क्युवामा १ करोडभन्दा धेरै जनता अन्धकारमा

भेनेजुएला हुँदै क्युवामा आउने कच्चा तेलको निर्यात बन्द छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

More than 10 million people in Cuba in the dark

काठमाडौँ — क्युबाको ऊर्जा मन्त्रालयले शनिबार साँझ राष्ट्रिय विद्युत प्रणाली पूर्णरुपमा विच्छेद भएको जनाएको छ । झन्डै १ करोड १० लाख जनसंख्यामध्ये १ करोडभन्दा बढी जनता अन्धकारमा छन् ।

ऊर्जा केन्द्रहरु सञ्चालनका लागि आवश्यक इन्धन कटौती भएपछि यहाँ देशव्यापी अन्धकार निम्तिएको हो । ऊर्जा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘राष्ट्रिय विद्युत् प्रणाली पूर्णरूपमा विच्छेद भएको छ । पुनस्र्थापना प्रक्रिया सुरु भइसकेको छ ।’

यसअघि गत सोमबार देशभर विद्युत प्रशारण तथा वितरण प्रणाली प्रभावित भएको थियो । समस्या समाधान गर्न नपाउँदै शनिबार फेरि देश अन्धकारमय बनेको हो । सोमबार विद्युत कटौतीपछि क्युवा सरकारको विरोधमा मोरोन शहरमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले कम्युनिष्ट पार्टीको मुख्यालयमा पनि आगजनी गरेका थिए । 

अमेरिकाले भेनेजुएलामा राजनीतिक हस्तक्षेप गरेपछि भेनेजुएला हुँदै क्युवामा आउने कच्चा तेलको निर्यात बन्द छ । अमेरिकाको दबाबमा मेक्सिकोले पनि क्युवामा कच्चा तेलको निर्यात कटौती गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामा कम्युनिष्ट सरकार ढल्न लागेको बताएका छन् । उनले मैत्रीपूर्ण रुपमा शासन हातमा लिनु प्रतिष्ठाको विषय हुने बताए ।

सोमबार ह्वाइट हाउसबाट उनले भनेका थिए, ‘तपाईंहरू जान्नुहुन्छ, मैले आजीवन सुन्दै आएको छु : कहिले अमेरिकाले क्युबा लिन्छ ? त्यो ठूलो सम्मान हो । क्युबा लिनु  वा यसलाई मुक्त गरौं ।  मलाई लाग्छ म जे चाह्यो त्यो गर्न सक्छु ।’

सप्ताहन्तमा शनिबार क्युवा सरकारप्रति समर्थन जनाउनका लागि अन्तर्राष्ट्रिय समाजवादी समुहहरु राहतसहित आएका थिए । उनीहरुले सोलार प्यानल, आधारभूत खाद्यान्न सामाग्री र औषधि वितरण गरे ।

कार्यक्रममा क्युवाका राष्ट्रपति मिगुइल डियाजले अमेरिकाको सम्भावित सैन्य आक्रमणलाई मध्यनजर गरेर क्युवाले आवश्यक तयारी गरिरहेको बताए । 

यसअघि संकट समाधानका लागि अमेरिका र क्युवाको सरकारबीच प्रारम्भिक वार्ता भएको थियो । तर, वार्ताको प्रगतिबारे केही पनि विवरण सार्वजनिक भएको छैन । 

शुक्रबार क्युवाका विदेशमन्त्री कार्लोस फर्नान्डेज कोसियोले क्युवाको राजनीतिक प्रणलीबारे कुनै सम्झौता नहुने बताएका थिए । ‘क्युवाको राजनीतिक प्रणालीबारे सम्झौता हुँदैन । हाम्रा राष्ट्रपति वा कुनै अधिकारी अमेरिकासँगको वार्ताको विषय होइनन्,’ उनले भनेका थिए ।  

कान्तिपुर

Link copied successfully