'युद्ध सुरु भएयता इरानमा कम्तिमा ८ सय ५० टोमाहाक मिसाइल प्रहार'

अमेरिकी युद्ध मामिला मन्त्रालयले सेनासँग आवश्यक सबै हतियार रहेको बताएको छ ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

'At least 850 Tomahawk missiles have been fired at Iran since the war began'

काठमाडौँ — इरानमा अमेरिकी सेनाले चार साताभित्र ८ सय ५० भन्दा धेरै टोमाहाक क्रुज मिसाइल प्रहार गरेको छ ।

यति महत्वपूर्ण हतियार यो तिव्रतामा प्रहार गर्दा अमेरिकाका सुरक्षा अधिकारीहरु नै चिन्तित भएका छन् । 

उनीहरुले थप हतियार कसरी उपलब्ध गराउने भन्दै युद्ध मामिला मन्त्रालयको बैठकमा बहस गरेको अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टले जनाएको छ । वासिंगटन पोस्टले सुरक्षा अधिकारीहरुलाई उद्रृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो । 

रोयटर्ससँगको कुराकानीमा ह्वाइटहाउसकी प्रेस सेक्रेटरी कारोलिन लेभिट्टले अमेरिकासँग आवश्यक हतियारको कमी नरहेको बताएकी छिन् ।

‘अमेरिकासँग अपरेशन इपिक फ्युरीको लक्ष्य हासिल गर्नका लागि पर्याप्त हतियार, गोली भण्डारण छन् । यसभन्दा पनि धेरै छन्,’ रोयटर्ससँग उनले भनेकी छिन्, ‘राष्ट्रपति ट्रम्प सधैं हाम्रो सुरक्षा फौजलाई सुदृढ बनाउन केन्द्रीत हुनुहुन्छ । र, उहाँले सुरक्षा कम्पनीहरुलाई अमेरिकामा बनेका हतियार उपलब्ध गराउन बारम्बार आग्रह गर्नुभएको छ । यी हतियार विश्वमै उत्कृष्ट छन्,’ लेभिट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अमेरिकी युद्ध मामिला मन्त्रालयले सेनासँग आवश्यक सबै हतियार रहेको बताएको छ । ‘युद्ध मामिला मन्त्रालयसँग कुनै पनि मिशन समयमै सञ्चालन गर्न आफुलाई चाहिने सबै हतियार छन्,’ पेन्टागनका प्रमुख प्रवक्ता सियन पार्नेलले रोयटर्ससँग भने । 

२८ फेब्रुअरीदेखि लगातार अमेरिका–इजरायलले मिलेर इरानमा आक्रमण गरिरहेका छन् । बदलामा इरानले इजरायल र पश्चिम एशियाका अमेरिकी सैन्य पूर्वाधार राखिएका देशमा प्रत्याक्रमण गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully