अमेरिका र उसका सहयोगी देशका जहाज हर्मुजबाट बाहिर निस्कन पाएका छैनन् ।
काठमाडौँ — इरानले हर्मुज जलघाँटी पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकाले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण गरे जलघाँटी पूर्ण बन्द हुने चेतावनी इरानले दिएको छ । त्यस्तै, पश्चिम एसियामा रहेका ऊर्जा तथा खानेपानी पूर्वाधारमा पनि प्रत्याक्रमण गरिने इरानले जनाएको छ ।
अहिले इरानले सिमित जहाजहरूलाई मात्रै हर्मुजबाट बाहिर निस्कन दिएको छ । ती जहाजहरूले रिभोलुशनरी गार्डस् कोर्प्सको अनुमति लिएर निस्कनुपर्छ । तर अमेरिका र उसका सहयोगी देशका जहाज निस्कन पाएका छैनन् ।
युद्धको २४ औं दिन अमेरिकी र इजरायली सेनाले इरानमाथि हवाई तथा मिसाइल आक्रमण जारी राखेका छन् । इजरालले लेबनानमा पनि आक्रमण गरिरहेको छ । त्यस्तै इरानले पनि इजरायल तथा पश्चिम एसियाका विभिन्न देशमा आक्रमण जारी गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अराद र डिमोना शहरमा भएका हमलामा करिब दुई सयजति घाइते घाइते भएको बताएका छन् । उनले इरानलाई "पूर्ण रूपमा ध्वस्त पार्ने" प्रतिवद्धता व्यक्त गरेका छन् ।
युद्धको असर पश्चिम एसियाभर देखिएको छ । साउदी अरेबियाको पूर्वी क्षेत्रमाथि इरानले आक्रमण गरेको छ छ । दुईवटा इरानी ड्रोन सेनाले प्रतिरोध गरेर खसालेको साउदीको रक्षा मन्त्रालयले जनाएको छ।
