धका कारण ज्यान गुमाइसकेको छ ।
यमनको राजधानी साना सन् २०१४ देखि नै हुथीको नियन्त्रणमा छ । जारी युद्धबाट लामो समय हुथीले आफुलाई अलग राखेको थियो । क्षेत्रीय र वैश्विक अर्थतन्त्रलाई नै युद्धले असर गरेपछि यसमा सहभागी हुनुपरेको हुथीले जनाएको छ ।
यसअघि इजरायल र हमासबीचको युद्धका दौरान हुथीका लडाकुहरुले रेड सी क्षेत्रमा व्यवसाहिक जहाजहरुमाथि आक्रमण गरेका थिए ।
यस जलघाँटी हुँदै वार्षिक १ ट्रिलियन मुल्य बराबरको सामाग्री बाहिरिने गर्छ । हर्मुजको जलघाँटीमा अवरोध सिर्जना भइरहेको अहिलेको समयमा साउदी अरेबियाले पाइपलाइनमार्फत रेड सी हुँदै बाहिरी विश्वमा सिमित मात्रामा इन्धन पठाइरहेको छ ।
युद्धमा हुथी सहभागी भएपछि यस जलमार्ग पनि अस्थिर बनेको छ ।
