उपराष्ट्रपति जेडी भानस र विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्ताको नेतृत्व गरिरहेको ट्रम्पको दाबी ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्यनजिक रहेको बताएका छन् । उपराष्ट्रपति जेडी भानस र विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्ताको नेतृत्व गरिरहेको उनले बताए ।
इरानमा भविष्यको आक्रमणका लागि कंग्रेसबाट स्विकृति लिनुपर्ने मागसहित पेश भएको संकल्प प्रस्ताव अमेरिकी सिनेटमा अस्विकृत भएको छ । सिनेटमा कंग्रेसको स्विकृति लिनु पर्ने पक्षमा ४७ र लिनु नपर्ने पक्षमा ५३ मत खस्यो ।
कंग्रेसको स्विकृति लिनुपर्नेगरी डेमोक्रेटिक पार्टीले पेश गरेको प्रस्ताव अस्विकृत भएको यो तेस्रोपटक हो ।
सीएनएनले इरानी स्रोतलाई उद्रृत गर्दै युद्ध अन्त्य गर्ने दिगो प्रस्तावलाई तेहरानले सुन्ने उल्लेख गरेको छ । यसअघि इरानको संसद्का सभामुख र विदेश मन्त्रालयले ट्रम्प प्रशासनसँग कुनै वार्ता नभएको बताएका थिए ।
अहिलेसम्म युद्ध जारी नै छ । अमेरिकाको ८२ औं एयरवोर्न डिभिजनले आगामी दिनमा मध्यपूर्वमा १ हजार सैनिक परिचालन गर्ने सीएनएनले जनाएको छ ।इजरायलले सोमबार राति तेहरानमा आक्रमण गर्दा १२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण हुँदा इन्धनका ट्यांकमा आगो लागेको छ । फिलिपिन्समा इन्धन अभावका कारण राष्ट्रिय संकट घोषणा गरिएको छ । धेरै एसियाली देशहरु इन्धन अभावसँग जुधिरहेका छन् ।
