शुक्रबार आक्रमणमा परेको डिएगो गार्सिया अमेरिकाका लागि किन महत्वपूर्ण छ ?

विगतमा भियतनाम, अफगानिस्तान तथा इराक युद्धमा अमेरिका–बेलायतले मिलेर यस सैन्य अड्डाबाट हवाई आक्रमण गरेका थिए

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Why is Diego Garcia, which was attacked on Friday, important to the United States?

काठमाडौँ — इरानले शुक्रबार हिन्द महासागरमा रहेको टापु डिएगो गार्सियामा मिसाइल प्रहार गरेको आरोप बेलायतको रक्षा मन्त्रालयले लगाएको छ । इरानी अधिकारीहरूले मिसाइल प्रहारमा आफ्नो  संलग्‍नता स्विकारिसकेका छैनन् । तर, आशंका इरानमाथि नै छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासम्मै मार हान्नसक्ने मिसाइल इरानसँग रहेको दाबी गरेका थिए, जो अहिलेसम्म पुष्टि भइसकेको छैन ।

तर, आक्रमणमा संलग्‍नता पुष्टी भएमा इरानले आफैं दाबी गरेभन्दा शक्तिशाली हतियार ऊसँग रहेको संकेत मिल्छ । यसअघि इरानसँग २ हजार किलोमिटर परसम्म मार हान्नसक्ने ब्यालेस्टिक मिसाइल रहेको अनुमान सुरक्षाविद्‍हरूले गरेका थिए । तर डिएगो गार्सिया इरानबाट ४ हजार किलोमिटर पर पर्छ । 

हिन्द महासागरबीचमा रहेका चागोस द्वीपसमूहका ६० भन्दा बढी टापुहरूको शृंखलामध्ये डिएगो गार्सिया एक हो । यी टापुहरु माल्दिभ्स र मोरिससको बीचमा पर्छन् । डिएगो गार्सियामा एक र चागोस द्वीपसमूहको अर्को एक टापुमागरी कुल दुई मिसाइल प्रहार भएको बेलायतको आरोप छ ।  

तर, मिसाइल यस टापुसम्मै पुग्यो वा केही नजिक खसे भन्ने स्पष्ट छैन । बेलायतले यस आक्रमण असफल भएको दाबी गरेको छ । डिएगो गार्सिया टापुमा बेलायत र अमेरिकाको संयुक्त सैन्य हवाई अड्डा छ । यस अड्डामा झन्डै २ सय जना कर्मचारी कार्यरत छन् । 

विगतमा भियतनाम, अफगानिस्तान तथा इराक युद्धमा अमेरिका–बेलायतले मिलेर यस सैन्य अड्डाबाट हवाई आक्रमण गरेका थिए । यस टापुमा रहेको सैनिक विमानस्थलले एशिया-प्यासेफिक, पश्‍चिम एशिया, दक्षिण एशिया तथा अफ्रिकासम्म प्रभूत्व कायम राख्‍न सघाउँछ । त्यहीकारण पनि यसलाई महत्वपूर्ण मान्‍ने गरिएको छ । 

गत वर्ष अमेरिकाले यमनका हुथी विद्रोहीहरुमाथि हवाई आक्रमण गर्दा पनि यस टापुबाट आणविक क्षमता भएका बी–२ स्पिरिट बमवर्षकहरू पठाइएको थियो । 

इरानमाथि अमेरिका–इजरायलले २८ फेब्रुअरीमा आक्रमण सुरु गरेका थिए । युद्ध सुरु भएको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत–अमेरिकामा स्वामित्वमा रहेको यस विमानस्थललाई युद्धमा प्रयोग गर्ने इच्छा व्यक्त गरेका थिए । तर, बेलायतले प्रयोग गर्न दिएन । 

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री केर स्टार्मरको ठूलो आलोचना गरे । दबाबमा आएका स्टार्मरले केही दिनअघिमात्रै डिएगो गार्सिया टापु र यससँगै जोडिएको अर्को एक टापुमा रहेको विमानस्थल अमेरिकालाई प्रयोग गर्न दिने बताएका थिए ।

इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्नका लागि अमेरिकालाई यस विमानस्थल प्रयोग गर्न दिइने बेलायतले बताएको थियो । उसले यस्तो कदमलाई रक्षात्मक भनेर व्याख्या गरेको छ । यद्यपी, इरानले यस कदमको विरोध गर्दै बेलायत युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको थियो । यस कदमले बेलायतीहरुको जीवन जोखिममा परेको आरोप पनि उसले लगाएको थियो । 

डिएगो गार्सिया चागोस द्वीपसमूहको एक हिस्सा हो, हिन्द महासागरबीचमा रहेका ६० भन्दा बढी टापुहरूको शृंखलामध्ये डिएगो गार्सिया एउटा टापु हो । यी टापुहरु माल्दिभ्स र मोरिससको बीचमा पर्छन् । सन् १८१४ मा फ्रान्सले यस टापु छाडेसँगै बेलायतीहरुले नियन्त्रणमा लिए । 

१९६० र १९७० को दशकमा, बेलायतले डिएगो गार्सियाबाट २,००० जना स्थानीयले हटायो । त्यसपछि यहाँ अमेरिकी सेनाले संयुक्त सैन्य विमान बनायो ।

यसरी जर्बजस्ती स्थानीयलाई हटाउने कामको लामो समयदेखि आलोचना हुँदै आएको छ ।  संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय न्याय अदालतले बेलायतलाई चागोस  द्वीपसमूहका टापुहरूमा खडा गरिएको उपनिवेश अन्त्य गर्न र मोरिसियसलाई यी टापुहरु हस्तान्तरण गर्न आग्रह गर्दै आएका छन् । 

लामो वार्तापछि, बेलायत सरकारले गत वर्ष  मोरिसियसलाई टापुहरूको सार्वभौमिकता हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौतालगत्तै मोरिसियससँग ९९ वर्षका लागि डिएगो गार्सिया विमानस्थल भाडामा लिने र सञ्चालन गर्ने बेलायतको योजना थियो । यसले कानुनी चुनौतीहरुबाट बच्न सहज हुने बेलायत सरकारको बुझाई छ । तर, बेलायतका विपक्षी राजनीतिज्ञहरुले यी टापुहरुमा बेलायतले स्वामित्व त्याग गर्दा चीन र रूसले हस्तक्षेप गर्नसक्ने दाबी गरेका छन् । 

चागोस द्वीपसमूहअन्तर्गतका टापुबाट बिस्थापित भएका व्यक्ति तथा उनीहरुका सन्तानले टापु हस्तान्तरण गर्दा आफुलाई नसोधिएको बताएका छन् । उनीहरुले भविष्य आफ्नो मातृभूमी फर्कन पाउने विषय सम्झौतामा समावेश नभएकाले आफुहरु अन्यौलमा परेको बताएका छन् । 

मोरिसियसलाई टापु हस्तान्तरण गर्ने निर्णयको सुरुवातमा अमेरिकाले स्वागत गरेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा आफ्नो विचार परिवर्तन गर्दै यसलाई ‘मूर्खतापूर्ण हर्कत’ भने । 

यसअघि इरान युद्धमा डिएगो गार्सिया टापु प्रयोग गर्न नदिएपछि ट्रम्प बेलायतसँग थप चिढिएका थिए । 

कान्तिपुर

Link copied successfully