४८ घण्टाभित्र हर्मुजको जलघाँटी पूर्ण रुपमा सुचारु नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण हुने धम्की ट्रम्पले दिएका थिए ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएसँगै एसिया तथा प्यासेफिक क्षेत्रमा शेयर बजारमा गिरावट देखिएको छ ।
कच्चा तेलको मूल्य भने बढेको छ । शनिबार ट्रम्पले ४८ घण्टाभित्र हर्मुजको जलघाँटी पूर्ण रुपमा सुचारु नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण हुने धम्की दिएका थिए ।
आइतबार जापानमा शेयर बजारमा ४ प्रतिशत र कोरियामा ४.५ प्रतिशतले गिरावट देखियो । अस्ट्रेलियामा शेयर बजार १ दशमलव ६ र न्युजिल्यान्डमा १ दशमलव ३ प्रतिशतले घट्यो ।
कच्चा तेलको मूल्यवृद्धि भएको छ । ट्रम्पको घोषणालगत्तै शनिबार बढेर उच्चतम बिन्दूमा १ सय १४ डलर प्रतिब्यारेलसम्म पुगेको ब्रेन्ट क्रुड सोमबारसम्म आइपुग्दा १ सय ७ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ ।
विश्लेषकहरूले हर्मुज जलघाँटीमा अवरोध कायमै रहेमा कच्चा तेलको मूल्य बढेर २ सय डलर प्रति ब्यारेलसम्म पुग्नसक्ने चेतावनी दिएका छन् । हर्मुज जलघाँटीबाट विश्वको कुल खपतको झन्डै २० प्रतिशत तेल बाहिरिने गर्छ ।
इरान र अमेरिका-इजरायलबीचको युद्ध चर्कदैं गर्दा दुबैतर्फ ठूलो क्षति भइसकेको छ । युद्ध सुरु भएको २४ दिन बितिसकेको छ ।
इरानमा मृत्यु हुनेको संख्या १५ सय नाघेको इरानी रेड क्रेस्सेन्टले जनाएको छ । युद्धमा इरानका सर्वोच्च नेता आयतुल्लाह खोमेनेइसहित ७० जना वरिष्ठ नेताहरू मारिएका छन् ।
इरानी आक्रमणले इजरायल र पश्चिम एसियाका देशमा पनि ठूलो क्षति भइसकेको छ । इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या १ हजारभन्दा धेरै पुगिसेको छ ।
