'धर्तीको नर्क' भनेर चिनिन्छ मदुरोलाई राखिएको जेल

मदुरो र सिलिया एउटै जेल भवनमा भएपनि उनीहरुबीच भेटघाट हुने संभावना कम छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Maduro's prison is known as 'hell on earth'

काठमाडौँ — भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलास मदुरो आज न्युर्योकस्थित संघीय अदालतमा सुनुवाईका लागि दोस्रोपटक पेश हुँदैछन् ।

मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ३ जनवरीमा अमेरिकी सेनाले अपहरण गरेको थियो । जलसेनाको जहाजमार्फत भेनेजुएलाबाट दुई दिनपछि न्युर्योक ल्याइयो र सोझै अदालतमा पेश गरियो । अदालतले यो दम्पत्तीलाई न्युर्योकको ब्रुकलिनस्थित महानगरीय हिरासत केन्द्र (एमडिसी) मा राख्न आदेश दियो । 

यस हिरासत केन्द्रमा अदालतको फैसला कुरिरहेका कैदीबन्दीलाई राखिन्छ । विगतमा ड्रग्स माफिया लर्ड जोआक्विन (इल चापो) गुजम्यान, जेफ्री इप्स्टेनकी सहयोगी घिस्लिन म्याक्सवेल, हिप–हप मुगल सियन डिडी कम्ब्सलगायतलाई फैसला आउनुअघिसम्म यहाँ राखिएको थियो । 

यो बहुतले जेल भवनका अलग–अलग कक्षमा झन्डै ८० दिन  मदुरो दम्पत्तीले बिताइसकेका छन् । उनका छोरा निकोलास मदुरो गुएरा भेनेजुएलामा सांसद् छन् । मदुरोकै कार्यकालमा उपराष्ट्रपति रहेकी तथा उनको विश्वासपात्र भनेर चिनिएकी डेल्सी रोड्रिग्वेज अहिले भेनेजुएलामा राष्ट्रपति छन् । तर, मदुरो जेलमा छन् । उनीमाथि ड्रग्स कारोबार, सम्पत्ति शुद्धिकरण र भ्रस्टाचारको मुद्दा चलिरहेको छ । भेनेजुएलामा उनको पार्टीको सत्ता अमेरिकाको इशारामा चल्न बाध्य छ । 

मदुरो र सिलिया एउटै कारागारमा भएपनि उनीहरुबीच भेटघाट हुने संभावना कम छ । किनकी,महिला र पुरुषहरुलाई बेग्ला–बेग्लै राखिन्छ । अनि, संघीय मुद्दा चलेका व्यक्तिका हकमा अभियुक्तले एकअर्कासँग भेट्न पाउँदैनन् । 

सीएनएनका अनुसार मदुरोजस्ता हाइप्रोफाइल व्यक्तिलाई गरिने निगरानी अझै धेरै हुन्छ । उनीहरुको सञ्चार सिमित हुन्छ ।  उनलाई परिवार वा वकिलसँग कहिलेकाँहि बढीमा १५ मिनेटसम्ममात्रै फोन सम्पर्क गर्न दिइएको स्रोत बताउँछ । ‘वकिलहरुले उनको मनस्थिति बलियो रहेको बताएका छन् । उनले हामी दुखी हुन हुँदैन भनेका छन्,’ मदुरोका छोरा गुएराले भने,‘हामी ठिक छौं । हामी लडाकु हौं भन्छन् ।’

एएफपीमा प्रकाशित समाचारअनुसार ब्रुकलिनस्थित जेलमा अहिले पनि मदुरोलाई कैदीबन्दीहरुले राष्ट्रपति नै सम्बोधन गर्छन् । भेनेजुएला सरकार निकट स्रोतका अनुसार उनी जेलमै बाइबल पढ्छन् । मदुरोका छोरा गुएराले आफ्ना बाबु आशावादी र आत्मविश्वासी व्यक्ति रहेको बताएका छन् । यसै महिनाको सुरुवातमा मदुरो केही दुब्लाएको खबर सार्वजनिक भएको थियो । दैनिक व्यायाम गर्ने भएकाले आफ्ना बाबु केही पातलो देखिनसक्ने गुएराले दाबी गरे । 

तर संघीय हिरासतको अवस्था निकै खराब छ । मदुरो खानपानका कारण दुब्लाएका पनि हुनसक्छन् ।  यहाँ निकै अमानवीय ढंगले कैदीबन्दीलाई राखिएको भन्दै आलोचना हुने गरेको छ । केही अभिवक्ता तथा पूर्वकैदीले यसलाई ‘पृथ्वीको नर्क’ भन्ने गरेका छन् । 

यहाँका कैदीहरुले म्याद सकिएको, राम्रोसँग नपकाएको, बासी, दूषित वा सढेगलेको खानेकुरा खानुपरेको गुनासो आफ्ना वकिलमार्फत गर्दै आएका छन् । सन् २०२४ मा संघीय अदालतमा दायर गरिएको उजुरीमा, एक बन्दीले सिमीको तरकारीमा ‘किरै किरा’ रहेको गुनासो गरेका थिए ।

मुद्दा फैसलाअघि यसै जेलमा रहेका म्युजिक प्रोड्युसर तथा उद्यमी सीन ‘डिडी’ कम्ब्सका वकिलले पनि अदालतको खानाका विषयमा गुनासो गरेका थिए । उनले यस अदालतमा कैदीबन्दीलाई म्याद सकिएको वा किरा लागेको खानेकुरा खुवाउने गरिएको बताएका थिए । यद्यपी, यी सबै आरोपलाई संघीय अधिकारीहरूले अस्वीकार गरेका छन् ।

यो जेल निकै फोहोर छ । सुरक्षा व्यवस्था निकै कडा छ । र, लामो समयसम्म कैदीलाई एकान्तमा राखिने गरेको गुनासो सार्वजनिक हुँदै आएको छ । 

यहाँ कम्तिमा चार कैदीबन्दीले पछिल्ला तीन वर्षमा आत्महत्या गरिसकेको दाबी कम्ब्सका वकिलले सन् २०२५ मा गरेका थिए । त्यस्तै, २०२४ मा फरक चक्कु प्रहारका घटनामा दुई कैदीले ज्यान गुमाएका थिए । ९ जना अन्य कैदीहरुविरुद्ध हत्या र आक्रमणको मुद्दा चलिसकेको छ । 

मदुरोलाई कुन कक्षमा राखिएको छ भन्ने स्पष्ट छैन । तर उनलाई आम कैदीहरुभन्दा विशेष सुरक्षासहित एकान्तमा राखिएको हुनसक्ने बताइएको छ ।

Maduro's prison is known as 'hell on earth'

कानुनविद् तथा अभियोजनकर्ताहरुका अनुसार कैदी र जेलका स्टाफ दुबैको सुरक्षालाई मध्यनजर गरेर यस्तो प्रबन्ध गरिएको हुन्छ । जसकारण, बाहिरी संसारसँग मदुरोजस्ता भीभीआईपी कैदीको सम्पर्क निकै सिमित हुन्छ । 

कर्मचारीको अभाव तथा स्रोतको कमीका कारण एमडिसीको अवस्था निकै खराब रहेको भन्दै मानवअधिकारवादीहरुले चिन्ता प्रकट गर्ने गरेका छन् । यहाँका कैदीलाई इन्टरनेट वा पत्रिका पढ्ने सुविधा छैन । मदुरो यसमा अपवाद होइनन् । 

गत वर्ष लिगल एड सोसाइटीले जेलको अवस्थाबारे चिन्ता व्यक्त गर्दै विज्ञप्ति निकालेको थियो । यस जेलमा भएको हिंसा, औषधि–उपचारमा लापरवाही र मानव अधिकार हननका विषयमा विज्ञप्तिमा उल्लेख थियो । यस जेलमा १३ सय कैदीबन्दी छन् । 

पहिलोपटक ५ जनवरीमा अदालतमा प्रस्तुत हुँदा मदुरोले आफु भेनेजुएलाको राष्ट्रपति रहेको र अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लघंन गर्दै आफ्नो सार्वभौमसत्तामाथि आक्रमण गरेको बयान दिएका थिए । उनले आफमाथि झुठो आरोप लगाइएको बताएका थिए । बिहीबार ९२ वर्षका न्यायाधिस एल्भिन हेलरस्टेनले उनको मुद्दा हेर्दैछन् । 

कान्तिपुर

Link copied successfully