रोयटर्सका अनुसार युद्धअघिसम्म विश्वव्यापी तेलको झन्डै ४.५% हिस्सा इरानबाट निर्यात हुन्थ्यो । यसको झन्डै ९०–९५ प्रतिशत हिस्सा खार्गमै प्रशोधन भएर जान्छ ।
काठमाडौँ — इरानले प्रमुख तेल प्रशोधन तथा निर्यात केन्द्र खार्ग टापुमा सुरक्षा व्यवस्था सुदृढ बनाउँदै लगेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी सुरक्षावृत्तमा यस टापु कब्जालाई लिएर बहस चलिरहेका बेला इरानले सुरक्षा व्यवस्था बलियो बनाउन लागेको हो ।
यसअघि इरानका एक वरिष्ठ अधिकारीले ‘इरानका शत्रुहरुले’ खार्ग टापु आक्रमण गर्ने योजना बनाइरहेको गोप्य रिपोर्ट मिलेको बताएका थिए ।
पश्चिम एशियाकै एक देशको सहयोग लिएर उनीहरुले यस्तो योजना बनाएको ती अधिकारीको दाबी थियो ।
इरानका सभामुख मोहम्मद बगेर गालीबाफले इरानी भूभाग कब्जा गर्ने प्रयास भएमा कडा प्रत्याक्रमण गरिने चेतावनी दिएका छन् ।
‘इरानी फौजले शत्रुहरुका गतिविधिलाई अवलोकन गरिरहेका छन् । उनीहरुले कुनै कदम चालेमा हामी पश्चिम एशियाका महत्वपूर्ण पूर्वाधारमा निरन्तर आक्रमण गर्नेछौं,’ बिहीबार सामाजिक सञ्जालमा गालीबाफले लेखेका छन् ।
इरानले विश्वबजारमा पठाउने तेलको (झन्डै ९०–९५ प्रतिशत) खार्ग टापुको निर्यात टर्मिनलबाट जान्छ । अमेरिकाले पछिल्ला दिनमा पश्चिम एशियामा स्थल सैनिक तैनाथ गर्ने तयारी गरिरहेको अमेरिकी सरकारी अधिकारीहरुलाई उद्रृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार अमेरिकी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नल केथ केलोगले खार्ग टापु कब्जामा लिन र हर्मुजको जलघाँटीलाई सुरक्षित राख्नका लागि अमेरिकाको स्थल सेनालाई परिचालन गर्नु आवश्यक रहेको बताएका थिए । उनले फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा यस्तो धारणा राखेका हुन् ।
जनवरीसम्म उनी युक्रेनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत थिए । संभावित परिस्थितिलाई मध्यनजर गरेर खार्गमा इरानले अतिरिक्त पोर्टेबल मिसाइल प्रणाली पठाएको र टापु वरपर पानीमुनी बम राख्न खोजेको अमेरिकी सैनिक स्रोतलाई उद्रृत गर्दै सीएनएनले जनाएको छ ।
‘इरानले टापु वरपर एम्बुस पनि बिछ्याउँदैछ,’ स्रोतले सीएनएनसँग भनेको छ । तेहरानलाई हर्मुजको घाँटी पुनः सुचारु गर्नका लागि दबाब सिर्जना गर्ने लक्ष्यले अमेरिकाले यस टापु कब्जामा लिनसक्ने विभिन्न रिपोर्टहरुले जनाएका छन् ।
अमेरिकाले अहिले एयरवोर्न ८२ औं डिभिजनका झन्डै ३ हजार सेनालाई पश्चिम एशियामा जानका लागि तयारी अवस्थामा राखेको छ । अत्याधुनिक तालिमप्राप्त यी सैनिकहरु प्यारासुटमार्फत जमिनमा उत्रेर तिव्र गतिमा लडाँइ गर्नसक्छन् ।
सीएनएनका सैन्य विश्लेषक अवकाशप्राप्त एडमिरल जेम्स स्टाभरिडिसले इरानमा सेना पठाउनु ठूलो जोखिम हुने चेतावनी दिएका छन् । ‘इरानीहरु बाठा र क्रुर छन्,’ उनले सीएनएनसँग भने, ‘उनीहरुले अमेरिकी सैनिकमाथि सक्दो क्षति पुर्याउनका लागि जे पनि गर्नसक्छन् ।’
यसअघि अमेरिकाले खार्गका सैन्य पूर्वाधारमा हवाई आक्रमण गरेको थियो । तर, यहाँको ऊर्जा पूर्वाधारमा भने प्रहार गरेन ।
२८ फेब्रुअरीदेखि चलेको युद्धमा इरानले ठूलो क्षति व्यहोरिसकेको छ । जवाफमा, इरानले इजरायल र पश्चिम एशियाका विभिन्न पूर्वाधारमा प्रत्याक्रमण पनि गरिरहेको छ । अमेरिकाले मंगलबार पाकिस्तानमार्फत १५ बुँदे वार्ता प्रस्ताव पठाएपनि इरानले त्यसलाई अस्विकार गरेको छ ।
किन महत्वपूर्ण छ खार्ग ?
खार्ग टापु इरानको मुख्यभूमीबाट २५ किलोमिटर पर पर्सियन खाडी क्षेत्रमा छ । यो केवल २० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
तर, रणनीतिक रुपमा निकै महत्वपूर्ण छ । अहवाज, मारुम, गचसारनलगायत इरानका तेल खानी भएका इलाकाबाट दैनिक लाखौं ब्यारेल कच्चा तेल पाइपलाइनहरुमार्फत खार्गमा आउँछ । त्यसलाई भण्डारण र आवश्यकताअनुसार प्रशोधन गरिन्छ । त्यसपछि जहाजमा लोड गरेर बाँकी विश्वमा वितरण गरिन्छ ।
रोयटर्सका अनुसार युद्धअघिसम्म विश्वव्यापी तेलको झन्डै ४.५% हिस्सा इरानबाट निर्यात हुन्थ्यो । यसको झन्डै ९०–९५ प्रतिशत हिस्सा खार्गमै प्रशोधन भएर जान्छ ।
त्यहीकारण यसलाई इरानको जीवनरेखा पनि भनिन्छ । अमेरिकी प्रतिबन्धका कारण पछिल्ला वर्षहरुमा धेरै देशले इरानसँग तेल किन्न बन्द गरे । चीनले भने इरानी तेलमाथिको निर्भरता बढाउँदै लगेको थियो ।
विश्वको झन्डै २० प्रतिशत तेल बाहिरिने सामुद्रिक रुट हर्मुजको घाँटीमा नियन्त्रण बलियो बनाइराख्न यस टापुमा इरानी सेनाको सुदृढ उपस्थिति जरुरी छ । त्यहीकारण इरानले यहाँ सैन्य पूर्वाधारहरुमा ठूलो लगानी गरेको थियो ।
इरानमा अमेरिका–इजरायली आक्रमण हुनुभन्दा थोरै दिनअघिसम्म खार्गबाट ठूलो परिमाणमा तेल निर्यात भइरहेको अमेरिकी लगानी बैंक जेपी मोर्गनलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । युद्ध सुरु भएपछि परिमाण केही घटेपनि तेलका ट्यांकर अनलोड हुने क्रम रोकिएको छैन ।
खार्गमा झन्डै ३ करोड ब्यारेल कच्चा तेल भण्डारण क्षमताको पूर्वाधार रहेको रोयटर्सले जनाएको छ । विश्वव्यापी व्यापार विश्लेषक कम्पनी केप्लरका अनुसार यहाँ झन्डै १ करोड ८० लाख ब्यारेल कच्चा तेल भण्डारण गरेर राखिएको छ ।
