इजरायली सेनाले दक्षिण लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको सैन्य अभियान जारी राखेको छ ।
काठमाडौँ — युद्धको २५ औं दिन मंगलबार इरानले तेल अभिभसहित विभिन्न शहरमा मिसाइल प्रहार गरेको इजरायली अधिकारीहरुले बताएका छन् ।
तीनवटा आवासीय भवनमा ठूलो क्षति पुगेको र केही सवारीसाधनमा आगो लागेको उनीहरूले बताएका छन् । तेल अभिभमा कम्तिमा ६ जना घाइते भएको इजरायलको राष्ट्रिय आपतकालीन सेवा संयन्त्रले जनाएको छ ।
इजरायली सेनाका कर्नेल मिकी डेभिडले तेल अभिभमा प्रहार भएकामध्ये एउटा मिसाइलको वारहेड झन्डै १०० किलो रहेको बताए । यस प्रकारको मिसाइल युद्ध शुरु भएयता पहिलोपटक प्रयोगमा आएको इजरायली सैनिक अधिकारीहरुको दाबी छ।
यसैबीच, इजरायली सेनाले दक्षिण लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको सैन्य अभियान जारी राखेको छ । त्यहाँका केही बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिइएको छ ।
पश्चिम एशियाका देशहरूतर्फ समेत ड्रोन र मिसाइल प्रक्षेपण बढिरहेको छ। साउदी अरबको रक्षा मन्त्रालयले देशका विभिन्न भागतर्फ पठाइएका दर्जनौं ड्रोन आफ्ना वायु प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेको छ । कुवेतले पनि आफ्नो देशलाई लक्षित गरेर मिसाइल प्रहार भएको बताएको छ ।
अमेरिका-इरान युद्ध मंगलबार २५ औं दिनमा प्रवेश गरेको छ । यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा फलदायी कुराकानी भएको दाबी गरेका थिए । उनले आगामी ५ दिन इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने पनि बताएका थिए ।
तर, इरानले यस दाबी खण्डन गरेको छ ।
